सलाङ साना किसान सहकारी, जसले पशुलाई समेत सुत्केरी भत्ता दिन्छ 

सलाङ साना किसान सहकारी, जसले पशुलाई समेत सुत्केरी भत्ता दिन्छ  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुले आफ्ना सदस्य सुत्केरी हुँदा भत्ता दिएको त तपाइले सुन्नुभएकै होला । तर, धादिङस्थित साना किसान कृषि सहकारी संस्थाले भने सदस्यको पशु सुत्केरी हुँदा समेत भत्ता दिने व्यवस्था गरेको छ ।

संस्थाले पशुधन सुरक्षण कार्यक्रमा आवद्ध भएका किसानहरुको गाई, भैसी सुत्केरी हुँदा एक हजार रुपैयाँ र भेडा, बाख्रा र बंंगुर सुत्केरी हुँदा हुँदा २ सय रुपैयाँ भत्ता दिदै आएको छ । पशुधन सुरक्षण गरेका सदस्यहरुको पशु सुत्केरी भएपछि समूहको मूचुल्का, अन्तर समुहको सिफारीस र पशुधन सुरक्षण समितिको निणर्यका आधारमा उक्त सुविधा उपलब्ध गराउँदै आएको प्रवन्धक गोपाल सिलवालले जानकारी दिए । यसबाट सदस्यहरुमा व्यवसायीक रुपमा पशुपालनमा आकर्षण बढिरहेको उनले बताए ।

सहकारी संस्थाले पशुधन सुरक्षण शुल्क वापत ठुला पशुको मूल्याङ्कन रकमको ५ प्रतिशत रकमको २० प्रतिशत र साना पशुको मूल्याङ्कन रकमको ७ प्रतिशतको २० प्रतिशत अर्थात १ लाख मूल्यको भैंसी छ भने कृषकसग १ हजार  रकम तिरेर पशुधन सुरक्षण गर्दै आएको छ । सुरक्षणपछि पशुको मृत्यु भएमा पहिलो वर्ष ६० प्रतिशत, दोस्रो बर्ष ७० प्रतिशत र तेस्रो वर्षमा ८० प्रतिशत क्षतिपूर्ती दिने गरेको छ । यहि कार्यक्रममा आवद्ध भएका पशुलाई सस्थाले सुत्केरी खर्च दिने गरेको छ।

आफैले कृषि प्राविधिक राखेर सदस्यहरुलाई निशुल्क सेवा दिदै आएको संस्थाले उत्पादनमा आधारित अनुदान समेत दिने गरेको छ । किसानलाई उत्पादन बढाउनका लागि उत्प्रेरीत गर्ने उद्देश्यले उत्पादनमा अनुदान दिदै आएको संस्थाले उत्पादित सामान बिक्रीको ग्यारेन्टी पनि गरेको छ ।

किसानलाई तरकारीमा प्रति केजी २ रुपैयाँ, दूधमा प्रतिलिटर ५ रुपैयाँ, बोइलर कुखुरालाई प्रतिकेजी एक रुपैयाँ, लोकल कुखुरालाई प्रतिकेजी २ रुपैयाँ र खसीको मासुमा प्रतिकेजी २० रुपैयाँ अनुदान दिने गरेको छ । सदस्यको उत्पादन बिक्री नभएको अवस्थामा संस्थाको पसलमा ल्याएमा न्यूनतम प्रतिकेजी १० रुपैयाँमा खरिदको ग्यारेन्टी गरेको छ ।

यसैगरी संस्थाले मल, बीउ कृषि औजारका लागि समेत सहकारी पसलमार्फत अनुदान दिने गरेको छ । कृषि औजार र बीउ विजनको लागि ३० देखि ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा मात्र संस्थाले सदस्यहरुबाट २१ लाख केजी तरकारी संकलन गरी एक वर्षमा १५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यसैगरी सहकारी पसलबाट संस्थाले ६ करोडको चामल किसानहरुलाई बिक्री गरेको छ । संस्थाले हाल सलाङ र बुङचुङमा आफ्नै भवनमा सहकारी पसल संचालन गरिरहेको छ । पसलबाट समेत संस्थाले गत आर्थिक वर्षमा ४४ लाख ७६ हजार आन्दानी गरेको छ ।



Leave a comment