काठमाडौं । गत मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले आदेश दिंदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई एउटा पत्र पठाए । पत्रमा सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा भएको ब्यवस्थाको ब्याख्या गरिएको छ ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको छ ।
यसलाई सहकारी विभागले कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने भनि ब्याख्या गरि कार्यान्वयनकालागि आदेश पनि दिएको छ ।
सहकारी विभागलाई गत मंसिर ८ गते नेफ्स्कूनले नै उक्त बुँदाको ब्याख्या गरीदिन पत्र पठाए पछि विभागले ब्याख्या सहित कानुन कार्यान्वयन गर्न आदेश दिएको हो ।
नेफ्स्कूनको गत पौष ७ र ८ गते निर्वाचन सहितको साधारण सभा सम्पन्न भयोे । साधारण सभामा देश भरिवाट प्रतिनिधित्व गर्दै संचालक देखि अध्यक्ष पदसम्मकालागि निर्वाचन सम्पन्न भयो ।
संघमा निर्वाचित सवैले पौष ८ गते सपथग्रहण लिइसकेका छन् । कानुनत नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा संचालकहरुको तल्लो तहमा रहेको पद स्वतः खारेज हुन्छ ।
उक्त मितिदेखि नेफ्स्कूनका ती पदाधिकारीहरुले आफू संचालक रहेको प्रारम्भिकदेखि प्रदेशसम्मका संस्थाका निणर्यमा संचालकको हैसियतमा भाग लिन नपाउने र निणर्य प्रकृयामा सहभागि भए निणर्य कानुनसम्मत नहुने हुन्छ ।
तर संघमा निर्वाचित भइसकेपछि पनि तल्लो तहमा संचालक रहेका अधिकांशले आफू आवद्ध संस्था, जिल्ला संघ प्रदेश संघ छोडेका छैनन् र संघ संस्थाका बैठकदेखि निणर्य गर्नेसम्मका गतीविधिमा सहभागी भएको पाइएको छ ।
सहकारी विभागको ब्याख्या प्रारम्भिक संस्थाको संचालक पनि हुन नपाउने भन्ने गलत भएको अधिकांशको भनाई छ । नेफ्स्कूनमा निर्वाचित बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी बर्दिया जिल्लामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि आएका थिए भने उनी उक्त संस्थाको अध्यक्ष हुन् ।
उनले संस्थाका उपाध्यक्षलाई जिम्मेवारी तोकेर काम गर्न दिएको र आफू कुनै निणर्यमा सहभागी नहुने बताए । त्यसैगरी नव निर्वाचित महासचिव घनश्याम अधिकारी झापा सामुदायिक साकोसबाट प्रतिनिधि आएका छन् भने उनी कोशि प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन् । उनले संघका उपाध्यक्षलाई कार्यबाहक अध्यक्ष दिइसकेको र केही दिनमा उहाँकै अध्यक्षतामा बैठक बस्ने बताए ।
संचालक मन्दरा मिश्र नालाछाप प्रगतिशील महिला साकोस, भक्तपुरबाट प्रतिनिधि आएकी छन् भने उनी उक्त संस्थाको अध्यक्ष हुन् । मिश्र आफू अध्यक्षबाट छाड्ने तयारी गरिरहेको र उपाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने बताउँछिन्।
लिखित राजीनामा दिइनसकेको भएपनि, तयारी गरिसकेको र कानुन कार्यन्वयनमा आफू कटिवद्ध भएर लाग्ने उनको भनाई छ ।
संचालक कमलादेवी गिरि सृजना महिला साकोस, कास्कीबाट प्रतिनिधि आएकी थिइन उनी उक्त संस्थाकी लेखा समिति संयोजक हुन ।
त्यसैगरी संचालक सुशिलकुमार बस्न्यात ओम साईराम साकोस काठमाडौंबाट प्रतिनिधि आएका छन् भने उनी उक्त संस्थाको अध्यक्ष रहिरहेका छन् ।
अर्का संचालक सीता ढकाल पौडेल बागमती प्रदेश सहकारी संघको उपाध्यक्ष तथा जिल्ला सहकारी संघ काठमाडौको पनि उपाध्यक्ष हुन् । संचालक ज्ञानु पौड्याल रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष छंदैछन् ।
संचालक दिप्ती शाही धनगढीमा रहेको नागरिक बचत तथा ऋण सहकारीबाट प्रतिनिधि आएकी थिइन भने उक्त संस्थामा उनी अध्यक्ष नै छन् । उनले उक्त संस्थाबाट अध्यक्षको पदबाट राजीनामा दिएकी छैनन् । नेफ्स्कूनको दोश्रो बैठकमा के सल्लाह हुन्छ त्यसपछि मात्र निणर्य गर्ने बताएकी थिइन ।
नेफ्स्कूनले पौष २३ गते बोर्ड बौठक पनि बसिसकेको छ । बोर्डले कानुनको पालना गरेर जानु पर्ने कुरालाई जोड दिएको प्रवक्ता दामोदर अधिकारी बताउँछन् । अधिकांश साथीहरुले ब्यवस्था मिलाएर छोड्नुहुन्छ । हाम्रो कुरा चाही प्रारम्भिक संस्था र संजालको एउटा निकायसंग जोडिन पाउनुपर्ने हो, उनले भने ।
त्यसैगरी नव निर्वाचित संचालक खेमराज सुवेदी काठमाडौमा रहेको सयपत्रि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्। उनले पनि संस्थामा अध्यक्ष पदबाट राजीनामा दिएका छैनन् र संस्थाका गतिविधिमा समेत अध्यक्षको भूमिकामै देखिएका छन् । उनी स्वास्थ्य केन्द्रीय सहकारी संघका महासचिव समेत छन् ।
अर्का नव निर्वाचित संचालक नवराज अर्याल काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष र काठमाडौमा रहेको पिसल्याण्ड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन् ।
त्यसैगरी संचालक देवकुमार श्रेष्ठ काठमाडौको मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका छन् भने नव निर्वाचित संचालक शाालिकराम ढकाल सुनसरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष छन्।
त्यसैगरी नव निर्वाचित लेखा समिति सदस्य दुर्गा तिवारी संजेल भक्तपुरमा रहेको महिला अभियान बचत तथा ऋण सहकारी संस्थाकी सचिव हुन् ।
लेखा समिति सदस्य हेमराज विष्ट जिल्ला बचत संघ अछामका सचिव हुन भने उनले प्रतिनिधि गरेको चौधारी साकोसका पनि उनी कार्यकारी सचिव रहेका छन् ।
कानुनले नेफ्स्कूनमा निर्वाचितहरुको पद स्वतः खारेज हुने व्यवस्था भएपनि आफू आवद्ध संस्थामा सकृय भूमिका छोडेका छैनन् ।
पुष ७ र ८ गते सम्पन्न संघको ३२ औं वार्षिक साधारण सभाबाट १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुरपरीवेक्षण समिति निर्वाचित भएका थिए । उक्त निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुमा अधिकांश व्यक्ति दोहोरो र तेहरो पदमा रहेका छन् ।
Leave a comment