व्यवसायीक कृषिमा महिला साना किसान सहकारीको फड्को,चामल मिलदेखि कस्टम हायरिङ सेन्टरसम्म

व्यवसायीक कृषिमा महिला साना किसान सहकारीको फड्को,चामल मिलदेखि कस्टम हायरिङ सेन्टरसम्म :: Sahakari Akhabar

काठमाडौं । चितवनको खैरेनी नगरपालिकामा पर्ने साविकको कठार गाउँपालिकामा केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थाहरुको पहुँच थिएन । ग्रामीण विकास बैंकको लघुवित्त कार्यक्रम संचालन भएपनि बचत जम्मा गर्नका लागि पर्सा  लैजानुपर्ने बाध्यता थियो ।

सर्बसाधारणमा वित्तीय साक्षरता थिएन । उनीहरु बचत गर्दैनथे, घरको स सानो गर्जो टार्न पनि ऋण चाहिने र त्यसकालगि साहु महाजनकै मुख ताक्नुपर्ने अवस्था थियो । जसको कारण गाउँमा घरायसी झगडा र डिभोर्सका घटनाहरु पनि धेरै सुनिन्थे । तर, अहिले गाउँको मुहार फेरीएको छ ।

गाउँका महिला दिदी बहिनीहरु व्यवसायीक रुपमा खेती किसानी, पशुपालनका साथै स्थानिय स्तरमा स्वरोजगारमुलक व्यवसाय गर्छन् । जसले गर्दा भएको आम्दानी सहकारीमा बचत पनि गर्छन् । उनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ । गाउँको यो परिवर्तनका लागि अभिभावक बनेको छ महिला साना किसान कृषि सहकारी संस्था कठार ।

आर्थिक वर्ष २०५९ / ०६० सालमा साना किसान कृषि सहकारी संस्था कुमरोजबाट  अनुशरण अन्तर्गत कठारमा कार्यक्रम सुरु भएको थियो । २०६१ बैशाख ७ गते सहकारीका रुपमा संस्था दर्ता भएपछि २०६२ साल माघ २९ गते संस्था स्थानियलाई हस्तान्तरण भएको हो ।

खैरहनी नगरपालिका वडा नं १० र ११ कार्यक्षेत्र रहेको संस्थाले त्यसभित्र रहेका २ हजार ५२४ घरधुरीमध्ये १ हजार ९०५ घरधुरीलाई समेटेको छ । महिलाहरु मात्र सदस्य रहेको सहकारी सुरु भएपछि गाउँको मुहारी फेरीएको बताएउछिन् संस्थाकी अध्यक्ष गीता केसी।

‘गाउँमा सहकारी सुरु भएपछि सर्वसाधारणले महंगो ब्याजमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको छ’ उनले भनिन्, ‘सर्वसाधारणको आम्दानी बृद्धिसँगै उनीहरुको स्तर पनि बढेको छ भने गाउँमा हुने झैझगडा पनि कम भएको छ ।’ सहकारीका कारण दिदीबहिनीहरुको नागरिकता बनेको, विवाह दर्ता भएको, सम्पतिमा समेत स्वामित्व बढ्न थालेको उनको अनुभव छ । यसैगरी गाउँमा कृषिको ब्यवसायीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

अनुशरण कार्यक्रमबाट संस्था जिम्मा लिदा कारोबार १४ लाख रुपैयाँ मात्र थियो । मासिक ५ सय रुपैयाँमा घर भाडामा लिएर कार्यालय सुरु गरेको संस्थाले आफै जग्गा किनेर भवन बनाउन सफल भएको छ । यस्तै कारोबार पनि करिब ५० करोड पुगेको छ ।

हाल संस्थाको शेयर पुँजी २ करोड ६६ लाख, कूल बचत १८ करोड ७६ लाख, जगेडा तथा अन्य कोषमा ४ करोड छ । आफ्नो आन्तरिक स्रोतका साथै साना किसान लघुवित्त वित्तीय संस्थाबाट २१ करोड ८७ लाख रुपैयाँ ऋण समेत लिएर महिलाहरुलाई परिचालन गरिरहेको संस्थाले कृषि तथा बागवानिमा २५ करोड ९४ लाख, पशुपालनमा १ करोड ९५ लाख, ब्यापार सेवा ब्यवसायमा १० करोड, शैक्षिक कर्जा २ करोड र अन्य क्षेत्रमा १ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ ।

संस्थाले बागमती प्रदेश सरकार मार्फत प्राप्त हुने कर्जाको ३ प्रतिशत, संघिय सरकार मार्फत प्राप्त हुने पशुपालन र तरकारी खेती कर्जाको ९ प्रतिशत र लघु कर्जाको १५.५ प्रतिशत ब्याजमा लगानी गरेको छ । सहकारीका कारण महिलाहरुको आयस्तर बढेको र हिजो ५ हजार ऋण चलाउनेहरु आज २५ लाखसम्म ऋण लिन थालेका छन् ।

सहकारी सामाजिक काममा पनि उतिकै सक्रिय रहेको अध्यक्ष केसी बताउछिन् । ‘हाम्रो सहकारी वित्तीय कारोबार गर्न मात्र होइन, महिलाहरुको दुखः मा पनि सुखमा पनि सँगै छौं’ उनले भनिन् । संस्थाले सदस्यबाट मासिक ५ सयदेखि एक हजारसम्म बचत गर्दै आएको छ। नियमित बचतका अतिरिक्त अन्य बचत योजना पनि छन् । बाल बचत अन्तर्गत सदस्यले छोराछोरीले एसएलसी पास भएपछि पढ्न पाओस भनेर बचत गर्ने गरेका छन् ।

यस्तै सदस्यले एक पटकमा ६ हजार रुपैयाँ राखेपछि सदस्यको मृत्यु भएपछि ५० हजार रुपैयाँ परिवारलाई सहयोग गर्ने गरेको छ । यस्तै पेन्सन योजना अन्तर्गत मासिक एक हजार राखेपछि १४ वर्षपछि संस्थाले २६ सय रुपैयाँका दरले पेन्सन दिने कार्यक्रम संचालन गरिरहेको छ । सहकारी सदस्यको हित तथा विभिन्न सामाजिक काममा पनि आफुलाई उत्तिकै सक्रिय गराउदै आएको छ । रक्तदान, स्वास्थ्य शिविर जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।

चामल मिलदेखि कस्टम हायरिङ सेन्टरसम्म

सदस्यहरुको आर्थीक, सामाजीक र सास्कृतिक उन्नतिका लागि कृषिमा आधुनिकिकरण गर्ने योजना सहित अघि बढेको संस्थाले दुई महिना अघिदेखि धान प्रशोधन मिल संचालनमा ल्याएको छ । एक बिगाहा ४ कट्ठामा फैलिएको संस्थाको प्रशोधन मिलमा किसानले उत्पादन गरेको धान संकलन गरी चामल उत्पादन सहित बिक्री गर्ने योजना बनाएको छ।

चामल उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत ७० लाख रुपैयाँ अनुदान र साना किसान लघुवित्त वित्तीय संस्थाको २ करोड रुपैयाँ ग्रामीण उद्यम कर्जा लगानी रहेको छ । संस्थाले नै धान खरिद गर्न थालेपछि किसानहरु खुशी भएको संस्थाकी ब्यवस्थापक पूर्णमाया अधिकारी बताउछिन् । ‘सहकारीले नै धान किन्न थालेपछि किसानहरु ब्यापारीबाट ठगीनुभएको छैन’ उनले भनिन्, ‘यसबाट किसानहरु खुशी हुनुहुन्छ’ संस्थाले भविश्यमा तोरी मिल, र चालको स्टिम प्लान्ट समेत राख्ने योजना बनाएको छ ।

किसानलाई व्यवसायीक कृषिमा अघि बढाउनका लागि संस्थाले कस्टम हायरिङ सेन्टर पनि संस्चालन गरेको छ । संस्थासँग रहेका विभिन्न औजारमार्फत सुपथ मूल्यमा किसानहरुलाई सेवा दिने गरेको छ । ‘किसान सदस्यका लागि आलीदेखि थालीसम्मको सहयोग गर्नुपर्छ भन्ने हाम्रो अवधारणा हो’ ब्यवस्थापक अधिकारी भन्छिन्, ‘त्यसै अनुसार किसानलाई आवश्यक सबै प्रकारका सेवा दिइरहेका छौं ।’

सदस्यलाई अनुदानमा मल, विउ, कृषि औजार, प्राविधि सेवा र कृषि बीमाको सेवा समेत साना किसान सहकारीले उपलब्ध गराउँछ । सहकारीको कारण व्यवसायीक रुपमा तरकारी खेती, गाईपालन, माछापालन, बाख्रापालन जस्ता काम भइरहेको छ । सदस्यलाई सहज र सहूलियत मूल्यमा सेवा दिने सहकारीले नाफा कमाएपछि बोनसको रुपमा फेरी सदस्यलाई वितरण गर्ने गरेको छ ।

सदस्यलाई व्यवसायीक बनाउन सहयोग गर्दै आएको सहकारीले आफै व्यवसायीक रुपमा कृषि गर्ने योजना समेत गरेको छ । काम गर्ने युवाहरु विदेशमा जाने र किसानहरु पनि कृषि पेशाबाट पलायन हुँदा गाउँमा खेतियोग्य जमिन बाझो बस्न थालेको छ । काम गर्न नसक्ने किसानको जमिन लिजमा लिएर मेसिनबाट खेती गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

सम्मान तथा पुरस्कार

सहकारी संस्था विभिन्न सम्मान तथा पुरस्कारबाट समेत सम्मानित भएको छ । २०६२ सालमा साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट उत्कृष्ट सहकारी पुरस्कार पाएको संस्थाले २०६६ सालमा दोस्रो लघुवित्त सेवा क्षेत्र विस्तार प्रतिस्पर्धा पुरस्कार समेत जितेको छ ।

यसैगरी २०७० सालमा जिल्ला सहकारी संघ भरतपुरबाट उत्कृष्ट सहकारी पुरस्कार र २०७३ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुर चितवनबाट वर्षको उत्कृष्ट सहकारीको रुपमा समेत सम्मानित भएको छ ।



Leave a comment