काठमाडौं । केही दशक अघिसम्म बारा जिल्लाको इनर्वासिरामा कृषियोग्य जमिन भएरपनि न त ब्यवसायीक कृषिकर्म भएको थियो, न त समुदायलाई जनचेतना र जागरणका कार्यक्रमहरु नै । कुनै संघ संस्थाले यहाँ पाइला नटेकेपछि समुदायलाई वित्तिय साक्षरता पनि भएन । गाउँ बत्ति मुनिको अध्यारो जस्तो बन्यो । गरिवी र अशिक्षाले गाँजेको गाउँमा पुराना अस्वभाविक चलनले महिलालाई त झनै चुलोचौकाबाट बहिर निस्कनु भनेको अपराध गरेझैं ठानिन्थ्यो ।
सहकारीको स्थापना पछिको परिवर्तन
उर्वर भूमि, किसानको बाहुल्यता भएपनि किसानलाई गर्जो टार्न जमिनदारकोमा बन्दकी जिवन विताउनुपर्ने बाध्यता छँदैथियो । अशिक्षा र गरिबीका कारण किसान शोषणमा संधैको बाध्यता । सुकुम्बासी हुनेसम्मको अवस्था त छंदैथियो, परिवारको भविश्य पनि अन्यौलमा परेको थियो । तर अहिले सहकारीको उपस्थितिले समयले नै कोल्टे फेरेको छ ।
उर्वर जमिनमा लटरम्भ तरकारी फलेका छन् खेत हराभरा भएका छन्, किसानका टाली र फूसका घरले पनि रुप फेरेर पक्की बनेका छन् । किसान ब्यवसायीक रुपमा तरकारी खेती, पशुपालनमा लागेका छन् । साहुको कब्जाबाट जमिन फर्काएका छन्।
सन्तानलाई विदेश पनि पठाएका छन्, शिक्षित पनि बनेका छन् । सदरमुकामबाट टाढा भएपनि पूर्वपश्चिम राजमार्गले नछोएपनि अहिले किसानलाई के खाउ के लाँउको अवस्था छैन् । उनीहरुको उत्पादनले बजार पाएको छ ।
जव २०५९ साल चैत्रमा डुमरवाना साना किसान कृषि सहकारीले अनुसरण गरेको संस्था साना किसान कृषि सहकारी इनर्वासिराको कार्यक्रम गाउँमा गयो परिवर्तनका शिरा देखिन थाले । बचत कार्यक्रम प्रभावकारी हुनथालेपछि संस्था २०६२ सालमा विधिवत दर्ता भएको थियो ।
जनजाती, पिछडिएको वर्ग र मुस्लिम समुदायको बाहुल्यता रहेको त्यो समाजमा महिलाहरु घरदेखि बाहिर निस्कन नपाउने, निस्किएपनि अनुहार ढाकेर हिड्नुपर्ने अवस्थालाई चिरेर अहिले नेतृत्व तहमा आउने अवस्था सहकारीले ल्याइदिएको छ ।
महिलाहरुलाई समुहमा आवद्ध गराउनु र उनीहरुलाई बचत गर्न सिकाउनु, उद्यमी अनि स्वरोजगार बन्न सिकाउनु सहकारीलाई फलामको चिउरा चपाउनुजस्तै थियो । तर अहिले साना किसानको बचत अभियान महिलाहरुकोलागि बरदान नै भएको संस्थाकी अध्यक्ष सञ्जिला खातुन बताउँछिन् ।
साना किसानले घरघरमा बचत कार्यक्रबारे जागरण ल्याएपछि बिस्तारै समुदायले परिवारका महिलालाइ समुहमा आवद्ध हुने अनुमती दियो । संस्थाले सदस्य तथा समुदाय हितको काम गर्दै गएपछि सहकारीप्रति आकर्षण बढदै गयो अध्यक्ष खातुनले बिगत सम्झिइन् । अहिले सहकारीले महिला जागरण ल्याएको छ, समाजको सोच नै बदलिदिएको छ । महिलाहरु आफ्ना कुरा निर्धक्क राख्नसक्ने बनाएको छ, उनले भनिन् ।
महिलाको नेतृत्व
घरबाट बाहिर निस्कन नचाहने, जे काम गर्न पनि पुरुष अघि सर्ने समाजका ती महिला अहिले सहकारी संस्थामा नेतृत्व गरिरहेका छन् । महिलाले सहकारी चलाउन सक्दैनन भन्नेहरुकालागि साना किसान कृषि सहकारी इनर्वासिरा उदाहरणिय संस्था बनेको छ ।
संस्थाले आफ्नै दुई कठ्ठा जग्गामा भवन बनाएको छ । कृषि परियोजनाकालागि २५ कठ्ठा जग्गा पनि खरिद गरेको छ । संस्थाले कृषि सिक्नलागि ८ जना सदस्यलाई इजराइल पनि पठाएको छ । संस्थामा सदस्य बन्न अहिले तछाड मछाड छ ।
संस्थाले कृषकलाई कृषि सामाग्री, मल बिउ बिजन उपलब्ध गराउँछ । सदस्यलाई पाडा, बाख्रा अनुदान दिने गरेको छ । संस्था स्थापना देखि नै नाफा बितरण गर्न सफल भएको छ । संस्था सफल हुन सदस्य र संस्था विच नङ र मासुको सम्वन्ध हुनुपर्ने संस्थाका प्रवन्धक झपेन्द्र बराल बताउँछन् । संस्थाले कुखुरा, माछा, तथा पशु पालनकालागि सदस्यलाई सहुलियतमा ऋण सुविधा दिएको छ ।
त्यसैगरी तरकारी खेती, साना लघु घरेलु उद्यम संचालनकालागि पनि ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाले २ सय जना अति विपन्न वर्गलाई जग्गाको मालिक पनि बनाएको छ । सदस्यलाई सुकुम्वासी हुनबाट बचाएको, साहुको चर्को ब्याजबाट मुक्ति दिलाएको प्रवन्धक बराल बताउँछन् ।
संस्थाले पशु विमा कार्यक्रम पनि संचालन गर्दै आएको छ । सदस्यको मृत्यु भएमा सदस्यको परिवारलाई ४० हजार राहत प्रदान गर्दैआएको छ । संस्थाले कृषकहरुको लागि धान, गहुँ मकै रोप्ने काट्नेलगायतका कृषि औजार, उपकरणहरु उपलब्ध गराउने तयारी गरिरहेको प्रवन्धक बरालको भनाई छ ।
संस्थाले पेवा, पेन्सन, राहत जस्ता बचत कार्यक्रम संचालन गरेको छ । सदस्यको उत्पादनको बजारीकरण र मूल्य निधारणको समस्या समाधानकालागि संस्थाले जिल्ला कृषि सहकारी संघसंगको समन्वयमा संकलन केन्द्र स्थापनाको तयारी गरिरहेको बरालको भनाई छ । संस्था आर्थिक वर्ष ०६८ / ०७९ मा राष्ट्रियस्तरको पुस्कार प्राप्त गर्न सफल भएको छ ।
आर्थिक उन्नती
संस्थाले जितपुर सिमरा नगरपालिकाको १९ र २० नम्वर वडा, कलौया उपमहानगरपालिकाको १७ नम्वर वडा र पर्सौनी गाउँपालिकाको ७ नम्वर वडालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरिरहेको छ । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार शेयर पूँजी १ करोड ८० लाख ३० हजार ९०० रुपैंयाँ तथा ८ करोड ४५ लाख ८८ हजार ९०४ रुपैयाँ निक्षेप रहेको छ ।
संस्थामा ३ करोड ३९ लाख ९५ हजार ४४२ जगेडा कोष तथा १९ करोड ५५ लाख ६१० रुपैयाँ ऋण लगानी, १ करोड ७२ लाख ५० हजार ३७७ सम्पत्ति र ७ करोड ८० लाख २ हजार ४४१ रुपैंयाँ बाह्य ऋण रहेको जनाइएको छ ।
Leave a comment