हाइलाइट

दुग्ध किसानको ६ अर्ब भुक्तानी नगरे केन्द्रीय दुग्ध सहकारी संघले देशभर आन्दोलन गर्ने

दुग्ध किसानको ६ अर्ब भुक्तानी नगरे केन्द्रीय दुग्ध सहकारी संघले देशभर आन्दोलन गर्ने :: Sahakari Akhabar

काठमाडौं । दुग्ध किसानहरुले पाउने ६ अर्ब रुपैंयाँ भन्दा बढीको रकम यथासिघ्र भुक्तानी गर्न केन्द्रीय दुग्ध सहकारी संघले माग गरेको छ । संघले विज्ञप्ती जारी गरी किसानको बाँकी रकम भुक्तानी नगरे फागुन १४ गते देखि देश व्यापी आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ। दुग्ध किसानहरुको डिडिसीलगायतका डेरी उद्योगीहरुले विगत पाँच महिनादेखि दिन बाँकी राखेको ६ अर्ब भन्दाबढीको भुक्तानी बक्यौता यथाशिघ्र भुक्तानी गर्न संघले माग गरेको हो ।

त्यसैगरी मिल्क होलिडे तुरुन्त रोक्न, अनियमित आयातित दुग्धजन्य पदार्थहरुलाई पूृर्ण बन्द गर्न, स्टक रहेका दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनितिक पहलद्धारा अन्तराष्ट्रिय बजारमा अविलम्ब बिक्री गर्ने ब्यवस्था गर्न संघले माग गरेको छ ।

त्यसैगरी कृषि कर्जामा अनुदान कार्यक्रम विगतका बर्षहरुमा झै यथाशिघ्र उपलब्ध गराउन, लागत मूल्य घटाउने कार्यक्रमहरु,  पशु आहारा, पशु औषधि लगायत पशुपालन संग सम्बन्धित वस्तुका मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्न पनि संघको माग छ।

विमाको रकम उपलब्ध गराउन, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको ब्यवस्था अविलम्ब गर्न र दूध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायत रोग मुक्त घोषण गर्न संघले माग गरेकोछ। संघले विगतमा विभिन्न सरकारी निकाय तथा उच्च पदस्थ संग गरेको सम्झौता पनि कार्यान्वयन नगरेको बताएको छ ।

दुग्ध उत्पादक कृषकहरुले दूध बिक्री वापत पाउनुपर्ने रकम भुक्तानी लगायत ११ बुँदे माग सहित मंसिर २८ गते देखि नै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन लगायतका सरोकारवाला निकायबीच पटक पटक भएको सम्झौतामा वेवास्ता गरेको संघको आरोप छ ।

छलफलमा दुग्ध उत्पादक कृषकहरुलाई भुक्तानी गर्नु पर्ने बाँकी बक्यौता रकम पौष मसान्तभित्र अधिकतम भुक्तानी गरीसक्ने र बाँकी रकम माघ मसान्तसम्म भुक्तानी गरि नियमित गर्ने सम्झौता पनि कार्यान्वयन नभएको संघले बताएको छ ।

गत मंसिर २६ गते सहमति भएको सम्झौता अनुरुप कार्यान्वयन नभएको हुँदा यसको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ । संघले विगतका सम्झौता कार्यान्वन गरी किसानको भुक्तानी तत्काल नगरे फागुन १४ गते देखि देशव्यापि रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

संघले फागुन ८, ९, १० र ११ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघ संस्थाहरुको बैठक बस्ने, ब्यापक भेला गर्ने, प्रचार प्रसार गर्ने गराउने, राजनीतिक पार्टी विभिन्न किसान संघ संगठनहरुलाई जानकारी तथा सहयोगको लागि आब्हान गर्ने ।

त्यसैगरी फागुन १४ र १५ गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा विहान १० देखि १२ बजेसम्म २ घण्टा धर्ना, विरोध तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघले जनाएको छ ।

त्यसैगरी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म २ घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्काजाम गर्ने, फागुन २१ गते देखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर गर्ने संघको निणर्य भएको अध्यक्ष अम्मर बहादुर कुँवरले जनाएका छन् ।



Leave a comment