आन्दोलन ‘अराजक’ हुन थालेपछि पछि हट्यो महासंघ 

आन्दोलन ‘अराजक’ हुन थालेपछि पछि हट्यो महासंघ  :: Sahakari Akhabar

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका तरलता अभावलगायतका समस्या समाधानका लागि सरकारले दवाव दिने उद्देश्यले सुरु आन्दोलनबाट राष्ट्रिय सहकारी महासंघ पछि हटेको छ । आन्दोलनमा उपस्थित सहकारीकर्मीबाटै उत्तेजित क्रियाकलाप हुन थालेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलकी संयोजक ओमदेबी मल्लले शनिबार राति विज्ञप्ती जारी गर्दै आन्दोनको कार्यक्रम स्थगित गरेकी हुन् । मल्लको हस्ताक्षरमा राति ११ बजे फेसबुकमार्फत जारी भएको विज्ञप्तीमा जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पुर्ण दबाबमुलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको र मागहरु पुरा गराउनका लागि तुरुन्त दबाबमुलक कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख गरिएको छ । तर, शुक्रबार नै संघिय सहकारी विभाग भएको धर्ना कार्यक्रममा मल्लसहित महासंघका नेताहरु अनुपस्थित थिए ।

स्रोतका अनुसार विहिबार बानेश्वरमा कोणसभा गरी आन्दोलन समापन गर्ने भनिएपनि केही आन्दोलनकारीहरु विभागमा पुगेर रजिष्ट्रार विरुद्ध नै नाराबाजी गरेका थिए । आन्दोलकारीहरुले रजिष्ट्रारको राजिनामा मागिरहेका बेला महासंघका अध्यक्ष, उपाध्यक्षलगायतका नेताहरु भने रजिष्ट्रारकै कार्यकक्षमा छलफलमै थिए । त्यसपछि महासंघका नेताहरुले आन्दोलनकारीलाई उत्तेजित नारा नलगाउन आग्रह गरेपछि विभाग परिसरमै हात हालाहालको अवस्थासम्म सिर्जना भयो । विभागमा देखिएको वातावरणबाट झस्किएको महासंघले आन्दोलन अराजक बन्दै गएको निश्कर्ष निकाल्दै स्थगित गरेको हो ।

महासंघका अध्यक्ष मिनराज कडेँल भने बदलिदो परिस्थितीलाई सम्बोधन गर्ने गरी रणनीति बनाउन तत्काललाई आन्दोलन स्थगित गरिएको बताउछन् । ‘बजेटले आयकर बृद्धि गरेको र बचतकर्ताले पनि संगठित रुपमा सुरु गरेको आन्दोलनको एजेण्डालाई समेट्नुपर्छ’ उनले भने, ‘त्यसैका लागि नयाँ रणनीति बनाउन अहिले जारी कार्यक्रम स्थगित गरेका हौं ।’ अब छलफलफपछि आन्दोलनको रणनीति बनाउने उनले दावी गरे । तर, आन्दोलन स्थगित भएपछि कार्यदल सदस्य नरेन्द्र विष्टले भने सामाजिक संजालमार्फत नै राजिनामा दिएका छन् । उनले सहकारी बचाऔं अभियानलाई पुनः व्युताउने संकेत समेत गरेका छन् ।

सहकारीका संचालकले बचाऔं अभियानका नामबाट महासंघमै रिले अनशन सुरु गरेपछि महासंघले नै कार्यदल बनाएर आन्दोलनको नेतृत्व लिएको थियो । उक्त कार्यदलले भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेका साथै प्रदेशहरुमा पनि सहकारी मन्त्री र रजिष्ट्रारहरुलाई बैशाख १७ गते ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा १५ दिनभित्र माग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएपनि सरकारले वेवास्ता गरेपछि महासंघले चरणवद्ध आन्दोलन घोषणा सुरु गरेको थियो ।

त्यसमा हामी आन्दोलनमा छौं भनेर कालो ब्यानर राख्नेदेखि, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, सिट्ठी जुलुस र विभागमा धर्ना दिनेसम्मका आन्दोलन सकिएका छन् । आईतबारदेखि विभागमा अनिश्चितकालिन रिले अनशनमा बस्ने कार्यक्रमको अघिल्लो दिन राति नै कार्यक्रम स्थगित गरिएको हो ।



Leave a comment