काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीको बोर्ड झुड्याएर साहुकारीको काम गर्ने संस्थाका कारण सहकारी क्षेत्र नै समस्यामा परेको बताएका छन् । वागमती प्रदेशका जिल्ला बचत संघहरुले संयुक्त रुपमा सोमबार काठमाडौंमा गरेको गोष्ठीमा बोल्दै उनले समुदाय र सदस्यमा आधारित संस्थामा समस्या नभएको र सहकारीमा नाममा बचत उठाएर जथाभावी लगानी गर्नेले समस्या सिर्जना गरेको बताए ।
‘समुदायमा आधारित भई सदस्यसँग कारोबार गरिरहेका सहकारी संस्थाहरुमा समस्या छैन’ रजिष्ट्रार घिमिरेले भने, ‘सहकारीको बोर्ड झुड्याएर काम साहुकारीको गर्ने संस्थाले समस्या सिर्जना गरेको हो ।’ सहकारी पैसा उठाउने माध्यम बनेको र उठाएको पैसा जथाभावी लगानी गर्दा पनि आफ्नै बाध्यताका कारण विभाग टुलुटुलु हेरेर बसेको उनले स्वीकार गरे ।
रजिष्ट्रार घिमिरेले सहकारी क्षेत्र अहिले प्रशव पिडामा रहेको भन्दै समयमै उपचार गर्न नसकेमा गम्भिर दुर्घटना हुने समेत बताए । ‘अहिले सहकारी क्षेत्रको अवस्था सामान्य होइन, प्लेसेन्टा प्रिभिया भएको महिलाको जस्तो छ’ उनले भने, ‘त्यसैले निर्मम सुधारको खाँचो छ, त्यसो गर्न नसक्ने हो भने गम्भिर दुर्घटनामा पछौं ।’
यसैगरी रजिष्ट्रार घिमिरेले सहकारी सिद्धान्त अनुसार नेपालमा सहकारीको विकास नभएको र केही व्यक्तिहरुले गलत प्रयोग गरिरहेको पनि दावी गरे । यसैगरी संघहरुले पनि सहकारीताको प्रवद्र्धन भन्दा पनि स्रोत साधनको नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेको पनि उनले बताए ।
Leave a comment