काठमाडौं । नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले राष्ट्रिय सहकारी महासंघको निर्वाचनकालागि तयारी गर्न पार्टी निकट सहकारीकर्मीलाई निर्देशन दिएका छन् । उनले मैदानमा उत्रिदा विजय प्राप्त गर्नेगरी पूर्ण तयारी गर्न सहकारीकर्मीलाई भनेका छन् ।
भरसक सहमती गरेर सहकारी अभियानलाई मजबुत गर्ने गरी टिम बनेर जाने कुरा भयो भने हामीले पनि स्विकार्नु पर्छ, उनले भने, हैन संधै छोडेको सिटमा चित्त बुझाउनु पर्ने अवस्था आयो भने हामी हाम्रो टिम बनाएर जान्छौं त्यसकोलागि तयारी गरौं ।
गठबन्धन गरेर जाँदा पनि सहकारी अभियानकोलागि राम्रो हुन्छ भने त्यो पनि गरौं, उनले भने, सरकारको गठबन्धनको मोडलमा जाँदा पनि हामीले स्विकार्नु पर्छ ।
विभाग प्रमुख कंडेलले कसैलाई धोका हुने गरी जानु नहुने र सवैले इमान्दारीताका साथ सहकार्य गर्नुपर्ने बताए । विभाग प्रमुख कंडेलले भर्खरै नेफ्स्कूनको निर्वाचनले सिकाएको पाठलाइ पनि सम्झन अनुरोध गरे ।
महासंघको पुष २७ र २८ गते निर्वाचन सहितको ३१ औं बार्षिक साधारण सभा हुँदैछ । निर्वाचनकालागि २८७ केन्द्रीय प्रतिनिधि कायम भएका छन् ।
प्रतिनिधिहहरुमा बागमतीबाट ८८ जना, कोशी प्रदेशबाट ५८ सदस्य, मधेशबाट ३०, गण्डकीबाट ३७, लुम्बिनीबाट ३७, सुदुरपश्चिमबाट २३ र कर्णालीबाट १४ जना प्रतिनिधि रहेका छन । महासंघमा ३१८ सदस्य संघहरु आवद्ध रहेका छन् ।
महासंघको स्विकृत निर्वाचन निर्देशिका अनुसार संचालक समितिमा महिलाका लागि ८ कोटा कायम छ भने लेखा सुपरिवेक्षण समितिमा कम्तिमा १ जना महिलाको अनिवार्य प्रतिनिधित्व रहने छ ।
महिलाका लागि १ उपाध्यक्ष, ७ प्रदेशमध्ये बागमती र लुम्बनी प्रदेशबाट १ र १ जना महिला अनिवार्य र अन्य ५ खुला प्रतिस्पर्धा हुनेछ । यसैगरी ९ खुला सदस्यका लागि ५ महिला कोटा छुट्टाइएको छ ।
लेखा सुपरिवेक्षण समितिमा १ महिलासहित तीन सदस्यीय समितिको निर्वाचन हुने छ । २८७ प्रतिनिधिमध्ये २९ जना महिला प्रतिनिधि कायम रहेका छन ।
Leave a comment