काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी क्षेत्र अब विस्तारै पुर्नउत्थान हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बुधबार गरेको कार्यक्रममा बोल्दै उनले संस्थाहरु बिग्रने क्रम सकिएको र अब वास्तविक सहकारी क्षेत्रको विकास हुने दावी गरे ।
‘कोभिड–१९ महामारीले मात्र सहकारीमा समस्या आएको हैन, हामीले जथाभावी संस्था संचालन गर्दा समस्या आएको हो’ रजिष्ट्रार घिमिरेले भने, ‘कोभिड नभएको भएपनि ढिलोचाडो यस्तो समस्या आउथ्यो, अहिले देखियो अब डाउनफल सकियो, विस्तारै रिकोभरी हुन्छ ।’ सहकारीमा अहिलेको अवस्थाको कारोबार हुन्छ भन्ने ढंगले ऐनमा परिकल्पना नगरिएको र त्यस अनुसार नियमनको व्यवस्था समेत नभएको उनले स्पष्ट पारे ।
‘हाम्रो सहकारीमा यो तहको वित्तीय कारोबार हुन्छ भनेर ऐनले परिकल्पना नै गरेको छैन’ रजिष्ट्रार घिमिरेले भने, ‘त्यसैले नियामक निकायसँग वित्तीय कारोबारको सुपरिवेक्षण गर्ने क्षमता नै विकास गरिएन ।’ विभागसँग वित्तीय सूचकहको जानकारी भएको कर्मचारी समेत नभएको उनले स्वीकार गरे ।
संविधानको व्यवस्था अनुसार सहकारीको अधिकार स्थानिय तहसम्मलाई हस्तान्तरण गर्दा अवस्था लथालिङग र भताभुङ भएको रजिष्ट्रार घिमिरेले बताए । अहिले समस्यामा परेका सहकारीहरुलाई श्वेतपत्र जारी गरी सदस्यको बचत फिर्ता गर्ने प्रतिवद्धता गराएर रिकोभर गराउने गरी विभागले काम गरिरहेको तर, सहकारी ऐन विपरित काम गरेकालाई कारवाहीको दायरामा ल्याउने उनले दावी गरे ।
‘विभाग अहिले सहकारीबाट बचत फिर्ता गराउनतिर लागेको छ,’ घिमिरेले भने, ‘घरजग्गामा कारोबार गर्नेको पछि कानुनअनुसार अघि बढ्छौं । बचतकर्ताले कुनै न कुनै दिन पैसा फिर्ता पाउँछन् ।’ अहिलेसम्म ४ वटा सहकारीहरुलाई श्वेतपत्र जारी गर्न लगाएको समेत उनले जानकारी दिए ।
Leave a comment