काठमाडौं । संघिय सहकारी विभागमा रिले अनसन गर्ने अघिल्लो दिन मध्यराति आन्दोलन स्थगित गरेको राष्ट्रिय सहकारी महासंघ अझै आन्दोलन गर्ने ‘मुड’ मा देखिएको छ । सरकारलाई माग पुरा गर्नका लागि केहि समय दिएको र वेवास्ता गरे पुनः दवावमुलक आन्दोलन गर्ने महासंघका अध्यक्ष मिनराज कँडेलले बताए ।
‘सरकारलाई काम गर्नका लागि समय दिन केहि समयका लागि आन्दोलन स्थगित मात्र गरेका हौं’ नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बुधबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कडेँलले भने, ‘माग पुरा नभएमा दवाव दिने गरी आन्दोलन गछौं ।’
सहकारी महासंघले यसअघि सरकारसँग १३ बुँदे माँग अघि सारेको थियो । तर, आगामी आर्थिक वर्षको बजेटमार्फत आयकर बृद्धि गरेकाले त्यसलाई घटाउने विषय पनि महासंघले अघि बढाउने अध्यक्ष कडेलले बताए ।
अध्यक्ष कडेलले महासंघ सहकारीमा गतल गर्नेहरुलाई जोगाउने पक्षमा नरहेको दावी गरे । तर, कोभिड महामारी तथा रुस युक्रेन युद्धका कारण बचत फिर्ता गर्न नसकेका सहकारीहरुलाई भने समय दिनुपर्ने उनको भनाइ थियो । सहकारीमा एकैपटक बचत फिर्ताको दवाव आएको तर, बचत संकलन र ऋण असुली कम हुँदा समस्या भएको उनले बताए ।
महासंघकी वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलकी संयोजक ओमदेबी मल्लले शनिबार राति विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम स्थगित गरेकी हुन् । मल्लको हस्ताक्षरमा राति ११ बजे फेसबुकमार्फत जारी भएको विज्ञप्तीमा जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पुर्ण दबाबमुलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको र मागहरु पुरा गराउनका लागि तुरुन्त दबाबमुलक कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख गरिएको छ । तर, शुक्रबार नै संघिय सहकारी विभाग भएको धर्ना कार्यक्रममा मल्लसहित महासंघका नेताहरु अनुपस्थित थिए ।
सहकारीका संचालकले ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ का नामबाट महासंघमै रिले अनशन सुरु गरेपछि महासंघले नै कार्यदल बनाएर आन्दोलनको नेतृत्व लिएको थियो । कार्यदलले भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेका साथै प्रदेशहरुमा पनि सहकारी मन्त्री र रजिष्ट्रारहरुलाई बैशाख १७ गते ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा १५ दिनभित्र माग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएपनि सरकारले वेवास्ता गरेपछि महासंघले चरणवद्ध आन्दोलन घोषणा सुरु गरेको थियो ।
त्यसमा ‘हामी आन्दोलनमा छौं’ भनेर कालो ब्यानर राख्नेदेखि, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, सिट्ठी जुलुस र विभागमा धर्ना दिनेसम्मका कार्यक्रम भएका छन् । विभागमा अनिश्चितकालिन रिले अनशनमा बस्ने कार्यक्रमको अघिल्लो दिन राति नै कार्यक्रम स्थगित गरिएको हो । महासंघले आन्दोलन स्थगित गरेपछि कार्यदलका सदस्य समेत रहेका बचाऔं अभियानका अध्यक्ष नरेन्द्र विष्टले भने कार्यदलबाट राजिनामा दिएका छन् ।
Leave a comment