हाइलाइट

सहकारी सिध्याउन शक्ति लागेको छ, राम्रा कामको प्रचार गर्नुस्ः मन्त्री अधिकारी

सहकारी सिध्याउन शक्ति लागेको छ, राम्रा कामको प्रचार गर्नुस्ः मन्त्री अधिकारी :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सिध्याउन ठूलै शक्ति लागेकोले राम्रा कामको प्रचारको आवश्यकता रहेको बताएका छन् । उनले केही शक्ति संविधानको तीन खम्बाबाट सहकारीलाई हटाउन र सहकारीलाई कमजोर बनाउन लागिरहेको हुनाले सहकारीका राम्रा कामको प्रचार गर्न पछि पर्नुनहुने बताएका हुन् ।

मंगलबार राजधानीमा राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषययक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीको नकरात्मक प्रचार बढी गराएर सवै सहकारी गलत भन्ने भ्रम छर्ने काम भएकोले सही कामको बढी प्रचार गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘थोरै सहकारीको बदमासिले ३१ हजार सहकारी बदनाम भए, राम्रा काम गर्ने सहकारीको प्रचार भएन त्यसकालागि संचारसंगको सहकार्यमा तल्लो तहसम्म प्रचार गरेर सवैलाई सहकारी बुझाउनसके ७० प्रतिशत समस्या समाधान हुन्छ ।’ सहकारीको विकल्प खोज्न थालिएकोले सहकारी चाहिदैन भन्ने शक्ति सलबलाएको हो, उनले भने सवै सहकारीकर्मीले त्यता ध्यान दिन जरुरी छ ।

मन्त्री अधिकारीले सहकारी ऐन भित्र रहेर काम गरेको भए समस्या नआउने भन्दै, सहकारी कानुन उलंघन भएकैले समस्या आएको बताए । मन्त्री अधिकारीले भने, ‘सहकारीप्रति भ्रम फैलाइएको छ । सहकारीसँग जोडिएका सबैलाई एक ठाउँमा राखेर सहकारी ठिक होइनन् भनेर गलत ढंगले व्याख्या विश्लेषण गरिएको छ । हामीले सहकारी सही हुन् भनेर प्रमाणित गर्नका लागि अझै बढी लाग्नु पर्ने देखिन्छ ।’

सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले चासोका साथ काम गरिरहेको समेत उनले बताए । सहकारी मन्त्रालय सहकारी ऐन संशोधनको पक्षमा रहेको मन्त्री अधिकारीले बताए । उनले सहकारीको तेश्रो पक्ष धितो लगानीले सदस्य समस्यामा परेको बताए । सहकारीसँग जोडिएका अन्य मन्त्रालयहरूले सहकारी विभाग, बोर्डलगायत हुँदाहुँदै अझै पनि हामी न्यायाधीकरण ल्याउन कति आवश्यक छ, भनेर प्रश्न आइरहेको समेत उनले सुनाए ।

राष्ट्रिय सहकारी बैंकका संचालक तथा बागमती प्रदेश संयोजक रामहरी बजगाईको अध्यक्षतामा भएको गोष्ठिमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवि मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले बिचार राखेका थिए भने नेपाल राष्ट्र बैंकका उप–निर्देशक तथा सहकारी विज्ञ डा।रमेश चौलागाईंले सहकारी क्षेत्रका चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए ।



Leave a comment