काठमाडौं । बमगती प्रोस्कूनले प्रदेशका सहकारीका समस्या समाधानका विषयमा एक दिने गोष्ठी गरेको छ । प्रदेशका १३ वटै जिल्लाका बचत सहकारीका प्रतिनिधिहरुको सहभागितामा शुक्रबार काठमाडौंमा गोष्ठी भएको हो ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको गोष्ठीको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले उद्धघाटन गरेका थिए । बागमती प्रोस्कून र मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष सापकोटाले गोष्ठीको बारेमा प्रष्ट पारेका थिए ।
उनले बागमती प्रदेशमा रहेका सहकारीको समस्या समाधानका लागि कार्यक्रम आयोजना गरिएको बताए । बागमतीमा ४ हजार ९ सय बचत सहकारी संस्था सञ्चालनमा रहेको र १३ वटै बचत संघले ती संस्थाहरुको विकास र प्रवद्र्धनका लागि काम गर्दैआएको उनले बताए । बागमती प्रदेशले सरकारको सहकार्यमा कोसिस (स्तरीकरण) कार्यक्रम सञ्चालन गरेको पनि उनले जनाए ।
सदस्यहरुको बचतको सुरक्षाको लागि कोसिस कार्यक्रमले सघाउने उनको भनाई छ । स्तरीकरण कार्यक्रममा आवद्ध भएका संस्थाहरु बैंक भन्दा राम्रो रहको भन्दै स्तरीकरण कार्यक्रम संचालन गरेका अष्ट्रेलिया कोरियालगायतका देशमा यो कार्यक्रमले सहकारीको गुणस्तर वृद्धिमा सहयोग गरेको उनले जनाए ।
अध्यक्ष सापकोटाले अध्यादेशले सहकारीका संघहरुले गर्ने वित्तिय कारोबारमा छेकबार लगाएको भन्दै अन्तर लगानीलाई निरन्तरता दिन अभियानाको एउटै आवाज हुनुपर्ने बताए । अन्तर लगानी कार्यक्रम सहकारीहरुलाई सहयोग गर्ने उद्देश्यले गरेको भन्दै उनले बैंक बन्नको लागि यो कार्यक्रम नभएको बताए ।
प्रदेशमा देखिएका समस्याको गहन छलफल गरी समस्या समाधान गर्न गोष्ठीले सघाउने उनको भनाई छ । समस्या समाधान गर्न अभियान र राज्यको भूमिका के हुने भनेर प्रष्ट हुन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेश सहकारी मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने बागमती प्रोस्कूनका संचालक तथा १३ वटै जिल्लाका साकोस प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।
कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा बागमति प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी बागमती पैदेशका १३ वटठै जिल्लाका बचत तथा ऋण सहकारी संघले जिल्लाको बचत अभियानका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
Leave a comment