विशेष नाराका साथ दिवस मनाइरहँदा नाराले सहकारी अभियानको समसामयिक अवस्थाको चित्रण गर्ने मात्र नभइ त्यसलाई कार्यान्वयनमा ल्याउन समेत मार्गदर्शन गर्न सक्नुपर्दछ । अनि मात्र विशेष नाराका साथ दिवस मनाउनुको सार्थकता रहन्छ । सनातन कर्मकाण्डको रुपमा नारा दिएर दिवस मनाउँदा नारा पनि कर्मकाण्डी हुन्छ ।
आज ६८ औं राष्ट्रिय सहकारी दिवस । सहकारी दिवसले सहकारीको मूल्य र महत्वलाई जनमानसमा उजागर गर्ने मात्र होइन सरोकारवालाहरुलाई सहकारिताको प्रवद्र्धनमा इमान्दारपूर्वक समर्पित हुन समेत आव्हान गर्दछ ।
नीति निर्माता, नियामक निकायहरु, सहकारीकर्मी, सहयोगी शुभेच्छुक निकायहरुले यस अवसरमा सहकारी आदर्श, मूल्य तथा सिद्धान्तहरुको परिपालनाका लागि आपसी प्रतिवद्धता र ऐक्यवद्धता जनाउदै यसको जनप्रियता वढाउन जनजागृत गर्ने, असल कार्यको अनुशरण गर्ने र कमीकमजोरीहरु सच्चाउन आत्मा आलोचना गर्ने दिन हो ।
हरेक वर्ष नेपालमा बखानपुर सहकारी ऋण समिति नामवाट पहिलो सहकारी स्थापना भएको दिनको स्मरणमा चैत्र २० गते यो दिवस मनाउने गरिएकोछ । राष्ट्रिय सहकारी दिवसमा नाराको रुपमा हरेक वर्ष समसामयिक अवस्थालाई प्रतिविम्वन गर्दै कुनै न कुनै सन्देशमूलक विषयवस्तुलाई अगाडी सारिन्छ ।
हुनत अन्तराष्ट्रिय सहकारी दिवस पनि हरेक वर्ष जुलाइको पहिलो शनिबार संसारभर विशेष नाराका साथ मनाउने प्रचलन छ । विश्व सहकारी अभियानको आह्वानमा मनाइने अन्तराष्ट्रिय सहकारी दिवसको नाराले पनि कुनै न कुनै सन्देश बोकेको हुन्छ ।
संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामीला विभाग, अन्तराष्ट्रिय सहकारी महासंघ, अन्तराष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन, विकासका लागि संयुक्तराष्ट्र संघीय अनुसन्धान संस्था र विश्व व्यापार केन्द्र जस्ता निकायहरु सदस्य रहेको कोपरेटीभ प्रमोसन एण्ड एडभान्समेन्ट कमीटीले अन्तराष्ट्रिय सहकारी दिवसको नारा तय गर्ने गर्छ भने राष्ट्रिय सहकारी दिवसको नारा राष्ट्रिय सहकारी महासंघ नेपालले तय गर्ने गर्छ ।
यस वर्ष “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नारा तय गरी विविध कार्यक्रमका साथ ६८औं राष्ट्रिय सहकारी दिवस नेपालभर मनाउन आह्वान गरिएकोछ ।
नेपालमा तत्कालीन राष्ट्रिय सहकारी संघको अगुवाइमा विगत तीनदशक देखि विभिन्न नाराका साथ राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।
यस लेखमा विगत एक दशकभर के कस्ता नाराका साथ राष्ट्रिय सहकारी दिवस मनाइए र ती नाराका अन्तनीहित उद्देश्य र उपादेयता के रह्यो भन्ने कोणवाट प्रकाश पार्ने जमर्को गरिएको छ ।
नेपालले सहकारी दिवसको नारालाई अन्य जुनसुकै शव्दसंग जोडेर ल्याएको भएतापनि मर्यादित भन्ने शब्द दोहोराइ तेहराई ल्याउनुको पछाडी सहकारी अभियानलाई मर्यादित बनाउने आवश्यक्ता, आव्हान, चिन्तन र सन्देश हो ।
नाराको अन्तर्य:
जुन भावना अक्षर र शव्दहरु मार्फत नाराको रुपमा अभिव्यक्त गरिएको हुन्छ त्यसवाट कुनै कुरा गर्न वा नगर्न जोड दिइएको अन्तर्य वुझ्न सकिन्छ । सहकारी अभियानले विगत एक दशक देखि दिदै आएका नाराहरु अध्ययन गरौं ।
आज भन्दा १० वर्ष अगाडी ५९औं राष्ट्रिय सहकारी दिवसको नारा “आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी” थियो । सहकारीको मूलभुत उद्देश्य सदस्य तथा समाजको आर्थिक, सामाजिक, सास्कृतीक एवं बातावरणीय विकास गर्ने हो ।
उद्देश्यानुसार सहकारीका गतिविधिहरु तर्जुमा गरी कार्यान्वयन गर्न यस नाराले आर्थिक वृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीले आआफ्ना क्रियाकलापहरु केन्द्रित गर्न जोड दिएको देखिन्छ ।
६०औं राष्ट्रिय सहकारी दिवसको नारा “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” तय गरिएको थियो । त्यसपछिका लगातार दुई वर्ष राष्ट्रिय सहकारी दिवसमा यहि नारालाई दोहोर्याइयो ।
यस नारामा अन्तरनिहित सन्देश पनि दिगो विकास लक्ष्यलाई सहकारी क्षेत्रले अपनत्व लिदै दिगो विकास लक्ष्यको प्रचार प्रसार र कार्यान्वयनमा योगदान पुर्याउन खोजेको देखिन्छ ।
६३औं राष्ट्रिय सहकारी दिवसको नारा “मर्यादित श्रम र पर्यटनका लागि सहकारी” ले दिगो विकासको आठौं नम्वर लक्ष्यलाई केन्द्रित गर्दै सहकारीमा मर्यादित श्रम कायम गर्न र आर्थिक विकासका लागि पर्यटन सहकारी व्यवसायको सम्भावनालाई उजागर गर्न खोजेको देखिन्छ ।
तत्पश्चात ६४ र ६५औं राष्ट्रिय सहकारी दिवसका नारा “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” कायम गरेको देखिन्छ । यो नाराले सहकारीमा यसको दर्शन, मूल्य, मान्यता र सिद्धान्तहरु परिपालनाको अभाव रहेको संकेत गर्दै नीति, विधि, कार्यविधि, सहकारी संस्कृति, स्वच्छ, पारदर्शी, निष्पक्ष, जवाफदेही, मर्यादित ढंगमा सहकारी संघ संस्थाहरु सञ्चालन गर्नु पर्छ भन्ने भावना अन्तरनिहित छ ।
यसका लागि प्रविधिलाई आत्मसाथ गर्नुपर्छ भन्ने सन्देश नाराले दिन खोजेको देखिन्छ । ६६औं र ६७औं राष्ट्रिय सहकारी दिवसका नारा क्रमश “सहकारीको दिगोपन: स्वनियमन र सुशासन” र “सहकारीमा सुशासन: प्रविधि र एकिकरण” थिए ।
यी दुवै वर्षका नारामा सहकारीमा सुशासनको कमी रहेको इंकित गर्दै सहकारीलाई सुशासित, स्वनियमित रुपमा सञ्चालन गरी दिगोपन कायम गर्न जोड दिएको देखिन्छ भने आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै सहकारीहरु विच एकिकरणका माध्यमवाट कारोवार वढाउने, खर्च घटाउने सुदृढ र वहुमुखी सहकारी प्रणालीको विकासमा जोड दिन खोजेकोे देखिन्छ ।
यस वर्षको ६८औं राष्ट्रिय सहकारी दिवसले विगत चौसठ्ठऔं र पैसठ्ठीऔं सहकारी दिवसका नाराको मर्यार्दित शव्दलाई दोहोराउँदै सहकारी व्यवसाय एउटा मर्यार्दित व्यवसायको रुपमा प्रतिस्थापन गर्दै सामाजिक समुन्नति हासिल गर्नका लागि आव्हान गरेको देखिन्छ ।
विशेषत ९७औं अन्तराष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित मर्यादित श्रमका लागि सहकारी भन्ने नारालाई नेपालले समेत अपनाउँदै मर्यादित सहकारी भन्ने शब्द यस वर्षको दिवसमा समेत गरी ४ पटक दोहोराएको देखियो ।
नेपालले सहकारी दिवसको नारालाई अन्य जुनसुकै शव्दसंग जोडेर ल्याएको भएतापनि मर्यादित भन्ने शब्द दोहोराइ तेहराई ल्याउनुको पछाडी सहकारी अभियानलाई मर्यादित बनाउने आवश्यक्ता, आव्हान, चिन्तन र सन्देश हो ।
यसलाई समसामयिक सहकारी विकासक्रममा खासगरी समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीहरुमा देखिएको कुशासनलाई दृष्टिगत गर्दै सहकारी विधि पद्दतिलाई परिपालन गरी सहकारी प्रतिष्ठालाई कायम गर्न गरिएको आव्हानका रुपमा पनि वुझ्न सकिन्छ ।
विश्व सहकारी अभियानमा १२ प्रतिशत जनसंख्या आवद्ध रहेको, २८ करोड भन्दा वढि व्यक्तिहरुलाई रोजगार उपलव्ध गराएको, आर्थिक विकास, उद्यमशिलता तथा उत्पादनवृद्धि, रोजगार श्रृजना, सामाजिक न्याय कायम गर्न पुर्याएको महत्वपूर्ण योगदानलाई अझ वढि तादात्म्यता मिलाउन “सहकारीले सुन्दर भविष्य निर्माण गर्छ” भन्ने नाराका साथ संयुक्त राष्ट्र संघले यस सन् २०२५ वर्षलाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गरेकोछ । अन्तराष्ट्रिय सहकारी नारा र राष्ट्रिय नारालाई वृहत्तर र सुक्ष्मस्तरवाट हेरिनु पर्छ ।
सहकारीले सुन्दर भविष्य निर्माण गर्छ भन्ने अन्तराष्ट्रिय सहकारी बर्षको सन्देशले सहकारी पद्दतिको लोकप्रियता वढाउन मात्र भूमिका निर्वाह गर्दैन अहिलेको पूँजीवादी विश्व परिवेशमा तल्लो तृणभुमीमा रहेका जनताको जनजीविको पहिलो छनोट सहकारी पद्दतिका माध्यमवाट समतामूलक समाज निर्माण गर्न सकिने आशयका साथ अन्तराष्ट्रिय समुदाय र आम जनमानसलाई प्रेरित गरेको प्रतित हुन्छ।
अन्तराष्ट्रिय सहकारी अभियानले सदस्य राष्ट्रहरु र सदस्य संघहरुलाई नाराका साथ कार्यक्रम गर्न आव्हान गर्दछ । सम्वन्धित विषयमा सरकार र सहयोगी निकायहरुसंग मिली संयुक्त कार्यक्रमहरु आयोजना गर्छ गराउँछ।
तर राष्ट्रिय सहकारी दिवसले वृहत्तरस्तर भन्दा पनि सुक्ष्मस्तरवाट मुद्दामा आधारित विषयवस्तुलाई नाराका रुपमा अगाडी सार्नुपर्छ । नाराले वोक्ने सन्देश सकेसम्म एउटा हुनु आर्षण मानिन्छ ।
निहित स्वार्थपूर्ति गर्ने नाममा कतिपय संस्थाहरुले सुशासनका महत्वपूर्ण पक्षहरु जस्तो सहभागिता, कानूनको शासन, जवाफदेहिता, सहकारी संस्कृति, स्वच्छ, निश्पक्ष र पारदर्शी निर्णय प्रणालीलाई कुल्चेका कारण पवित्र सहकारी अभियान बदनाम हुने भय छ । आज अभियानको शिरदेखि पाउसम्म यहि संस्कृति मौलाउने होकि भन्ने सर्वत्र चिन्ता छ ।
नाराको उपादयता
अहिले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिवस देशको समग्र ऋण मागको चक्र न्यून गतिमा रहेको अवस्थाले हालका केही वर्ष यता सहकारीहरुमा पनि ऋणको माग नभएका कारण सहकारीका थोक कर्जा प्रदायक राष्ट्रिय सहकारी बैंक र नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ जस्ता केन्द्रीय निकायहरुमा २०८१ फागुनसम्मको विवरण हेर्दा ४५ प्रतिशत भन्दा माथि तरलता रहेको देखिन्छ ।
यो मात्र होइन अहिले वित्तिय कारोवार गर्ने धेरै सहकारी संघ संस्थाहरुमा ऋणको भाखा नाघ्ने र तरलता वढ्दै जाने प्रवृत्ति देखिएको छ । सदस्यहरुले मागेको बखत वचत फिर्ता गर्नको सट्टा केही सञ्चालकहरुले संस्था बन्द गरेर फरार हुने, प्रतिवेदनले औल्याइएका कारणहरु, सहकारी बेइमान, ठग हुन भनी सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा दिनहँुजसो आइरहने खवरले सहकारीको अवस्था तरल रहेको देखाउँछ ।
यस्तो अवस्थामा सहकारी दिवसका अवसरमा नारा मार्फत दिन खोजिएका सन्देशहरुले सहकारी चेतना र जागरण बढाउने काममा सकारात्मक भूमिका खेल्नु पर्छ । सहकारी दिवसमा नाराका रुपमा ल्याइएका यी विषयवस्तुहरुले सहकारीको समुचा उद्देस्य, शक्ति र समुत्थानशिलतालाई उजागर गर्नुपर्छ ।
दिगो विकास लक्ष्यलाई सहकारी क्षेत्रले आत्मसाथ गरेको छ । यसले गर्दा नेपालको सहकारी क्षेत्र सरकार, विकास साझेदार र अन्तराष्ट्रिय निकायका विच विकासको परिपुरक हो भनी चिनाउन बल पुगेको छ । तर नाराको त्यो मात्रै उद्देस्य पक्कै होइन ।
नारालाई आधार मानेर दिवस मनाइसके पछि नाराको अन्तरनिहित उद्देस्य पुरा गर्ने तर्फ यसको सर्जक निकाय र सरोकारवाला निकाय एवं संघ संस्थाहरु लाग्नु पर्दछ ।
पक्कै पनि दिवसले नेपालको सहकारी अभियानको विगत एक दशक देखि गिर्दो मर्यादा र विश्रृङ्खलित अवस्थालाई इंकित गरेर सहकारीलाई सुशासित, मर्यादित, स्वनियमित तुल्याँउदै दिगो रुपमा सुसञ्चालन गर्न आव्हान गरेको होला ।
तर नारा र व्यवहारमा कत्तिको तालमेल हुन सक्यो त ? यो प्रश्न अहिले सरकार, सहकारीकर्मीहरु र सहकारी अभियानका अगाडी तेस्र्यीएको छ ।
सुशासन, प्रविधिको प्रयोग, एकिकरण, दिगो विकासका निम्ति लगाइएका नाराले अभियानलाई सुशासित, एकिकृत, प्रविधि मैत्री वनाउन र एकिकरणको अभियानमा लाग्न कत्तिको सहयोग पुग्यो ? आज यस क्षेत्रका सरोकारवालाहरु एक पटक गम्भिर भएर सोच्नु पर्ने वेला आएको छ ।
निहित स्वार्थपूर्ति गर्ने नाममा कतिपय संस्थाहरुले सुशासनका महत्वपूर्ण पक्षहरु जस्तो सहभागिता, कानूनको शासन, जवाफदेहिता, सहकारी संस्कृति, स्वच्छ, निश्पक्ष र पारदर्शी निर्णय प्रणालीलाई कुल्चेका कारण पवित्र सहकारी अभियान बदनाम हुने भय छ । आज अभियानको शिरदेखि पाउसम्म यहि संस्कृति मौलाउने होकि भन्ने सर्वत्र चिन्ता छ ।
“एकले बिरायो सयलाई पिरायो” को अवस्थाले राम्रा सहकारीका राम्रा काम ओझेलमा परेका छन् । आजको प्रतिश्प्रधात्मक बजारमा अहिले ठिक छ भनेर विश्वस्त भएर पुग्दैन । त्यो भोली पनि ठिक कायम रहन सक्नु पर्दछ ।
नारालाई कसरी सार्थक तूल्याउने
बिगत एक दशकमा सहकारी अभियानले समेत सहकारीमा सुशासनको अवस्था दयनिय रहेको महसुस गरी तदनुरुपका थरीथरीका नाराहरु सार्वजनिक गर्यो । यस अवधिका नाराहरु विशेषत दिगो विकास लक्ष्यलाई आत्मसाथ गरिएका नाराहरु र सहकारीलाई सुशासित गराउने चिन्तनका साथ नाराहरु तय गरिएको देखिन्छ ।
सहकारीहरुले रोजगारी सृजना, पूँजी परिचालन, आर्थिक शसक्तिकरण, सामाजिक सदभाव कायम गर्न पुर्याएको योगदान अतुलनीय छ। तापनि अहिले सार्वजनिक रुपमा सहकारीको पक्षपोषण हुने गरी बोल्न धक मान्नु पर्ने अवस्था सृजना भएको छ।
संविधानमा ब्यवस्था भएको, तल्लो तहका व्यक्तिहरुलाई संगठित गरी तिनको श्रम, शिप, क्षमता, पूँजी र प्रतिभालाई परिचालन गर्ने शक्तिसन्निहित राजनीतिक आर्थिक दृष्टिकोणले स्विकारीएको मात्र नभई लोकतान्त्रिक, समतामूलक, आत्मर्भिर र सामाजिक न्यायपूर्ण विशेषतायुक्त सहकारी प्रणालीलाई सुब्यवस्थित गरी शाख जोगाउन सवै पक्षहरुले कुनै किसीमको जोड घटाउ नगरी इमान्दारपूर्ण व्यवहारमा प्रदर्शन गर्नुपर्ने भएको छ ।
सहकारीले सिद्धान्त, मूल्य, विधि पद्दतिलाई कुल्चेर आफूखुसी काम गर्दा सहकारी पहिचानमा गम्भिर प्रश्न चिन्ह खडा भएको अवस्थामा यसका प्रति आगाध आस्था बोकी जीवनपद्दतिको रुपमा अंगालेका लाखौं सदस्य र शुभचिन्तकहरुको मन छियाछिया हुन्छ।
सदस्यहरुको व्यापक सहभागीतावाट आवश्यक्ताका आधारमा दिगो विकास लक्ष्यहरुसंग तादाम्यता मिलाई रणनीतिक तथा व्यवसायिक योजना तर्जुमा गर्ने, तदनूरुप वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी कार्ययोजना वनाएर कार्यान्वयन ।
प्राप्त प्रगतिहरुको नियमित समीक्षा तथा मूल्यांकन गर्ने, प्रतिवेदनहरु पेश गर्ने, लेखा सुपरिवेक्षण समितिको भूमिकालाई प्रभावकारी बनाई चौमासिक रुपमा आन्तरिक लेखा परिक्षण तथा वाह्य लेखापरिक्षण सम्पन्न ।
वार्षिक साधारणसभा तथा समिति उपसमितिका वैठकहरु बसी सदस्य केन्द्रित बनाउने, सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी ऐन तथा नियमको पूर्ण परिपालना गर्नेे । आवधिक रुपमा निश्पक्ष निर्वाचन सम्पन्न गर्नेे आदि कार्यहरु गर्न कुनै छुट्टै स्रोत साधनको आवश्यक्ता पर्दैन ।
यी कुराहरु गरियो भने दिगो विकास लक्ष्य स्थानीयकरण मात्र नभई सहकारी अभियान पनि सुशासित हुन्छ । सवै सहकारीलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन, कतिपय राम्रा सहकारीहरुले राज्यले दिन नसकेको सेवा सदस्यलाई दिएका छन् ।
तर “एकले बिरायो सयलाई पिरायो” को अवस्थाले राम्रा सहकारीका राम्रा काम ओझेलमा परेका छन् । आजको प्रतिश्प्रधात्मक बजारमा अहिले ठिक छ भनेर विश्वस्त भएर पुग्दैन । त्यो भोली पनि ठिक कायम रहन सक्नु पर्दछ ।
सहकारीले सुशासनका पक्षहरुलाई ख्याल गर्नेपर्छ । विशेष नाराका साथ दिवस मनाइरहँदा नाराले सहकारी अभियानको समसामयिक अवस्थाको चित्रण गर्ने मात्र नभइ त्यसलाई कार्यान्वयनमा ल्याउन समेत मार्गदर्शन गर्न सक्नुपर्दछ । अनि मात्र विशेष नाराका साथ दिवस मनाउनुको सार्थकता रहन्छ । सनातन कर्मकाण्डको रुपमा नारा दिएर दिवस मनाउँदा नारा पनि कर्मकाण्डी हुन्छ ।
Leave a comment