काठमाडौं । यतिबेला सहकारी केही संस्थाहरु सदस्यको बचत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेका छन् । जसका कारण सिंगो सहकारी क्षेत्रप्रति नै सर्वसाधारण नकारात्मक बन्दै गएको छन् । समस्या गहिरिदै गएका बेला सरोकारवालाहरु वित्तीय क्षेत्रमा देखिएको अवस्थाका कारण समस्यामा परेका सहकारीहरुलाई छुट दिने र कानुन विपरित काम गर्नेलाई भने कारवाही गर्न सहमत देखिएका छन् ।
नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले संयुक्त रुपमा बुधबार आयोजना गरेको सहकारी समस्या र सामाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले तरलता अभाव भएका संस्थाहरुमा बचत फिर्ताको लागि समय दिनुपर्ने र कानुन विपरित काम गरेका सहकारीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राम्रो गर्ने सहकारीलाई प्रोत्साहन गर्ने र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए । ‘हामीले सहकारीको समस्या समाधानका लागि काम गरिरहेका छौं’ उनले भने, ‘राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गछौं, गलत गर्नेलाई कारवाही गछौं ।’ सरकारले सहकारी क्षेत्र सुधार कार्यदल गठन गरेको र यसको प्रतिवेदनका आधारमा काम गर्ने उनले बताए ।
संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सम्पति र दायित्वको अवस्था मिलेको सहकारी संस्थाहरुलाई बचत फिर्ताका लागि समय दिइने बताए । विभागमा बचत फिर्ता नपाएको भन्दै उजुरी परेका सहकारीहरुको सम्पति र दायित्वका अवस्था स्पष्ट भएमा श्वेतपत्र सार्वजनिक तथा बचत फिर्ताको लिखित प्रतिवद्धता गरेर समय दिइएको उनले बताए ।
हालसम्म विभागले ४ वटा सहकारीहरुलाई यो सुविधा दिएको छ । तर, कानुन विपरित कारोबार गरेका सहकारीका संचालकहरुले भने छुट नपाउने उनले स्पष्ट पारे । ‘अहिले बचत फिर्ता गराउनका लागि विभाग लचिलो भएको हो’ उनले भने, ‘कानुन विपरित कारोबार गरेका संस्थालाई भोलीका दिनमा कारवाहीको दायरामा ल्याउछौं ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले पनि गलत काम गर्ने सहकारीलाई जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘अहिलेको परिस्थितीका कारण बचत फिर्ता गर्न नसकेका सहकारीहरुलाई समय दिनुपर्छ’ उनले भने, ‘तर, कानुन विपरित कारोबार गर्ने सहकारीहरुलाई जोगाउनुपर्छ भन्ने पक्षमा हामी छैनौं ।’ सरकारलाई काम गर्नका लागि समय दिन केहि समयका लागि आन्दोलन स्थगित गरेको र माग पुरा नभएमा दवाव दिन पुनः आन्दोलन गर्ने उनले स्पष्ट पारे ।
पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नबस्दा समस्या बढेको बताए । सहकारीहरु बैंकजस्तो बन्न खोजे, सहकारी अभियानले सदस्य हितभन्दा सञ्चालकको हितमा आन्दोलन गर्दा स्वार्थको द्वन्द्व बढेको उनको भनाइ थियो ।
सहकारीको समस्या समयमै समाधान नगरे वित्तीय संकट आउन सक्ने उनले दावी गर्दै उनले बचत सुरक्षाका लागि बिमा आवश्यक रहेको बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले केही सीमित सहकारीले गलत गर्दा सबै सहकारीहरु बदनामी हुनु परेको बताए । सबै सहकारीहरु अभियानको छाता संगठन भित्र नरहेको र बाहिर बसेका संस्थाहरुको गल्ती गर्दा सहजिकरण गर्न नसकेको उनले स्पष्ट पारे ।
Leave a comment