हाइलाइट

कृषि मन्त्रीलाई गोबर उपहार दिनुस्  :  गोकुल बास्कोटा 

कृषि मन्त्रीलाई गोबर उपहार दिनुस्  :  गोकुल बास्कोटा  :: Sahakari Akhabar

काभ्रे । नेकपा एमाले सांसद गोकुल बास्कोटाले कृषकहरुको हितमा काम गर्न नसक्ने कृषि मन्त्रीलाई गोबर उपहार दिन कृषकहरुलाई अनुरोध गरेका छन् । उनले काभ्रेको श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं बार्षिकोत्सव तथा २३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अहिलेको गठबन्धन सरकारले नेपाल र नेपालीको हितमा केही गर्न नसकेको भन्ने कुरा, किसानहरुलाई समयमै रासायनिक मल दिन नसकेको र चार महिनादेखि दूध बिक्री गरेको मूल्य नदिएर प्रमाणित गरेको बताए ।

उनले भने “राज्य जनतासँग भागेर जनताको समस्याको अपनत्व लिन नसक्ने, किसानले ऋण गरेर, दश नंग्रा खियाएर बिक्री गरेको, पसिना चुहाएको मूल्यको दूधको पैसा खै ? सरकार लुटेरा बनिरहेको छ ।” संस्थाका अध्यक्ष चर्तुभुज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभामा संचालक समितिका उपाध्यक्ष निरञ्जन गेलालले संस्थाले गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्लव सापकोटालगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा सहकारीको मुखपत्र स्मारिकाको विमोचन गरिएको थियो ।

यो सस्था धुलिखेल, वडा नंबर २ रविमा  २०५० साल  फागुन १२ गते सहकारी डिभिजन कार्यालय धुलिखेल काभ्रेमा दर्ता भई तत्कालीन रविओपी गाविस वडा नम्बर १ देखि ५ सम्मका वडाहरु र देवीटार गाविसलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । मुख्य उद्देश्य दुग्धपदार्थ उत्पादन, सङ्कलन तथा बिक्री गर्न २६ जना सदस्यहरुबाट शुरुवात गर्दै हाल १ हजार ४७ जना सदस्यहरुको हितमा कार्यहरू सञ्चालन गर्दै आएको छ।

१८ जना कर्मचारी रहेको उक्त संस्थाले स्वच्छ दूध सङ्कलन तथा विक्रीका लागि दैनिक बिहान र बेलुका दूध सङ्कलन गर्दै आएको छ भने पशु बिमा कार्य, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रासायनिक मल उपलब्ध गराउँदै आएको अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताए ।

सहकारीले यसै बर्षबाट आफ्नो गाई फार्म समेत संचालन गरेको छ । उक्त फार्ममा हाल ६० वटा गाई र तिनीहरुको बाच्छी रहेको छ । सहकारीले यस बर्ष मात्रै २५ लाख लिटर दुध उत्पादन तथा संकलन गरेको छ ।

कृषकलाई संस्थाको सम्मान

साधारण सभामा सहकारीले बार्षिक ६९ हजार लिटर दूध बेच्ने वडा अध्यक्ष अर्जुन न्यौपानेलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको छ । त्यसैगरी संस्थाले १४ जना ६८ बर्ष उमेर पुगेका बृद्ध बृद्धालाई पनि सम्मान गरेको थियो । सभामा २०७९ सालको एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक र निजी बिद्यालयका १।१ छात्र र छात्रा गरि ४ जना बिद्यार्थीलाई समेत सम्मान गरेको छ ।

नयाँ संचालक चयन

कार्यक्रममा बिदुर कोइरालाको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्ष बच्चुराम न्यौपाने, सचिव दामोदर कोइराला कोषाध्यक्ष वसन्त चौलागाई चयन भएका हुन ।

त्यसैगरी सदस्यमा धावा लामा, विनोद घोरसाईने, पञ्चलाल तामाङ, नबिन अधिकारी, शान्ती दंगाल न्यौपाने, कोमल चौलागाई र बेदप्रसाद बजगाई निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णबहादुर ढुंगाना तथा सदस्यमा दुर्गाप्रसाद चौलागाई र रिता तामाङ चयन भए ।



Leave a comment