- धुनिवेसी–४ धादिङका युवा जगदिश रुपाखेतीले स्नातक उर्तिण गरेका छन् । जागिरको खोजीमा रहेका उनी जीवनपुर साना किसान कृषि सहकारीको सिफारीसमा व्यवसायीक कृषि तालिमका लागि इजरायल पुगे । त्यहाँबाट आधुनिक कृषिको ज्ञान र प्रविधि सिकेर फर्किएपछि यतिबेला उनी व्यवसायीक कृषिमा रमाइरहेका छन् । व्यवसायीक रुपमा तरकारी खेतीमा लागेका उनी वार्षिक १५–२० टन तरकारी उत्पादन गरी वार्षिक ३०–३५ लाखको कारोबार गर्छन् । उनलाई व्यवसायीक कृषिका लागि साना किसान सहकारीले सहूलियत ब्याजदरको कर्जादेखि अनुदानमा विउँबिजन, प्रविधि, र मलका साथै प्राविधिक सेवा समेत उपलब्ध गराइरहेको छ ।
- सरकारबाट उत्कृट किसानको रुपमा सम्मानित युद्ध प्रसाद न्यौपाने जीवनपुर साना किसान सहकारीकै सदस्य हुन् । ग्रामीण बजारमा स्टेसनरी पसल गर्दै आएका उनी साना किसान सहकारीको सिफारीसमा सन् २०१२ मा कृषि सिक्नका लागि इजरायल पुगे । नेपाल छउन्जेल कृषि पेशा नै मन नपर्ने उनलाई वातावरणले परिवर्तन गरिदियो । कृषि भनेको उद्योग हो, पढेलेखेकाले गर्ने हो, किसान पनि कार चढ्न सक्छ भन्ने देखेर नेपाल फर्केपछि उनी व्यवसायीक कृषिमा होमिए ।
धुनिबेसी–५ मा १६ रोपनी जग्गामा ९ वटा टनेल र ७० रोपनीमा खुल्ला कृषि व्यवसाय गरिरहेका छन् । किसानलाई व्यवसाय गर्नका लागि सहकारीले वित्तीय पहुँच पुर्याएको तर किसानको आवश्यक्ता परिपूर्ति हुने गरी मल विउँ र बजारीकरणमा काम गर्न नसकेको उनले सुनाए ।
- धुनिवेसी–३ कै अर्का युवा हरिशरण ढुंगाना सन् २०१४ मा इजरायल पुगे । इजराइल जानुअघि परम्परागत रुपमा कुखुरा पालन गर्ने उनी इजरायलको सिप र प्रविधि सिकेर फर्केपछि आधुनिक खेतीतर्फ आकर्षित भए। अहिले उनी टनेल र थोपा सिचाईको माध्यमबाट आधुनिक खेती गर्छन् । त्यसबाहेक उनको गाईपालन र डेरी व्यवसाय पनि छ । सबै व्यवसायमा गरी ४० लाख रुपैयाँ भन्दा बढि लगानी गरेका उनले साना किसान सहकारीबाट तीन प्रतिशत ब्याजदरमा प्राप्त हुने सहूलियत कर्जा ५ लाख लिएका छन् ।
- ३४ वर्षिय गोकुल थापामगर पनि जीवनपुर साना किसान सहकारीका सदस्य हुन् । सन् २०१४ मा कृषि सिक्नका लागि इजरायल पुगेका उनी त्यहाँबाट फर्केपछि ब्यवसायीक कृषिमै लागेका छन् । उनको १२ हजार क्षमताको कुखुरा पालन फार्म छ भने तरकारी खेती पनि गरिरहेका छन् । कृषि व्यवसायका लागि साना किसान सहकारीबाट १५ लाख रुपैयाँ ऋण लिएका छन् ।
- यसैगरी लक्ष्मण गौतम दैनिक ३ सय लिटर दुध संकलन गरी ३०–३५ केजी पनिर उत्पादन गरिरहेका छन् । काठमाडौंबाट गाउँ फर्किएका चिरण अर्याल ६ रोपनी जग्गामा व्यवसायीक च्याउ खेती गरिरहेका छन् भने स्नातक अध्ययन गरिरहेका पवन भट्टराई कृषि तथा पशुपालन फार्म नै खोलेर पशुपालन तथा तरकारी खेतीमा जमेका छन् । जीवनपुर साना किसान कृषि सहकारी संस्था धुनिबेशि नगरपालिका ३, धादिङका अन्तरसमूह ५, समूह ०६३ का समूह सदस्य विष्णुराज कंडेलले पनि ब्यवसायीक चट्टेल खेती गरिरहेका छन् ।
काठमाडौं । सके युरोप–अमेरिका, नसके नसके खाडी–मलेसिया, अहिले आम नेपाली युवाहरुको लक्ष्य हो । देशमा रोजगारीको अवसर नहुँदा शिक्षित बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, कृषिप्रधान देश, कृषिको ठूलो सम्भावना भएपनि यसतर्फ युवापुस्ता आकर्षण भने बढ्न सकेको छैन ।
तर, धादिङको जीवनपुरको माहोल भने केही फरक छ । युवाहरु विदेश पलायन हुने क्रम घटेको छ, बरु उल्टै गाउँ फर्केर व्यवसायीक कृषिमा लाग्न थालेका छन् । युवाहरुको व्यवसायीक कृषिकर्मप्रतिको आकर्षणलाई मलजल गरेको छ जीवनपुर साना किसान कृषि सहकारी संस्थाले ।
सहकारीले किसानलाई प्रदान गर्ने सहूलियत ब्याजदरको कर्जाका साथै मल, विउँ, आधुनिक प्रविधि, औषधी उपचार, प्राविधिक सेवा जस्ता सेवा सुविधाका कारण आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायीक रुपमा कृषि कर्ममा लाग्ने युवा किसानहरुको संख्या बढिरहेको छ ।
युवाहरुमा आधुनिक र व्यवसायीक कृषिको जोश भर्न साना किसान सहकारीहरुको ‘लर्न एण्ड अर्न’ कार्यक्रम फलदायी देखिएको छ । एक दशकयता सहकारीले साना किसान परिवारका युवालाई १०–११ महिनाको कृषि प्रविधिसम्बन्धी ज्ञान र सीप प्राप्त गर्न इजरायली सरकारसँग सहकार्य इजरायल पठाइरहेको छ ।
तालिमपश्चात् फर्केका युवाले आफ्नै जग्गामा तथा भाडामा समेत लिएर व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय गरिरहेका छन् । जसले गर्दा गाउँका अन्य युवाहरु पनि व्यवसायीक रुपमा कृषि पेशातर्फ आकर्षित गरेको अनुभव सुनाउछन् जीवनपुर साना किसान सहकारीका अध्यक्ष राजेश कुमार रुचाल ।
‘साना किसान सहकारीका कारण ग्रामीण क्षेत्रका विपन्न वर्गसम्म वित्तीय सेवा पुगेको छ’ उनले भने, ‘सहकारीकै कारण हिजो निर्वाहमुखी अवस्थाको कृषि पेशा आज आधुनिकीकरण र व्यवसायी हुदै गएको छ ।’ सहकारीका कारण युवाहरु उद्यमशिल भएको, आत्मनिर्भर बन्न थालेको र ग्रामीण भेगमा लघु व्यवसायहरु संचालन हुन थालेको उनले बताए ।
सहूलियत कर्जादेखि प्राविधिक सेवा
कृषि विकास बैंकको आयोजनाका रुपमा २०५० सालमा जीवनपुरमा साना किसान विकास कार्यक्रम सुरु भएको थियो । २०५३ असोज २२ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा सहकारी ऐन–२०४८ अन्र्तगत संस्था दर्ता भएपछि बैंकले २०५४ साल साउन १ गतेबाट सहकारी समुदायलाई हस्तान्तरण गरेको हो । सावीक जीवनपुर गाउँ विकास समिति कार्यक्षेत्र रहेको संस्थाको हाल धुनिवेँशी नगरपालिका ३, ४ र ५ नम्बर वडा कार्यक्षेत्र रहेको छ ।
कृषि विकास बैंकले हस्तान्तरण गर्दा सदस्यबाट मासिक १०÷२० रुपैयाँ बचत संकलन गर्ने र एउटा सदस्यलाई ५ हजार बल्लतल्ल लगानी गर्नसक्ने अवस्थामा रहेको संस्था अहिले एउटै सदस्यलाई लाखौं लगानी गर्नसक्ने अवस्थामा पुगेको छ । हाल १९२६ जना सेयर सदस्यको ३१८ वटा समूह बनाएर सहकारीले सेवा दिइरहेको छ । ६ सय जना सदस्यहरुलाई २१ करोड १५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीले साना किसान लघुवित्त वित्तीय संस्था, वागमती प्रदेश सरकार र स्थानिय नगरपालिकाबाट समेत थोक कर्जा लिएर सहूलियत ब्याजदरमा लगानी गर्दै आएको छ । सहकारीको कर्जाका कारण हिजो घरपरिवार मिलेर निर्वाहमुखी ढंगलबाट मात्रै खेती किसानी गर्नेहरु आज व्यवसायीक रुपमा कुखुरा पालन, गाइभैसी, तरकारी खेतीमा लागेको संस्थाका ब्यवस्थापक रमेश रुपाखेतीले जानकारी दिए ।
सहकारीबाट परिचालन भएको ग्रामीण उद्यमशिल कर्जाका कारण कुखुरापालन, गाईभैसी, टनेल र खुल्लामा गोलभेडालगायतका तरकारी खेती गर्ने युवाहरुको संख्या बढ्दै गएको छ । संस्थाको सिफारीसमा हालसम्म इजरायल पुगेर कृषि सिकेर फर्केका युवाहरुको संख्या मात्र १५ जना पुगेको र त्यसमध्ये १० जना कृषि कर्ममै रमाइरहेका छन् ।
सहकारीको लगानीमा २५ वटा भन्दा बढी पोल्ट्री व्यवसाय संचालनमा रहेको, एक सय भन्दा बढी सदस्यले तरकारी खेती गरिरहेको यस्तै दुध संकलन, प्रशोधन जस्ता काममा पनि सदस्यको सहभागिता रहेको उनले बताए ।
सहकारीले आफ्ना किसान सदस्यहरुका लागि सहूलियत ब्याजदरमा कर्जा सेवाका साथसाथै पशुधनको बीमा, विउँविजनमा अनुदानमा लगायतका सुविधा दिदै आएको छ । यस्तै बाख्राखोर निर्माण, टनेल निर्माणलगायतका काममा पनि अनुदान प्रदान गर्दै आएको छ । सहकारीले स्थानिय सरकार नगरपालिकाका साथै प्रदेश सरकार र संघिय सरकारका विभिन्न निकायसँग समन्वय गरी किसानलाई सहूलियत ब्याजदरमा ऋण र विभिन्न अनुदान तथा सहयोगका लागि समन्वय काम समेत गरिरहेको जनाएको छ ।
यस्तै वालवालिकाहरुलाई सहकारीमा बचतको बाँकी विकास गर्नका लागि बाल बचत खाता कार्यक्रम संचालन गरिरहेको छ । यस्तै सदस्यहरुको मृत्युपछि राहत दिनका लागि संस्थाले सदस्य सुरक्षण कार्यक्रम संचालन गरिरहेको छ । जसका कारण सदस्यहरुको मृत्यु भएपछि परिवारलाई ५० हजार सहयोग दिने गरेको छ ।
बजारीकरणको योजना
किसानले कृषिजन्य वस्तुको उत्पादन बढाएपनि त्यसको बजारीकरणका लागि निजी क्षेत्रका ब्यापारीहरुकै भर पर्नुपरेको अवस्था छ । जसका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ताले चर्को मूल्य तिर्नु परिरहेको छ । यो अवस्था अन्त्य गर्नका लागि सहकारीले किसानको सामाग्री संकलन गरी बिक्री गर्ने तयारी गरिरहेको छ ।
सहकारीको बजारका लागि संस्थाको आधुनिक भवन निर्माणाधिन छ । भवनमा पहिलो तलामा दुध संकलन, तरकारी संकलन र विउ विजन, मल विषादीको बिक्री गर्ने योजना अघि बढिरहेको ब्यवस्थापक रुपाखेतीले जानकारी दिए ।
Leave a comment