उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका बितरण  

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका बितरण   :: Sahakari Akhabar

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी बितरण गरेको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका बितरण गरेको हो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।

कार्यक्रममा वालिङ वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताए । साना किसानलाई उत्पादनमा जोड्नसके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उनले बताए । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङको भनाइ छ ।

बाख्राको नश्ल सुधारगरि आम्दानी बढाउन पाठीसँगै बोका बितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए । नश्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उनको भनाई छ । डाक्टर बस्यालले बाख्रा पालनका क्रममा आईपर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराए ।

कार्यक्रम अन्तरगत साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी बितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांश सदस्यहरु दलित महिला रहेका छन् । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ ।

कार्यक्रमका कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरु शोभाकान्त काफ्ले, सम्भव अर्याल, खिना काफ्ले समूहकी अध्यक्ष सुधा बिक लगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराए । वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ। 
 



Leave a comment