ऋण असुल गरेर तरलता बढाउने रणनीतिमा सहकारीहरु 

ऋण असुल गरेर तरलता बढाउने रणनीतिमा सहकारीहरु  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संघसंस्थाहरुमा बचत फिर्ताको चाप बढेसँगै तरलता ब्यवस्थापनका लागि ऋण असुलीको रणनीतिमा लागेका छन् । सहकारीप्रति अविश्वास बढ्दै गएपछि बचत फिर्ताको दवाव बढ्ने आंकलनसहित उनीहरुले तरलताको अनुपात बढाउन थालेका हुन् ।

सहकारी संस्थाहरुसँग होलसेल वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले निक्षेप बढेपनि कर्जा लगानी भने घटाएका छन् । यस्तै प्रारम्भिक संस्थाहरुले पनि ऋण असुली गरेर तरलता अनुपातमा सुधार गरेका छन् ।

सहकारी बैंकले २०८० बैशाख मसान्तमा तरलता अनुपात २७.०७ प्रतिशत पु¥याएको छ । २०७९ चैत मसान्तमा बैंकको तरलता अनुपात २४.३८ प्रतिशत थियो । चैतको तुलनामा बैशाखमा बैंकको ऋण लगानी २२ करोड रुपैयाँले घटेको छ । चैत मसान्तसम्ममा बैंकको कुल ऋण ३३ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा बैशाख मसान्तमा घटेर ३३ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ ।

बैशाखमा बैंकको निक्षेप भने बृद्धि देखिएको छ । चैतमा बैंकसँग कुल ४४ अर्ब ४३ करोड निक्षेप रहेकोमा बैशाखमा बढेर ४६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । बैंक स्रोतका अनुसार काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा निक्षेप घटेपनि जिल्लाबाहिरका शाखाहरुमा बढ्न थालेको छ । पछिल्लो समय निजी बैंकहरुमा पनि निक्षेप बढिरहेको छ ।

यसैगरी बैशाख मसान्तमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को पनि तरलता अनुपात २४.८८ प्रतिशत पुगेको छ । अघिल्लो महिना यस्तो अनुपात २४.०२ प्रतिशत रहेको थियो । चैतको तुलनामा बैशाखमा नेफ्स्कूनको ऋण १० करोडले घट्दा निक्षेप भने ६४ करोड रुपैयाँ बृद्धि देखिएको छ ।

बैंशाख मसान्तसम्ममा संघको कुल निक्षेप १९ अर्ब र ऋण लगानी १५ अर्ब ५५ करोड रुपैयाँ रहेको मासिक वित्तीय विवरणमा उल्लेख छ । सहकारी बैंक र नेफ्स्कूनसँगै प्रारम्भिक संस्थाहरु पनि ऋण असुली गर्दै तरलताको अनुपात बढाउने रणनीतिमै देखिएका छन् ।

बैशाखमा मासिक वित्तीय विवरण प्रकाशन गरेका सहकारीहरुमध्ये आइएमई कोअपरेभिटमा २०.९७, नवकान्तिपुरमा बचत तथा ऋण ४३.१४, सहारा नेपाल बचत तथा ऋणमा २५.११, चन्द्रागिरी बचत तथा ऋणमा २७.५७ प्रतिशत तरलता अनुपात देखिएको छ ।



Leave a comment