काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कतिपय सहकारीका संचालकहरुलाई नै आफु संचालक भएको समेत जानकारी नहुने विषयका गुनासो आउनेगरेको बताएका छन् । “अहिले म सहकारीको संचालक होइन भनेर निवेदन दिनेको चाङ् लाग्न थालेको छ, म कसरी संचालक बनेँ, सहकारीबाट पहिले नै राजिनामा दिइसकेको हुँ भनेर निवेदन दिने गरेका छन” उनले भने । यसरी संचालकहरु समस्याबाट पन्छिन वा भाग्न नहुने उनको भनाइ छ ।
राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरीवेक्षण समितिको गोष्ठीमा बोल्दै दुवाडीले सहकारीमा समस्या आउन नदिन र समस्या समाधानका लागि लेखापरीक्षण समितिको भूमिका महत्वपूर्ण हुने बताए ।अधिकांश सहकारी संस्थाहरुको तरलता १० प्रतिशतभन्दा कम भएको र लगानी गरेको पुँजी समयमै फिर्ता नहुँदा तरलता व्यवस्थापनमा समस्या भएको दुवाडीले बताए ।
समग्र अर्थतन्त्रको अवस्था र त्यसको प्रभावलाई मूल्यांकन नगरी लगानी गर्दा सहकारीमा समस्या आएकाले त्यसतर्फ अब समितिले ध्यान दिन सुझाए । सदस्यको विश्वास जित्न नसकेसम्म जतिसुकै तालिम र गोेष्ठी गरेपनि औचित्य नरहने उनको भनाई छ । सहकारीमा पर्याप्त तरलता मात्र भएरपनि नहुने भन्दै सचिव दुवाडीले सहकारीले सदस्यको विश्वास जित्नसक्नुपर्ने बताए ।
पदाधिकारीहरुले सहकारी सदस्यहरुप्रति वफादारिता कायम गर्न नसक्दा अधिकांश सहकारीमा समस्या आएको हो, लेखा समितिले पनि तदारुकता देखाउन सकेनन्, सहकारीमा अहिले वातावरणिय समस्या जस्तो देखिएको हो, गलत सहकारीका कारण राम्रो सहकारी पनि समस्यामा परे, यो समस्या समाधानका लागि लेखा समितिले भूमिका खेल्न सक्नु पर्छ, उनले भने ।
सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु कार्यान्वयन गर्न सकेमा सहकारीको समस्या समाधान हुने धारणा राखे । उनका अनुसार ती सुझावहरुले सहकारीको सुधारको लागि ठूलो पहल गर्न सक्छ । उनले सहकारीकर्मीहरुले सदस्यहरुप्रति जिम्मेवार नबन्दा अहिलेको समस्या देखिएको बताए । सदस्यहरु पनि सहकारीप्रति वफादारिता नबन्दा अहिलेको परिस्थिती सिर्जना भएको उनको भनाइ छ ।
आन्तरिक नियन्त्रण प्रणाली बलियो भए सहकारी संस्थामा समस्या नआउने भन्दै उनले समितिले आफ्नो सक्रियता बढाउनु पर्नेमा उनको जोड छ । उनले भने आन्तरिक नियन्त्रण प्राणाली सुदृढ हुन सकेको छ छैन भन्नेकुरा अहिलेको परिस्थितीले देखाएको छ ।
लेखा समितिले हरेक गरिविधिको नियमन गर्न सक्ने भन्दै उनले हरेक चार महिनामा संस्थाको आन्तरिक लेखा प्रणालीलाई लेखापरिक्षण गर्न सक्ने र सो अनुसार नभए आवाजसम्म उठाउन सक्ने बताए । आन्तरिक नियन्त्रण प्रणालीबाट सहकारी सञ्चालन हुन्छ भन्ने मान्यताले सहकारीहरु स्वनियमन र स्वअनुगमनमा छाडेको उनको भनाई छ । बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा सुरु भएको गोष्ठी भोलीसम्म चल्नेछ ।
Leave a comment