काठमाडौं । राष्ट्रिय सहकारी महासंघको पुष २७ र २८ गते हुने निर्वाचन सहितको ३१ औं बार्षिक साधारण सभाका लागि २८७ केन्द्रीय प्रतिनिधि कायम भएको छ ।
सवैभन्दा कम कर्णालीबाट १४ जना प्रतिनिधि रहेका छन भने सबैभन्दा बढी बागमतीबाट ८८ जना प्रतिनिधि रहेका छन् । त्यसैगरी कोशी प्रदेशबाट ५८ सदस्य, मधेशबाट ३०, गण्डकीबाट ३७, लुम्बिनीबाट ३७ र सुदुरपश्चिमबाट २३ सदस्य कायम भएको जनाएको छ ।
महासंघको बुधबार बसेको संचालक समितिको २१० औं बोर्ड बैंठकले पछिल्लो समय मापदण्ड पुगेका २८७ सदस्य संघहरुको केन्द्रीय प्रतिनिधिलाई कायम गर्ने निर्णय गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन्। महासंघमा ३१८ सदस्य संघहरु आवद्ध रहेका छन् ।
सबैभन्दा बढी सदस्यता कायम भएको जिल्ला ललितपुर रहेको छ । जसका १० सदस्य जिल्ला संघका प्रतिनिधि यस पटकको साधारण सभामा प्रतिनिधित्व गर्नेछन् ।
ललितपुर जिल्लामा पर्यटन, उपभोक्ता, जडिबुटी, बहुउद्देश्यीय, चिया, कृषि, कफी, दुग्ध उत्पादन, बचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी संघ रहेको छ । साथै राष्ट्रिय सहकारी बैंक र केहि केन्द्रीयस्तरका संघ र प्रदेशस्तरका संघसमेत ललितपुरमा रहेका छन ।
२५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिका लागि २८ गते निर्वाचन हुने महासंघका महाप्रबन्धक सुब्बाले बताइन ।
महासंघको स्विकृत निर्वाचन निर्देशिका अनुसार संचालक समितिमा महिलाका लागि ८ कोटा कायम छ भने लेखा सुपरिवेक्षण समितिमा कम्तिमा १ जना महिलाको अनिवार्य प्रतिनिधित्व रहने छ ।
महिलाका लागि १ उपाध्यक्ष, ७ प्रदेशमध्ये बागमती र लुम्बनी प्रदेशबाट १÷१ जना महिला अनिवार्य र अन्य ५ खुला प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी ९ खुला सदस्यका लागि ५ महिला कोटा छुट्टाइएको छ । लेखा सुपरिवेक्षण समितिमा १ महिलासहित तीन सदस्यीय समितिको निर्वाचन हुने छ । २८७ प्रतिनिधिमध्ये २९ जना महिला प्रतिनिधि कायम रहेका छन ।
Leave a comment