हाइलाइट

‘नेतृत्व पुनर्जागरण’ नाममा नेफ्स्कूनमा चुनावी गतिविधि : सहकारीभन्दा पार्टी प्राथमिकतामा 

‘नेतृत्व पुनर्जागरण’ नाममा नेफ्स्कूनमा चुनावी गतिविधि : सहकारीभन्दा पार्टी प्राथमिकतामा  :: Sahakari Akhabar

काठमाडौं । एक वर्षयता सहकारी संस्थाहरु तरलता अभावको संकटमा छन् । कतिपय संस्थाहरुले बचतकर्ताको पैसा समेत फिर्ता दिन नसक्दा सहकारी क्षेत्र नै आलोचित भइरहेको छ । अभिभावक निकाय संघ / महासंघले तरलता संकट समाधानका लागि संस्थाहरुलाई सहयोग गर्न सकेका छैनन् ।

सहकारी क्षेत्रको भविश्यमाथि नै प्रश्न खडा भइरहेका बेला बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का नेताहरु भने  ‘नेतृत्व पुनर्जागरण कार्यक्रम’ को नाममा चुनावी अभियानमा सक्रिय देखिएका छन् । नेतृत्व पुनर्जागरण कार्यक्रम गर्ने नाममा संघको लाखौं बजेट खर्च गरेर जिल्ला जिल्ला पुगेका नेताहरु सहकारीका समस्यामा भन्दा बढी आसन्न निर्वाचनलाई लक्षित गरी पार्टीका आन्तरिक भेला तथा बैठकमा केन्द्रीत भएका हुन् । 

नेफ्स्कूनले सात प्रदेशमध्ये ६ वटामा एक / एक र वागमतीमा २ वटा गरी कुल ८ स्थानमा ‘नेतृत्व पुनर्जागरण कार्यक्रम’ संचालन गर्ने घोषणा गरेको छ । भदौं ११ गते सुदुरपश्चिम प्रदेशबाट सुरु भएको कार्यक्रम भदौं २४ गते मधेस प्रदेशमा समापन हुदैछ । 

तोकिएका कार्यक्रमहरुमध्ये सुदुरपश्चिम, कर्णाली, कोशी प्रदेशका कार्यक्रमहरु सकिएका छन् । वागमती प्रदेशका दुई कार्यक्रमध्ये चितवनमा भइसकेको छ भने काभ्रेको बनेपामा तय गरिएको कार्यक्रम बाँकी छ । 

स्रोतका अनुसार नेफ्स्कूनले प्रति कार्यक्रममा न्यूनतम तीन लाख रुपैयाँ भन्दा बढी रकम खर्च गर्दै आएको छ । कार्यक्रममा अतिथिको आतेजाते खर्च, होटल, कार्यक्रमको खाजा नास्तालगायतका ठूलो खर्च हुन्छ । हरेक कार्यक्रमका लागि छुट्टाछुट्टै पदाधिकारीलाई तोकिएको भएपनि अध्यक्ष परितोष पौड्याल भने सबै कार्यक्रममा सहभागि हुदै आएका छन् ।  

नेफ्स्कूनको कार्यक्रमको नाममा जिल्ला दौडमा रहेका पौड्याल सहकारीको कार्यक्रम भन्दा बढी पार्टीका गतिविधिमा सक्रिय हुने गरेको समाचार स्रोतले बताएको छ । हरेक प्रदेशमा संघको औपचारिक कार्यक्रमकै छेको पारेर पार्टीगत भेला, बैठक र छलफलहरु चलिरहेको बताइएको छ । पार्टीगत कार्यक्रमकै लागि नेफ्स्कून नेतृत्वमा नरहेका व्यक्ति पनि पुग्ने गरेका छन् । 

नेफ्स्कूनको बजेटमा चुनाव लक्षित गरी कार्यक्रम गरेपछि यसको औचित्यमाथी सरोकारवालाहरुले प्रश्न गर्न थालेका छन् । संघको लाखौं बजेट खर्च गरेर चुनाव लक्षित कार्यक्रम गर्नु गलत रहेको आम सहकारीकर्मीहरुको बुझाइ छ । 

संघका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा भने सहकारीका समस्या समाधानमा प्रमुख भूमिका नेतृत्वको हुने भएकाले उनीहरुलाई लक्षित गरी पुनर्जागरण कार्यक्रम संचालन गरिएको बताउछन् । ‘अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको मुख्य भूमिका नेताहरुको हो’ उनले भने, ‘त्यसैले पुर्नजागरण कार्यक्रम संचालन गरिएको हो ।’ औपचारिक कार्यक्रममा नियामक निकायलगायतका सरोकारवालाहरु समेत बोलाइएको भन्दै चुनावी कार्यक्रम नभएको उनले दावी गरे । कार्यक्रमभन्दा अघिपछि हुने पार्टीका कार्यक्रमहरुबारे भने आफुलाई थाहा नभएको उनले बताए । 

यस वर्ष नेफ्स्कूनको नयाँ नेतृत्व चयन हुदैछ । अध्यक्षमा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो दावेदारी पेश गरिसकेका छन् । यस्तै अध्यक्ष पौड्याल पनि पार्टीले निर्णय गरेमा कार्यकाल दोहोर्याउन मनस्थितीमा छन् । 
 



Leave a comment