हाइलाइट

प्रारम्भिक संस्थाहरु समस्यामा : संघहरुमा तरलता थुप्रिदै 

प्रारम्भिक संस्थाहरु समस्यामा : संघहरुमा तरलता थुप्रिदै  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुसँग होलसेलमा वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) कर्जा घटाएर भएपनि तरलताको अनुपात बढाउने रणनीतिमा लागेका छन् । सहकारीमा समस्या बढ्दै गएपछि बचत फिर्तामा दवाव पर्नसक्ने आकंलन गर्दै संघहरुले आवश्यक भन्दा बढी तरलता राख्न थालेका हुन् ।

सहकारीमा प्रचलनमा रहेको पल्स मनिटरिङ सिस्टमले संस्थाहरुमा १५ प्रतिशत भन्दा बढि तरलता हुनुपर्छ भनेको छ । यस्तै सहकारीका संघ तथा नियमाक निकायले समेत १० देखि १५ प्रतिशतसम्म तरलता राख्न निर्देशन दिदै आएका छन ।

तर, सहकारीका संघसंस्थामा भने आवश्यक्ता भन्दा बढी तरलता राख्ने होडबाजी चलेको छ । सहकारी विभागको निर्देशन अनुसार मासिक विवरण सार्वजनिक गर्दै आएका सहकारी संघसंस्थाहरुबिच उच्च तरलता देखाएर संस्था राम्रो देखाउने होडबाजी चलेको छ ।

पछिल्लो समय वित्तीय प्रणालीमा निक्षेप बढ्न थालेपछि सहकारीहरुलाई पनि सहज हुन थालेको छ । तरपनि सहकारीप्रति सर्वसाधारण नकारात्त्मक हुँदा काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका सहकारीमा निक्षेप घटेपनि जिल्लाबाहिर बढिरहेको छ।

सहकारी संस्थाहरुमा निक्षेप बढेपछि सहकारी बैंक र संघमा पनि निक्षेप बृद्धि हुन थालेको छ । तर, दुवै निकायले तरलताको अवस्था राम्रो देखाउनका लागि ऋण प्रवाह भने घटाएका छन् । सहकारी बैंकले २०८० जेठ मसान्तमा तरलता अनुपात ३०.३९ प्रतिशत पुर्याएको छ ।

बैशाख मसान्तमा बैंकसँग २७.०७ प्रतिशत तरलता अनुपात थियो । बैशाखको तुलनामा जेठमा बैंकको निक्षेप तीन अर्ब बढ्दा कर्जा प्रवाह भने २५ करोड रुपैयाँले घटेको छ । जेठसम्ममा बैंकको कुल निक्षेप ४९ अर्ब २६ करोड रुपैयाँ र कर्जा ३३ अर्ब १७ करोड रुपैयाँमा रहेको छ । बैशाखमा निक्षेप ४६ अर्ब १६ करोड र कर्जा ३३ अर्ब ४२ करोड रुपैयाँ थियो ।

यसैगरी जेठ मसान्तमा नेफ्स्कूनले पनि तरलता अनुपात २६.९२ प्रतिशत पुर्याएको छ । अघिल्लो महिना यस्तो अनुपात २४.८८ प्रतिशत थियो । बैशाखको तुलनामा जेठमा नेफ्स्कूनको निक्षेप एक अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने १५ करोड रुपैयाँले घटाएको छ ।

जेठ मसान्तसम्ममा संघको कुल निक्षेप २० अर्ब १९ करोड रुपैयाँ र ऋण लगानी १५ अर्ब ४० करोड रुपैयाँ रहेको मासिक वित्तीय विवरणमा उल्लेख छ । बैंशाखमा संघको कुल निक्षेप १९ अर्ब र ऋण लगानी १५ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । सहकारी बैंक र नेफ्स्कूनसँगै प्रारम्भिक संस्थाहरु पनि ऋण असुली गर्दै तरलताको अनुपात बढाउने रणनीतिमै देखिएका छन् ।



Leave a comment