चीना थापा । परिवर्तित समयसँगै तीज मनाउने तरिकामा पनि परिवर्तन आएको छ । पहिला हाम्रा हजुरआमा आमाहरुलाई ब्रत बस्ने अघिल्लो दिन अर्थात दर खाने दिन पनि मिठो मसिनो खान गाह्रो हुन्थ्यो । श्रीमान्को कमाई त्यसमा पनि साशुको खटनमा बुहारीले चल्नुपथ्र्यो । साशुलाई रिजाउन नसके माईत जान पाईदैन थियो ।
तर, अहिले त्यो अवस्था छैन् । महिला पुरुष बराबर हुन भन्नेमा हामी पुगेका छौं । महिलाहरु आत्मानिर्भर बन्दै गएका छन् । अब महिलाहरुले श्रीमान्को कमाईको भर पर्नु पर्दैन । आफूले कमाएको पैसा आफ्नो खुसी खर्च गर्न सक्ने अवस्था छ । अनि सामाजिक क्षेत्रमा पनि महिलाहरुको सहभागिता उल्लेख्य छ ।
महिलाहरु आत्मनिर्भर बनेसँगै व्यस्तता जिम्मेवारी पनि बढेको छ । घर व्यवहार, छोराछोरी अनि जागिरले गर्दा महिलाहरुलाई रमाउने समय नै हुँदैन । यस्तो अवस्थामा साथिहरु जम्मा भएर रमाईलो गर्दा तथा विभिन्न सामाजिक संघ संस्था तथा सहकारीले महिलाहरुको लागि एक दिन कार्यक्रम गरेर रमाईलो गर्दा तिज भड्किलो भयो भन्ने जमात पनि ठूलो छ ।
तीज भड्किलो भयो भन्नेहरु महिलाको प्रगति देख्न नसक्नेहरु हुन । कुनै संस्था वा व्यक्तिले सँधै कार्यक्रम गरेको हुँदैन । उसले बर्षमा एक पटक कार्यक्रम गरेर महिलाहरुलाई दर खुवाउँदा कसरी भड्किलो हुन्छ ? कुनै कार्यालय, सहकारी तथा कुनै सामाजिक संघ संस्थाले एक पटक कार्यक्रम गरेका हुन्छन् ।
त्यो पनि तीन चार घण्टा अनि हामीले सबैलाई एकै ठाउँमा राखेर तिज भड्किलो भयो, एक महिना अघि देखि दर खाने भनेर भन्छौं । हाम्रो बुझाई तथा सोचाई नै नकारात्मक भएका कारण सबैलाई नकारात्मक नै देख्छौ । त्यसैले हाम्रो सोच नै परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।
सहकारीको सभ्य तीज
सहकारी संस्थाहरु प्रायजसोले आफ्ना शेयर सदस्यहरुका लागि दर खाने कार्यक्रमको आयोजना गर्छन् । एउटा संस्थाले एक पटक कार्यक्रम गर्छन हामी सबैलाई जाडेर सहकारीले धेरै दरका कार्यक्रम आयोजना गरे भन्छौं । आफ्ना सदस्यलाइई बर्ष दिनमा एक पटक दर खुवाएर रमाईलो गर्नु राम्रो पक्ष हो । यसलाई नराम्रो भन्न मिल्दैन । सहकारीको विकासको लागि योगदान दिएका सदस्यको लागि संस्थाले एक दिन रमाईलो गराउँदा विकृति हुँदैन ।
अन्य क्षेत्रको भन्दा सहकारीको दर कार्यक्रम अझ सभ्य भएको देखियो । सदस्यहरु आफै खटेर दर कार्यक्रमको आयोजना गरेका छन् । केही बाहेक धेरैले आफ्नै कार्यालयमा कार्यक्रम गरेका छन् । खानामा पनि हामीले दरमा जे खान्छौं त्यही नै छ । दिदीबहिनी मिलेर रमाईलो गरेका छन् । परम्परा तथा संस्कृतिलाई जोगाउन सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् ।
दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष पावर्ती बराल तिजलाई भड्किलो तरिकाले नमनाएको बताउँछिन् । ‘हामी जम्मा भएर रमाईलो गछौं, दरको रुपमा खिर पुरी तरकारी खान्छौं’, उनले भनिन्, ‘नाचगान गछौं रमाईलो गछौं । आफ्नो संस्कृतिलाई जोगाउने हिसाबले हामीले तीज मनाएका हुन्छौं । यसरी सभ्य तरिकाले मनाईएको तीजलाई भड्किलो भयो भन्न मिल्दैन ।’
भड्किलो भएको छ भने के कारणले भएको छ त्यो खोज्नुपर्ने उनको भनाई छ । विरोधको नाममा विरोध गर्ने प्रचलन राम्रो नहुने उनले बताईन । ‘धेरै सदस्य हुनुहुन्छ कम्तिमा पनि ६÷७ सयको सहभागिता हुन्छ । समूह समूहमा नाचगान गरेर रमाईलो गर्नुहुन्छ । सँधैभरि घरको काम व्यक्त दिदीबहिनीहरु एक दिन त्यही पनि २÷३ घण्टा बाहिर निस्केर रमाईलो गर्दैमा आफ्नो संस्कृति भड्कििलो हुँदैन । यो कुरा विरोध गर्नेले बुझ्नुपर्छ’, उनले भनिन् ।’
सहकारीका दर कार्यक्रममा नाचेर नै कार्यक्रम उद्घाटन हुनेगरेका छन् । कार्यक्रममा बोलाईएका अतिथिहरुलाई अघिपछि गर्ने गतिविधि गराईदैन । सबैलाई नाच्न लगाईन्छ । मन्तव्यहरु हुँदैन । प्रमुख अतिथिले छोटो शुभकामना मात्र दिने बाहेक अरु मन्तव्य हुँदैन । रमाईलो गर्न जम्मा भएको भन्दै बढी भन्दा बढी नाचगान नै हुन्छ । चार पाँच वटा सहकारीका कार्यक्रममा पुग्दा देखिएका दृश्य हुन।
अन्य संघ संस्थाले पनि एक पटक नै महिलाका लागि दर कार्यक्रमको आआयोजना गर्ने हुन । त्यसैले महिलाले व्यस्तताका बाबजुत पनि थोरै समय निकालेर रमाईलो गर्दा भड्किलो हुने कस्तो खालको संस्कृति हो ?अनि कुनै संघ संस्था वा जागिर खाएका कार्यालयले महिलाका लागि एक दिन रमाईलो वातावरण सिर्जना गरिदिदा भड्किलो हुने कस्तो खालको संस्कृति ?
संस्कृति जोगाउने जिम्मा महिलाको मात्र होर ? सँधैभरि खुलिरहने भट्टी पसल, डान्सबारमा पुरुषहरुले सधै मनोरञ्जन गरिरहेका हुन्छन् त यसमा हामीले केही भनेका बोलेका छैनौ त । अनि महिलाले बर्ष दिनमा १५ दिन अगाडि देखि साथिसंगिसँग भेटघाट तथा रमाईलो गर्दा किन रोईलो ।
आज हरितालिका तीज
अव त दर खाईसकेर आज दिदीबहिनीहरु ब्रत बसिरहनुभएको छ । कतिपय निराहार ब्रत बसिरहनुभएको छ भने कतिपय पानी फलफूल खाएर ब्रत बसिरहनुभएको । आफ्नो स्वास्थ्यले साथ दिएसम्म आफूले जसरी सकिन्छ त्यसरी ब्रत बस्ने हो । ब्रत बस्तु स्वास्थ्यको लागि फाईदाजनक पनि हो । तर, आफ्नो स्वास्थ्य नै विगारेर भने ब्रत नबसौं ।
हिन्दू पात्रो अनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ । अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ ।
राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन् । लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ ।
Leave a comment