हाइलाइट

ब्यवसायीक कृषिकरणमा साना किसान कृषि सहकारी तेतरिया, बारा

ब्यवसायीक कृषिकरणमा साना किसान कृषि सहकारी तेतरिया, बारा :: Sahakari Akhabar

काठमाडौं । किसानकालागि किसानद्धारा स्थापना भएको साना किसान कृषि सहकारी संस्था तेतरिया बाराले एक दर्जन वर्ष पुरा गरेको छ ।

संस्थाले शुरु देखि नै गरिबी न्युनिकरणका लागि कृषिमा आधारित ऋण लगानी देखि कृषिलाई आवश्यक पर्ने सामानहरु मल, विउ विजन, सिचाईको ब्यवस्था त गरेकै छ । त्यसका साथै उचित परामर्शहरु सेवा पनि उपलब्ध गराईरहेको छ ।

संस्थाले गत वर्ष ४ सय हेक्टर जमिनमा गहुँको बिउ, त्यसैगरी २ सय हेक्टर जमिनमा धानको बिउ उत्पादन गरेर किसानलाई बितरण गरेको छ।

संस्थाले बिउ भण्डारणकालगि भन्डारण केन्द्रपनि निर्माण गरिरहेको प्रवन्धक भुपेन्द्र चौधरीले बताए । संस्थाले विभिन्न निकायसंगको सहकार्यमा किसानलाई ८५ प्रतिशतसम्म अनुदानमा ट्युवेल तथा पानी तान्ने मोटर बितरण गरेको संस्थाका प्रवन्धक चौधरीले बताए ।

उनले कृषि ज्ञानकेन्द्र संगको सहकार्यमा ५० प्रतिशत अनुदानमा कृषक सदस्यलाई थ्रेसरलगायतका कृषि सामान बिक्री गर्ने गरेको बताए । त्यसैगरी संस्थाले मल बिउबिजन बितरण, कष्टम हायरिङ सेन्टर संचालन गरेर धान गहुँ काटने, रोप्ने मेशिन तथा थ्रेसर भाडा दिएर सदस्यलाई आधुनिक तथा ब्यवसायीक कृषिमा लगाएको बताए ।

संस्था २०६६ साल भदौ ८ गतेबाट साना किसान कृषि सहकारी संस्था पिपरा सिमराबाट अनुशरण कार्यक्रम संचालन गरि २०६८ साल अषाढ १३ गते व्यवस्थापन हस्तान्तरण गरिएको हो ।

संस्थाले मधेश प्रदेशको करैयामाई गाँउपालिका, बारागढि गाँउपालिका आदर्शकोतवाल गाउँपालिका र पचरौता नगरपालिका भित्रका सदस्यको साना पूँजिको श्रोतहरुलाई परिचालन गरि त्यसको भरपुर उपयोग गर्दै ग्रामिण क्षेत्रमा दिगो आर्थिक श्रोत निर्माण गरि अर्थतन्त्रलाई बलियो बनाउने काम गर्दै आएको छ ।

आर्थिक रुपमा समाजलाई सम्पन्न बनाउनु, सामाजिक, सांस्कृतिक विकासमा समुदायलाई परिचालन गर्दै कृषि क्षेत्रमा आवद्ध किसानहरुलाई व्यवसायिक बनाउनु संस्थाको उद्धेश्य रहेको संस्थाकी अध्यक्ष कान्तिदेवी चौधरी बताउँछिन ।

साना किसान कार्यक्रमको माध्यमबाट सदस्यको आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास सँगसँगै समाजका विविध कृयाकलापहरुमा सहयोगी भई यस सहकारीले योगदान गर्दै आएको छ ।

सामाजिक गतिविधि संचालन गर्ने कार्यमा पनि जिम्मेवार रहेको संस्थाले सदस्य सुरक्षा कार्यक्रम, महिलामैत्रि कार्यक्रम, सरसफाई, व्यवसायिक उत्पादनका लागि कृषि कार्यक्रम, पशुपालन कार्यक्रम, पशु विमा तथा उज्यालो कार्यक्रम अन्तरगत सोलार कार्यक्रम संस्थाका मुख्य अनि महत्वपूर्ण कार्यक्रमहरु हुन ।

सदस्यहरुलाई छिटो छरितो सेवा, सहुलियत व्याज र किस्तामा कर्जा प्रदान गर्नुलगायत, महिलाहरुलाई विशेष सम्मान, अपांग असहाय तथा बृद्धबृद्धा र छात्र छात्राहरुलाई हौसला र सहयोग संस्थाको सामाजिक कार्यक्रम रहेको छ ।

साथै संस्थाले महिलाहरुलाई सामाजिक आर्थिक रुपमा अगाडि बढाउन विभिन्न व्यवसायिक तालिम, अवलोकन भ्रमण लगायतका कृयाकलाप संचालन गर्दै आएको अध्यक्ष चौधरीले बताइन् ।

संस्थाले सहकारीको माध्यमबाट कृषि पेशालाई व्यवसायिक मर्यादित र उच्चतम प्रतिफलमूलक बनाउने कार्यलाई निरन्तरता दिदै यस पेशालाई व्यवसायिक र सम्मानजनक पेशाको रुपमा विकास गर्न लागिपरेको छ । उत्पादनको उचित मूल्य र सरल बिक्री वितरणका लागि संकलन केन्द्रको व्यवस्था गरेको छ ।

कृषि उपजहरुको संकलन गरि भण्डारण गर्ने कार्यहरु भैरहेको छ । साथै सहजरुपमा कृषि कर्जा प्रदान गर्ने उन्नत जातका बिउ, खेतीका लागि किटनाशक औषधि तथा खाद्य मलको सहजताका लागि कृषि पसल पनि संचालन गरेको छ । त्यसैगरी पशुपालन गर्नेहरुको लागि दूध डेरि संचानलमा रहेको जनाइएको छ ।

संस्थाले सदस्यहरुलाई कृषि कर्जाको लागि २० लाख सम्म सहुलियत ऋण दिने गरेको र सामुहिक सुरक्षित बचत गर्ने तथा विदेशबाट आउने रकम स्थानिय स्तरमा नै उपलब्ध गराउन विभिन्न रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ ।

लघु कर्जा, कृषि कर्जा, पशुपालन कर्जा, व्यवसायिक कर्जा, नविकरणिय कर्जा, अपर्झट कर्जा प्रदान गर्नुको साथै विभिन्न खालका सदस्य सुरक्षा लगायतका बचत कार्यक्रमले सदस्यहरुलाई प्रोत्साहन गर्दै आईरहेको जनाइएको छ ।

संस्थाबाट हजारौ किसानहरुको वित्तिय आवश्यकता पुरा भएको र धेरैजनाले स्थानिय स्तरमा नै रोजगारी पाएको अध्यक्ष कान्तिदेवी चौधरीको भनाई छ ।

सहकारीलाई समुदायमा आधारित र सदस्य केन्द्रित बनाउने उद्धेश्यले दुईबर्ष देखि किसानहरुको उत्पादित कृषि उपज संकलन गरि भण्डारण र बजारीकरणको काम गरिरहेको उनको भनाइ छ । उनले स्थानिय स्तरको एउटा नमुना सहकारीको रुपमा स्थापित गर्न सफल भएको बताइन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरिया बाराले ग्रामिण जनजीविकालाई सुदृढ पार्न स्थापनाकालदेखि आफुलाई सक्षम संस्थाको रुपमा स्थापित गरेको संस्थाका सल्लाहकार तथा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी बताउँछन्।

उनी यो संस्था ग्रामिण समुदायका विभिन्न जाती, समुदाय र बर्गका मानिसहरुको बलियो आर्थिक धरोहरका रुपमा रहेको बताउँछन् । संस्थाले जिल्लाको सहकारी अभियानमा ठूलो योगदान गरेको उनको भनाइ छ ।



Leave a comment