काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एसइई परीक्षामा उत्तीर्ण २०७ जनालाई सम्मान गरेको छ । साउन १७ गते शनिबार संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिले एसइई सम्मान तथा वृत्ति मार्ग निर्देशन अभिमुखीकरण कार्यक्रम गरि उक्त सम्मान गरेको हो ।
कार्यक्रममा एस.ई.ई परीक्षा २०८१ मा सामेल भई उत्तीर्ण हुने संस्थामा आबद्ध २०७ जना कोपिला बाल बचतकर्ता हरुलाई बधाई तथा शुभकामना पत्र, मायाको चिनो, पूुलमाला सहित सम्मान गरिएको थियो ।
सहभागी विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट जिपिए. हासिल गर्ने छात्रातर्फ आयुषा गौतम र छात्रतर्फ विश्वास श्रेष्ठलाई नगद ५ हजार र सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा इन्स्योरका तर्फबाट प्राविधिकहरु मान कुमार राई, रक्षा आचार्य र इन्दु ज्ञवालीले वृत्ति मार्ग निर्देशन सम्बन्धी अभिमुखीकरण गराएका थिए ।
संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक गायत्री खड्काको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य तारानाथ बजगाईले गरेका थिए । शिक्षा तथा प्रकाशन उपसमिति संयोजक गायत्री खड्काले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पूर्णबहादुर कार्की, सहकारी अभियन्ता तथा प्रमुख सल्लाहकार रामहरि केसी, सल्लाहकार भैरव केसी, पूर्व प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर केसी, चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश केसीले संस्थाको जानकारी सहित शुभकामना मन्तव्य, प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर केसीले शिक्षाको महत्वसहित शुभकामना मन्तव्य र उत्कृष्ट अङ्क हासिल गर्ने छात्रा आयुषा गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment