हाइलाइट

बागमती सरकारले सहकारी सचेतनाका लागि फिल्म बनाउने

बागमती सरकारले सहकारी सचेतनाका लागि फिल्म बनाउने :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सहकारी सचेतनाका लागि चलचित्र बनाउने बताएका छन् । उनले सहकारी पढेर भन्दा हेरेर चाँडो बुझ्ने समय आएकोले सहकारी चेतनाका लागि चलचित्र निर्माण गर्नलागिएको जनाए ।

काठमाडौंमा भएको बागमती प्रोस्कून र मन्त्रालयको संयुक्त आयोजनाको सहकारी क्षेत्रका समस्या र समाधान विषय गोष्ठीमा मन्त्री श्रेष्ठले सहकारी मार्फत भएका राम्रा र नराम्रा पक्षलाई समेटेर फिल्म बनाउने जानकारी दिए । आफूपनि  कलाकार भएकाले सहकारीले सदस्यको जीवनस्तरमा खेलेको भूमिका र सहकारीमा भएको ठगीका विषयलाई समेटेर चलचित्र बनाउन लागेको बताए ।

उनले सहकारीका योगदानका विषयलाई समेटिने भएकोले संस्था मार्फत भएका असल अभ्यासहरु लेखेर वा खिचेर पठाउन समेत सहकारी संचालकलाई आग्रह गरे । अहिले सुुुनेका कुरा भन्दा हेरेका कुराले बढी प्रभाव पार्ने भएकाले चलचित्र बनाउन लागेको उनको भनाइ छ ।

त्यसैगरी मन्त्री श्रेष्ठले प्रदेशका सहकारीका समस्या समाधान गर्नको लागि साझा धारणा बनाउन आग्रह गरे । कार्यक्रमले समस्या पहिचान गरी समाधानको खाका बनाउने उनको भनाई छ । गोष्ठीमा बागमती प्रदेशका सहकारीका समस्याका बारेमा छलफल मात्र नभइ समाधानका उपायहरु पनि खोज्न मन्त्रीले आग्रह गरे ।

मन्त्री श्रेष्ठले समस्यामा रहेका केही संस्थाको समस्या समाधान भइसकेको उनले जनाकारी दिए । १२ हजार सहकारीमा केही संस्थाले गरेको गलत कार्यको कारण यस क्षेत्रप्रति नकारत्मक भाष्य निर्माण भएको उनले जनाए। धेरै सहकारीले गरेको ऋण लगानी असुलीमा समस्या भएको र संस्थाबाट लिएको ऋण तिर्न नचाहने प्रवृति बढेकाले कडा कानुन बनाउनु पर्ने उनको भनाई छ।

ऋणीले लगेको ऋण फिर्ता गरेमात्र बचतकर्ताले बचत फिर्ता पाउने भन्दै उनले ऋण नतिर्नेहरुलाई मृत्यु दर्ता, बिजुली, पानी र राहदानीका साथै नागरिकताको लागि सिफारिस नदिन उनले सुझाव दिए । कतिपय सहकारीले चेक धितोमा ऋण लगानी गरेको र सञ्चालक समितिले नै संस्थाबाट धेरै ऋण चलाएकोले समस्या आएको उनले बताए ।

कतिपय वडा अध्यक्षले धितो राखेको जग्गा लिलाम गर्न सिफारिस नदिएको भन्ने गुनाँसो आएको बताए । उनले आफ्ना नाता गोता र भोटर भएकाले सिफारिस नदिएको भएपनि  त्यो गलत भएकोले कानुन् सम्वतका कामलाई वडा कार्यालयले नरोक्न आग्रह गरे ।



Leave a comment