काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नियुक्ती विवादमा परेको छ । सिइओ प्रकाशप्रसाद पोखरेलको आईतबारदेखि कार्यकाल समाप्त भएसँगै सोमबारदेखि लागू हुनेगरी सञ्जयराज तिमिल्सिनालाई निमित्त सिइओको जिम्मेवारी दिइएको छ । अध्यक्ष परितोष पौड्यालले आईतबार पोखरेललाई विदाई गरेको सूचना र सोमबार विहान तिमिल्सिनालाई निमित्तको जिम्मेवारी दिइएको सूचना सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।
त्यसपछि बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संचालक समितिलाई थाहा नदिई अध्यक्षले एकलौटी रुपमा जिम्मेवारी दिएको आशय सहित सामाजिक संजालमा नै स्ट्याटस लेखे । त्यसपछि नेफ्स्कूनमा सिइओ नियुक्ती र निमित्तको जिम्मेवारीको विषयमा संचालक समितिभित्रको विवाद सतहमा आएको हो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भने संचालक समितिको बैठक नबसुन्जेलका लागि निमित्त जिम्मेवारी दिइएको बताए । ‘आर्थिक वर्षको कारोबार क्लोजिङ गरेर आईतबार सिइओ बिदा हुनुभयो’ उनले भने, ‘बरिष्ठताको आधारमा सोमबारदेखि निमित्त जिम्मेवारी तोकिएको हो ।’ आगामी संचालक समितिको बैठकले सिइओ नियुक्तीबारे थप निर्णय गर्ने पनि उनले बताए । यसअघि भएका बैठकमा सिइओको कार्यकाल बाकी नै भएकाले कुनै निर्णय नगरिएको उनले दावी गरे ।
तर, नेफ्स्कूनमा कामु सिइओ भइसकेका शिव अधिकारी भने अध्यक्ष एक्लैले निर्णय गरेर निमित्त जिम्मेवारी दिन नसक्ने बताउछन् । ‘सिइओ भएसम्म उसैले निमित्तको जिम्मेवारी दिने हो’ उनले भने, ‘सिइओ नभएको अवस्थामा संचालक समितिबाट निर्णय गर्नुपर्छ, अध्यक्षले मात्र जिम्मेवारी दिन मिल्दैन ।’
यसैगरी निमित्त सिइओ तिमिल्सिनाले पनि संचालक समितिको बैठक नबसेसम्मका लागि जिम्मेवारी दिइएको पुष्टि गरे । ‘सिइओ बिदामा बसेपछि असारको २४ गतेदेखि निमित्तको जिम्मेवारी सम्हादै आएको छु’ उनले भने, ‘सिइओको कार्यकाल सकिएपछि भने अध्यक्षले निमित्तको जिम्मेवारी तोक्नुभएको हो ।’
नेफ्स्कूनमा सिइओ पोखरेलको कार्यकाल सकिने अन्तिम दिनसम्म नेफ्स्कूनले कार्यकाल थप्नेबारे कुनै निर्णय गर्न सकेको थिएन । सिइओ पोखरेल असार २४ गतेबाट विदामा बसेपनि कार्यकाल थप्नका लागि भने लविङ गरिरहेका थिए । तर, संचालक समितिका अधिकांश सदस्यहरु निरन्तरता दिने पक्षमा नभएपछि असार २६ गते भएको बैठकमा सिइओसम्बन्धी एजेण्डा नै राखिएन । असारमै नेफ्स्कूनका दुई वटा संचालक समितिको बैठक भएपनि सिइओबारे निर्णय नै भएन ।
नेफ्स्कूनमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका पोखरेलले शिवजी सापकोटाले राजिनामा गरेपछि ६ महिना कामु सिइओको जिम्मेवारी सम्हालेका थिए । नेफ्स्कूनले सिइओ नियुक्तीका लागि गरेको खुल्ला प्रतिस्पर्धामा रहेका पूर्व सिइओ सापकोटा र कार्यवाहक सिइओ पोखरेल लिखित परिक्षामा नै अनुतिर्ण भए । त्यसपछि खुल्ला प्रतिस्पर्धामा अनुतिर्ण भएको व्यक्तिलाई संचालक समितिबाट निर्णय गरी सिइओको जिम्मेवारी दिएपछि विवादमा तानिएको थियो ।
Leave a comment