काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंकले प्राविधिक सहयोग मात्र गर्ने स्पष्ट पारेका छन् । संघिय संसदको अर्थ समितिमा विहिबार चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे बोल्दै उनले सहकारीको अनुगमन गर्न विशिष्टकृत संस्था बन्ने र त्यसमा राष्ट्र बैंकले प्राविधिक सहयोग गर्ने स्पष्ट पारे ।
‘अहिले भएका १४ / १५ हजार सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले नै अनुगमन गर्ने हो भने हाम्रो मुख्य काम ओझेलमा पर्छ’ अधिकारीले भने, ‘चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार सहकारीको अनुगमन गर्न विशिष्टकृत संस्था बन्छ र यसमा हामी प्राविधिक सहयोग गछौं ।’
सहकारीको अनुगमनका लागि राष्ट्र बैंकले लामो समयदेखि सेकेन्ड टायर बनाउन प्रयास गरिरहेको पनि सम्भव नभएको गभर्नर अधिकारीले बताए । तर, चालू आवको बजेटमा नै विशिष्टकृत संस्था बनाउने उल्लेख भएको र त्यो जसरी भएपनि बनाउनै पर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।
सहकारीमार्फत ठूलो वित्तीय कारोबार भएपनि नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐनमा सहकारी अनुगमनको विषय उल्लेख नभएकाले यतातर्फ राष्ट्र बैंकले काम नगरेको गभर्नर अधिकारीले बताए ।
Leave a comment