व्यवसायीक तरकारी खेतीलाई प्रोत्साहन गर्दै बज्रबाराही साना किसान 

सहूलियत कर्जादेखि ‘सिटुसी’ बजारीकरणसम्म 

व्यवसायीक तरकारी खेतीलाई प्रोत्साहन गर्दै बज्रबाराही साना किसान  :: Sahakari Akhabar

काठमाडौैं । उपयुक्त हावापानी तथा जग्गाजमिन तथा बजारको सहज पहुँचले मकवानपुरका दामन, पालुङ, बज्रबाराही, चित्लाङलगायतका क्षेत्र व्यवसायीक तरकारी खेतीको लागि प्रख्यात छन् । यस क्षेत्रमा खुल्ला तथा टनेल बनाएर, मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन भइरहेको छ।

आलु उत्पादनका लागि पकेट क्षेत्र नै मानिएको योे भेग पछिल्लो समय हरिया अकबरे खुर्सानी उत्पादनमा पनि ‘हब’ का रुपमा विकास हुन थालेको छ । परम्परागत खेती छाडेर व्यवसायीक तरकारी खेतीमा आकर्षित बज्रवाराहीका किसानहरुको अभिभावक बनेको छ थाहा नगरपालिका–६ स्थित साना किसान कृषि सहकारी संस्था ।

सहकारीका कारण किसानलाई व्यवसायीक खेती गर्न सहूलियत ब्याजदरमा वित्तीय सेवा उपलब्ध छ । साथसाथै रासायनिक मलखाद, उन्नत विउविजन, कृषि प्राविधिक सल्लाह घरदैलोमा उपलब्ध भएपछि किसानहरु हर्षित भएका छन् । त्यसैगरी सहकारीले किसानका उत्पादनहरु बजार पुर्याउनकालागि ढुवानीदेखि बजारीकरणका लागि समेत सहकारीले सेवाले किसान सदस्यलाई सजिलो बनाएको छ ।

प्रशोधनदेखि सिटुसी बजारीकरणसम्म

केही वर्षअघिसम्म किसानलाई व्यवसायीक खेती गर्न प्रोत्साहन गर्दै त्यसका लागि ऋण दिन मात्र सिमित भएका साना किसान सहकारी संस्थाहरुले विस्तारै उत्पादित सामानहरुको बजारीकरणमा समेत ध्यान दिन थालेका छन् ।

किसानले ब्यापारीलाई बिक्री गर्दा उचित मूल्य र समयमै भुक्तानी नपाउने समस्या देखिएपछि सहकारीमार्फत बजारीकरणका काम सुरु गरिएको अध्यक्ष महेश्वर सुवेदीले जानकारी दिए । ‘ब्यापारीले किसानलाई सहि मूल्य पनि नदिने, भुक्तानी पनि समयमा नदिने गरेको पाइएपछि हामीले आलुबाट ‘को–अपरेटिभ टु को–अपरेटिभ’ (सिटुसी) अवधारणमा बजारीकरणको काम सुरु गरेको हौं’ उनले भने, ‘यसको अनुभवका आधारमा विस्तारै बढाउदै जाने योजना छ ।’

सिटुसी अवधारणा अनुसार सहकारीले सदस्यहरुबाट उत्पादित सामान संकलन गर्ने र त्यसलाई अर्को ठाउँको सहकारीमार्फत बिक्री गर्ने गरिन्छ । ‘उत्पादक पनि सहकारीभित्र, उपभोक्ता पनि सहकारीभित्रै छन्’ अध्यक्ष सुवेदीले भने, ‘सिटुसी अवधारणामा बजारीकरण गर्ने हो भने हामीले बिचौलिया कम गर्न सक्छौं ।’

सहकारीले किसानका लागि बजार ब्यवस्थित गर्नका लागि अकबरे खुर्सानीको प्रशोधन उद्योग पनि स्थापना गरेको छ । अकबरे खुर्सानी उत्पादनमा किसानहरुको  आकर्षण बढेपछि संस्थाले उन्नत जातको विउ उत्पादन र उत्पादित अकबरेबाट अचार बनाउने उद्योग समेत संचालन गरेको हो । संस्थाले अकबरे बिउ प्रशोधन मेसिन र कोल्ड ड्रायर समेत राखेको छ ।

यसैगरी आलु उत्पादनको पकेट क्षेत्र रहेको बज्रबाराहीमा आलुको उन्नत विउ उत्पादनमा पनि सहकारी संस्था सक्रिय छ । संस्थाले आलुको बिउको स्रोत बज्रवाराहीलाई बनाउनुपर्छ भने सोचका साथ कृषि अनुसन्धान परिषद् नार्कसँगको सहकार्य गरी ४ रोपनी जग्गा भाडामा लिएर बिउ परिक्षण गरिरहेको छ । बिउ उत्पादनका लागि सहकारीले ४५ मेट्रिक टन क्षमताको कोल्ड रुम समेत संचालन गरिरहेको छ।

किसानलाई ‘डोर टु डोर’ प्राविधिक सेवा

किसानको उन्नती नै संस्थाको उन्नती हो भन्ने उद्देश्य राखेर काम गरिरहेको सहकारीलाई अन्य सहकारीभन्दा विशिष्ट पहिचाहन भएको संस्थाको रुपमा चिनाउन चाहान्छन् । तर, सरकारको दृष्टिकोणमा सबै प्रकृतिका सहकारीहरु एकै ड्याङका मुला हुन् र नाफा मात्र कमाउछन् भन्ने परेकाले साना किसान सहकारीहरुको योगदान ओझेलमा परेको गुनासो अध्यक्ष सुवेदीको छ।

‘सहकारी भन्नेवित्तीकै सबै एउटै ड्याङका मुला हुन्, यिनीहरुको काम नाफा गर्ने हो भन्ने बुझाइ स्थानिय प्रदेश, केन्द्रसम्मका सरकारमा छ’ उनले भने, ‘त्यसैले उनीहरुलाई साना किसान कृषि सहकारीले के गरेको रहेछ भन्ने मतलव नै रहेन ।’

तर, सहकारीले किसानको घरदैलोमा पुगेर सेवा दिएको संस्थाका प्रवन्धक धुब्र प्रसाद विडारी बताउछन् ।  संस्थाले कृषि प्राविधिक कर्मचारीमार्फत सदस्यलाई घरदैलोमै प्राविधिक सल्लाह सेवा दिने गरेको छ । यस्तै ‘जियो कृषि’ सँगको सहकार्यमा किसानहरुले मोवाइल एप्लिकेसनमार्फत पनि प्राविधिक जानकारी पाउने व्यवस्था मिलाइएको छ।

यसैगरी संस्थाले आफ्नै सवारीसाधान खरिद गरी किसानका उत्पादन सहूलियत मूल्यमा बजारसम्म पुर्याउने सुविधा समेत उपलब्ध गराएको छ । यस्तै पछिल्लो समय पशुपालन, किबी खेती, बाख्रापालन जस्ता व्यवसायमा पनि सदस्यको रुचि बढ्न थालेको छ । सहकारीले पशुपालनका लागि सहूलियत ब्याजदरमा कर्जा दिन थालेपछि यतातर्फ पनि सदस्यको आकर्षण बढेको हो।

४० लाखबाट ४० करोड

कृषि विकास बैंकको साना किसान विकास आयोजनाबाट २०४६ सालमा स्थापना भएको बज्रवाराही साना किसान संस्था २०५५ सालबाट जनसमूदायमा हस्तान्तरण प्रक्रिया सुरु भएको हो । २०६२ सालमा सहकारी दर्ता गरेपछि भने २०६३ साल असार २६ गते संस्थाको कारोबार सहकारीलाई हस्तान्तरण भएको हो । आयोजनाबाट सहकारीमा हस्तान्तरण गर्दा संस्थाको कारोबार ४० लाख रुपैयाँ थियो ।

१७ वर्षको अवधिमा संस्थाको वित्तीय कारोबार आकार बढेर करिब ४० करोड पुगेको छ । २०८० असार मसान्तसम्ममा  महिला ७८१ र पुरुष ५१४ गरी कुल १ हजार ३३५ सदस्य रहेको संस्थाको शेयर २ करोड, बचत ५ करोड ८९ लाख, जगेडा कोष ३ करोड ६२ लाख, जोखिम कोष ६५ लाख ५१ हजार रहेको छ । यस्तै कुल लगानी २५ करोड १५ लाख रहेकोमा बाह्य ऋण १५ करोड रहेको छ । गत आवसम्म संस्थाले १ करोड ११ लाख नाफा गर्न सफल भएको प्रवन्धक बिडारीले जानकारी दिए।



Leave a comment