हाइलाइट

किन मनाउने अन्तर्राष्ट्रिय सहकारी दिवस ?

किन मनाउने अन्तर्राष्ट्रिय सहकारी दिवस ? :: Sahakari Akhabar

के हो कोअप्स् डे ?

कोअप्स् डे विश्वभरका सहकारीकर्मी, सरोकारवाला तथा शुभेच्छुकहरुको सबैभन्दा ठूलो ‘सेलेब्रेसन डे’ हो  । कोअप्स् डे को थिममा आधारित रहेर भन्ने हो भने यो वर्ष ‘सेलेबे्रसन फर सस्टेनिबीलीटी’ पनि हो । कोअप्स् डे विश्व सहकारीकर्मी र सरोकारवालाहरुलाई गोलबद्ध गराउने प्लेटफर्म अर्थात् साझा मञ्च हो । यो सहकारी अभियानको गर्विलो इतिहास, विस्तारित वर्तमान  र उज्ज्वल भविष्यको आधार हो ।

कोअप्स् डे विश्व सहकारीकर्मीहरुको सामूहिक आवाज (कलेक्टिभ भ्वाइस) पनि हो । सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गरेर सञ्चालित सहकारीका अभियन्ताहरु, यस अभियानमा जोडिन चाहने इच्छुकहरु, खोज र अनुसन्धान र सोधकार्यमा जुटेका अनुसन्धाताहरु, रोजगारीको माध्यम बनाएको मानव संशाधन तथा यस क्षेत्रका प्रत्यक्ष अप्रत्यक्ष सरोकारवालाहरुको सर्वाधिक चासो र महत्वको दिन हो । सहकारी अभियानको पहिचानको पर्व हो ।

ऐतिहासिक पृष्ठभूमि

पहिलो अन्तर्राष्ट्रिय सहकारी दिवस जुलाई ७ मा मनाइएको थियो । विश्व सहकारी अभियानको सर्वोच्च निकाय—अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको करिब २८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।

अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्याण्डस्, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया र अमेरिका गरी १३ मुलुकका सहकारीकर्मीहरुको बेलायतको लन्डनमा भएको भेलाले विश्व सहकारीहरुको साझा मञ्चको आवश्यकता महसूस गरी सन् १८९५ अगष्ट १९ मा आईसीए गठन गरेको थियो । उक्त भेला पहिलो सहकारी सम्मेलन (कोअपरेटिभ कंग्रेस) थियो ।

त्यस भेलाले आईसीएको उद्देश्य सहकारीसम्बन्धी सूचना तथा जानकारी आदानप्रदान गर्ने, सहकारी मूल्य, मान्यता र सिद्धान्तको व्याख्या र बहस पैरवी गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार विकास गर्ने तय गरेको थियो । खासमा त्यसबेला यो दिवसलाई ‘फस्र्ट कोअपरेटर्स डे’ का रुपमा मनाइएको थियो ।

बेलायतको म्यानचेष्टरबाट प्रकाशित पत्रिकाले यसबारे समाचार सम्प्रेषण गर्दै त्यसबेला विश्व सहकारी अभियानमा आवद्ध ४ करोड बढी जनसंख्यामध्ये बेलायत र आयरल्याण्डमा मात्रै ४० लाख ५० हजार जोडिएको जनाएको थियो ।

सन् १९९५ देखि भने आईसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक) ले संयुक्त रुपमा अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् । आईसीए सदस्य रहेको संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकमार्फतको निरन्तको बहसपैरवीपछि राष्ट्र संघले सहकारीलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका रहेको भन्दै यसको अस्तित्व स्वीकारेको थियो ।

त्यसपछि राष्ट्र संघले आइसीए स्थापनाको १ सय वर्ष प्रवेशको अवसरमा सन् १९९५ लाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाएपछि भने यसको चर्चाको घनत्व चुलिएको हो ।

विश्व सहकारीको ध्यानः दिगो विकासमा योगदान

संयुक्त राष्ट्र संघको अगुवाईमा विश्वभरका १९३ मुलुकको संयुक्त भेलाले तय गरेको साझा विकासात्मक लक्ष्यहरुको परिपूर्तिका लागि आफ्नो क्षेत्रबाट सकेको योगदान गर्न आव्हानसहित यो यस वर्षको कोअप्स् डे मनाइँदैछ । खासमा आजको आवश्यकता पनि दिगो विकासका ती लक्ष्यहरुभन्दा अरु  छैन पनि किनकि यसले सबै अत्यावश्यकताहरुको समुच्च सम्बोधन गरेको छ ।

भावी सन्ततिको पर्यावरणीय आवश्यकता पृथ्वीको वहन क्षमता र प्राकृतिक स्रोतको दीर्घकालीन सुनिश्चिततासमेतलाई ध्यानमा राखी गरिने विकास नै दिगो विकास हो । वर्तमानमा गरिने विकास निर्माणसम्वद्ध इन्द्रेणी क्रियकलापले प्राकृतिक स्रोतसाधनको दोहनले भविष्यको पुस्तालाई नकारात्मक असर नपुर्याउनुनै साँचो अर्थमा दिगो विकास हो ।

संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रले दिगो विकासका लागि सन् २०१५ सेप्टेम्बर मा १७ वटा लक्ष्य १६९ परिमाणात्मक लक्ष्य तथा २३४ वटा मापनयोग्य विश्वव्यापी सूचक तय गरेको थियो । नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएका कारण विकासका साझा लक्ष्यहरुलाई अनुमोदन गरी कार्यान्वयनको प्रतिबद्धता जनाएको थियो ।

यसका लागि राष्ट्रिय मार्गचित्र नै तयार पारेर अघि बढेको सर्वविदितै छ । नेपालले भने मुलुकको वस्तुगत यथार्थ समेट्ने गरी लक्ष्य १४ का सूचकबाहेक अन्तर्राष्ट्रिय सूचकको अतिरिक्त २४५ सूचक थप गरी ४७९ सूचक निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघले सहकारी अभियानलाई दिगो विकास लक्ष्य प्राप्तिको सारथी मानेको छ ।

सामथ्र्यका हिसाबले संसारभर छरिएर रहेका ३० लाख सहकारीमा १ अर्ब जनसंख्या (१२ प्रतिशत) आबद्ध छ भने कुल रोजगारीमा यसको हिस्सा १० प्रतिशत रहेको छ । विश्वका ३ सय ठूला सहकारीहरुले वार्षिक २,१४६ बिलियन अमेरिकी डलरको कारोबार गर्दछन् ।

विश्वको सबैभन्दा पूरानो र ठूलो व्यावसायिक तथा सामाजिक सञ्जाल भएको नाताले पनि सहकारी अभियानले दिगो विकासको लक्ष्यलाई सबैभन्दा पहिले अनुमोदन गरेको थियो र राष्ट्र संघले पनि सन् २०३० सम्मको लक्ष्य हासिल गर्ने सहयात्रीका रुपमा यो अभियानलाई लिएको छ ।

सन् २०१६ को अक्टोबर ११ देखि १३ सम्म क्यानाडाको क्यूबेकमा सम्पन्न आईसीएको साधारण सभाले दिगो विकासको लक्ष्य हासिल गर्ने विश्वव्यापी लक्ष्यलाई आत्मसात् गर्दै सक्रियतापूर्वक योगदान गर्ने निर्णय गरेको थियो । सन् २०१६ को जुलाईमा अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आईसीएले दिगो विकासको लक्ष्यलाई सहकारी अभियानसँग एकाकार गर्ने नीतिगत दस्तावेज  ‘कोअप्स्फर २०३०’ सार्वजनिक गरेको थियो ।

दिगो विकासका लागि सहकारीहरुले के कस्ता रणनीतिक र व्यावसायिक लक्ष्यहरु निर्धारण गर्न सक्दछन् भनेर अनलाइनमार्फत प्रतिबद्धता जाहेर गर्न सक्ने व्यस्था आईसीएले गरेको थियो । आईसीएले पनि सन् यी लक्ष्यहरुलाई स्वीकार गर्दै विश्वभरका सहकारीहरुलाई सक्दो भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

सहकारी क्षेत्रले समाजमा छरिएर रहेको पुँजी, प्रविधि र मानवशक्तिलाई एकीकृत गरी सदस्यहरुको आर्थिक उत्थानशिलता विकास गर्दै रोजगारीका अवसरहरुको सृजना गर्ने, गरिबी न्यूनीकरणका लागि सदस्य लक्षित तालिमबाट सीप र दक्षता अभिवृद्धि गरी स्वरोजगारीका कार्यक्रमहरु सञ्चालन गर्ने, बञ्चितीकरण र बहिष्करणमा परेका वर्ग, समुदाय, दलित श्रमिक लगायतका सीमान्कृत समुदाय लक्षित विशेष कार्यक्रममार्फत उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा टेवा पुग्ने खालका क्रियाकलापमा जोड दिन आग्रह गरेको छ।

सदस्यको समाजमा सम्मानजनक सहभागिताको अवस्थाको सृजना गर्ने, जैविक विविधता संरक्षणका लागि प्रत्येक सहकारी संस्थाले जैविक विविधता सम्बन्धमा समुदाय स्तरमा जनचेतना मूलक कार्यक्रम गर्ने, वृक्षारोपण गरी वनजंगल संरक्षण लगायत वातावरणीय सन्तुलनको क्षेत्रमा योगदान पुर्याउने कार्य गर्ने, सहकारी क्षेत्रको पुँजी, प्रविधि र जनशक्तिको परिचालनमार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा प्रविधिकरणमा लगानी भित्राउँदै, राज्यलाई कृषिमा आत्मनिर्भर बनाउने कार्यमा जोड दिन सक्दछन् ।

नागरिकमा सामुदायिक तथा सहयोगी भावनाको विकास गर्दै स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र पुँजीको परिचालनमार्फत वित्तीय अन्तरसम्बन्ध स्थापित गर्न सहकारी क्षेत्रको भूमिका रहन्छ । सहकारी क्षेत्रको वित्तीय सुशासन कायम गर्दै सामाजिक उत्तरदायित्वमार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रको सहकार्य आवश्यक रहन्छ ।

फेरि, विश्व सहकारी अभियानले दिगो विकासको लक्ष्यलाई आफ्नो डीएनए मै भएको दाबी गर्दै आएको छ । आईसीएले यस दिशामा प्राप्त उपलब्धिहरुबारे जानकारी गराउने, जनचेतना अभिवृद्धि गर्ने, नवीनतम अनुभवहरु आदानप्रदान गर्ने र बाँकी वर्षका लागि नयाँ ‘हरित रणनीति’हरु तय गर्ने काममा जुट्न सदस्यहरुलाई आग्रह गरेको छ ।

अबको बाटो

यसै वर्षको सेप्टेम्बरमा दिगो विकास लक्ष्य (२०३० एजेण्डा) को मध्यावधि समीक्षा पनि हुँदैछ । राष्ट्र संघको पछिल्लो अपरिस्कृत प्रतिवेदनले २०३० को साझा लक्ष्य प्राप्तिमा चुनौतीहरुको चाङ देखाएको छ । चित्र मलिन छ तर समय कम छ । नेपाली सहकारी अभियानले पनि दिगो विकासका लक्ष्यमा अपेक्षाकृत योगदान दिन सकेको छैन ।

केही राम्रा कामहरु भएका छन् तर तिनको लेखाजोखा र यथोचित प्रचार प्रसार भएको छैन । कोभिड महामारी, महाभूकम्प, अस्थिर सरकार, विश्व परिवेशमा देखा परेका राजनीतिक र आर्थिक उथलपुहल, सहकारी क्षेत्रप्रति राज्य र सरकारको विचार र व्यवहारमा विरोधाभाषसँगै सहकारी क्षेत्रको कमजोर आन्तरिक सुशासनका कारण दिगो विकासको विश्व एजेण्डा ओझेलमा परेको छ ।

भएका थोरै कामहरुको मापन भएन । यस दिशामा भएका कामहरुलाई समेटेर ‘सस्टेनेबीलीटी रिपोर्ट’ सार्वजनिक गर्न सकिएको छैन । क्यानाडाको डेजार्डे, ब्राजिलको सिक्रेडी, आयरल्याण्डको डोनोर क्रेडिट युनियन लगायतका विश्व चर्चित सहकारीले प्रत्येक वर्ष ‘सस्टेनेबीलीटी रिपोर्ट’ सार्वजनिक गर्छन् ।

सहकारीका सात विश्वव्यापी सिद्धान्त, यसका आधार तथा नैतिक मूल्य तथा मान्यताहरुमानै दिगो विकासको भावना ओतप्रोत छ भनिन्छ तर व्यावहारिक रुप दिन हामी चुकिरहेका छौं । किनकि पछिल्लो समय सहकारी क्षेत्रमा सोच्नै र थेग्नै नसकिने गरी पहिरो गइरहेको छ । झन् यो असारले त थप विनाशकारी पहिरोको पूर्वाभास दिइरहेको छ ।
 
एसडीजी विश्व विकासको मूल एजेण्डा हो । ‘कसैलाई पनि पछि नछाड्ने’ यसको मूल ध्येय हो । नेपालले दिगो विकासका लक्ष्य अन्तर्गत ५ वटा पी अर्थात् पिपुल (लक्ष्य १ देखि ५), प्लानेट (लक्ष्य १२, १३, १४ र १५), प्रोस्पेरिटी (लक्ष्य ६ देखि ११), पिस (लक्ष्य १६) र पार्टनरशीप (लक्ष्य १७) जस्ता विषयमा विश्वव्यापी सहकार्य र समन्वयको अपेक्षासँगै यिनको कार्यान्वयन गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्ने उद्देश्य लिएको छ । तर, सहकारी अभियान राष्ट्रिय लक्ष्यसँग एकाकार हुन सकिरहेको छैन ।

मुलुकमा विद्यमान ३१ हजार ३ सय ७३ सहकारीमार्फत ९४ अर्ब १५ करोड सेयर पुँजी, ४ खर्ब ७८ अर्ब ३ करोड बचत तथा ४ खर्ब २६ अर्ब ३५ करोड ऋण परिचालन भएको छ । ७३ लाख ८१ हजार २ सय १८ सदस्य आवद्ध रहेको अर्थतन्त्रको यो स्तम्भले ९३ हजार ७ सय ७१ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

तर पनि गरिबीको अन्त्य, भोकमरीको अन्त्य, स्वस्थ्य र समुन्न्त समाज, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी तथा सरसफाई, स्वच्छ उर्जामा सहज पहुँच, मर्यादित रोजगार तथा आर्थिक वृद्धि, उद्योग पूर्वाधार र नवीन सृजना, असमानता न्यूनीकरण, दिगो सहर र समुदायहरु, जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन, जलवायू परिवर्तनमा तत्काल पहल, जलमुनि तथा जलमाथिको जैविक विविधता संरक्षण,शान्ति, न्याय र शसक्त निकाय तथा लक्ष्य प्राप्तिको लागि साझेदारीका क्षेत्रहरुमा हामीले देखिने र देखाउन सक्ने गरी काम गर्न सकेका छैनौं । बहुमत सहकारीहरुमा एसडीजी स्ट्राटेजी नै छैन र भएकाहरुमा पनि कार्यान्वयन फितलो छ ।

के का लागि अन्तर्राष्ट्रिय सहकारी दिवस ?

दिवसका लागि दिवस मनाउनु, औपचारिकतामा अटाउनु, उही पट्यारलाग्दो भाषणमा भुल्नु, रमाउनका लागि मनाउनु, अघाउनका लागि मनाउनु, फोटो खिच्नका लागि भीड जम्मा गर्नु, कार्यक्रम गरियो  भन्नका लागि आयोजना गर्नु अर्थहीन भ्रम मात्र हो । यस्तो बेतुकको लिगलिगे दौड अनि त्यसको टेको लागेर हुने आत्मस्वार्थ मिश्रित रजगज र अप्राकृतिक राजनीतिक रुझानको फेरोमा मात्रै जब सहकारी अभियान अल्झिन्छ, तब सहकारीमार्फत अन्य मुलुकहरुमा सम्भव आर्थिक, सामाजिक र पर्यावरणीय सफलता हाम्रा लागि ‘आकाशको फल आँखा तरी मर‘ सरह हुन्छ ।

दिवस मनाउनु भनेको त्यसको स्वच्छता, स्निग्धता र सबलतालाई आत्मबोध गर्दै व्यवहारमा जीवन प्रदान गर्ने हो । कहिल्यै नअघाउने अनि कहिल्यै नथाक्ने भाषणप्रेमी अभियानकर्मीहरुले सीमापारका सहकारी अभियानकर्मीहरुको ‘थोरै बोल्ने तर परिणाममुखी काम गर्ने सामथ्र्य कहिले विकास गर्ने ? ‘दुई शब्द’ का भरमा कतिञ्जेल सहकारी अभियान थेगिइरहने ? विश्व, सहकारी अभियान गुदीमा बाँच्दछ, हामी बोक्रामा । हामीलाई अरुलाई देखाउन ठूलो बोक्राको लालसा छ । गुदी हाम्रा लागि फगत ‘मैले झार्न नसकेको रुखको आँप त अमिलो होला’ मात्र हो ।

नेपाली सहकारी अभियान वर्षौंदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइरहँदा समेत तिनको गुह्य आत्मबोध गर्नबाट चुकिरहेको छ । नजानेर होइन बुझपचाएर हो । आधारभूत स्वरुपमा सहकारीले ‘समास’ को परिकल्पना गर्दछ, ‘विग्रह’ होइन ।

यसले वैचारिक विविधता सम्मान गर्छ, लोकतान्त्रिक अभ्यास गर्दछ र निर्णयमा सामूहिकताको व्यग्र खोज गर्दछ । दरिलो आन्तरिक सुशासन र स्वयंसेवी भावनाका माध्यमबाट समाजको पीधँमा परेको वर्गको बहुआयामिक विकास खोज्दछ ।

बहिष्करणमा परेको वर्ग सहकारीमा जबर्जस्ती अटाइएका मात्र होइन, सहकारीमार्फत नै सन्तोषको सुस्केरा हाल्न पाएको अनुभूति गर्न चाहन्छ । यो वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको आर्दश वाक्यको अन्तर्य पनि यही हो । यसका लागि अभियानका अगुवाहरुको सार्थक प्रयासको खाँचो छ अन्यथा यो दिवस पनि केवल दिवसमै सीमित रहनेभन्दा अन्यथा हुनै छैन ।



Leave a comment