हाइलाइट

ललितपुर बचत संघ ३० औं वर्षमा

ललितपुर बचत संघ ३० औं वर्षमा :: Sahakari Akhabar

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । संघ २०५० साल असोज ३ गते ललितपुर जिल्लामा संचालित ५ वटा वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको भेलाले स्थापना गरेको थियो ।

प्रारम्भिक भेलाले दिगो साकोस मार्फत सम्वृद्ध समाज निमार्ण गर्ने उद्देश्य लिई जिल्लामा संचालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एउटै छातामुनी गोलबद्ध गर्न संघकोे दर्ता भएको थियो । संघले ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्लास्तरिय छाता संगठनको भूमिका निर्वाह गरिरहेको संघका अध्यक्ष रामहरी बजगाइले बताए ।

संघमा ५२६ वटा प्रारम्भिक संस्थाहरु आवद्ध रहेका छन् । स्थापनाकाल देखि नै संघले सदस्य संस्थाहरुको विकास र प्रवर्धनका लागि तालिम, शिक्षा, गोष्ठि, अन्तरलगानी लगायतका कार्यक्रमहरु संचालन गर्दैआएको अध्यक्ष बजगाइले जानकारी दिए । ललितपुर जिल्लामा दर्ता भएका ५६९ बचत तथा ऋण सहकारी संस्थामध्ये संघमा महिलाबाट सञ्चालित सहकारी संस्था ३९ र अन्य बचत तथा ऋण सहकारी संस्था ४८७ संघमा आवद्ध भएका छन् ।

संघ राष्ट्रिय सहकारी महासंघ,राष्ट्रिय सहकारी बैंक, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून),वागमती प्रदेश सहकारी संघ, वागमती प्रदेश वचत तथा ऋण सहकारी संघ (प्रोस्कून) र जिल्ला सहकारी संघ ललितपुर जस्ता छाता संगठनमा आवद्ध भएको छ ।

आफ्ना सदस्य संस्थाहरुलाई सबल, सक्षम र आधुनिक बनाउनको लागि संघले निरन्तर रुपमा सहकारी शिक्षा, तालिम तथा विभिन्न खाले शैक्षिक भ्रमणहरुको आयोजना गरिरहेको अध्यक्ष बजगाइले बताए । आवश्यकता अनुसार रचनात्मक सल्लाह तथा सुझाव दिई संघले अभिभावकको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । संस्थाहरुलाई आवश्यक परेको बेलामा जस्तोसुकै सहयोग गर्न संघ तत्पर रहने संघको प्रतिवद्धता छ ।

सिमित श्रोत र साधनको अधिकतम उपयोग गरी संघको उद्देश्य अनुसार समयानुकाल प्रविधिको प्रयोग गरी सदस्यहरुमा गुणस्तरीय सेवा प्रदान गरीरहेको संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाइ बताउँछन् ।

सदस्य संस्थाहरुलाई वित्तीय सेवा मार्फत बचत संकलन गरी पूँजी अभाव भएका सहकारी संस्थाहरुलाई कम व्याजदरमा पूँजी उपलब्ध गराउने र वित्तीय आत्मनिर्भर गराउने साथै गैर वित्तीय सेवा मार्फत संस्थाहरुको आवश्यकताको आधारमा विभिन्न खाले तालिम प्रदान गरी संस्थाहरुको क्षमता वृद्धि गर्ने काम संघले गरिरहेको उनको भनाइ छ ।
 



Leave a comment