सहकारी महासंघको टोलीले प्रधानमन्त्री भेट्न नपाएपछि....

सहकारी महासंघको टोलीले प्रधानमन्त्री भेट्न नपाएपछि.... :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावलगायतका समस्या समाधान गर्न सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री पुष्पकलम दाहाल ( प्रचण्ड) लाई भने भेट्न सकेको छैन । मंगलबार प्रधानमन्त्रीको सचिवालयले महासंघको टोलीलाई भेटघाटका लागि समय दिएको थियो ।

ज्ञापनपत्र बोकेर महासंघकी बरिष्ठ उपाध्यक्ष तथा समस्या समाधान संयोजन समितिकी संयोजक ओमदेवी मल्ल १४ जनाको जम्बो टोली सहित प्रधानमन्त्री कार्यालय पुगेकी थिइन् । तर प्रधानमन्त्रीबाट समय नपाएपछि ज्ञापनपत्र नबुझाइ टोली फर्किएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री सचिवालयले महासंघलाई मंगलबार दिउसो २ बजेका लागि समय दिएको थियो । प्रधानमन्त्री कार्यालयले फोन गरेरै १ : ३० बजे भेटघाटको समय मिलाएको जानकारी दिएपछि मल्ल बोर्ड बैठक बिचैमा छाडेर सिंहदरवार पुगिन् । तर, एक घण्टा कुराएपछि सचिवालयले भेटघाट गर्न नसकिने भनेपछि महासंघको टोली आक्रोशित भएको थियो ।

प्रधानमन्त्री र नेकपा माओवादीले सहकारी क्षेत्रलाई हेपेको भन्दै मल्लले आक्रोश व्यक्त गरेका थिइन् । भेटघाटका लागि महासंघका संचालकहरु राजेन्द्र पौड्याल, शिवकुमार डांगी, टिका बुढाथोकीका साथै सांसद तथा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सहकारी बैंकका संचालक मनोजकुमार थापामगरलगायतका नेताहरु पुगेका थिए । प्रधानमन्त्रीसँग भेट्न नपाएपछि टोली सिंहदरबारमा फोटो खिचेर फर्किएको थियो ।



Leave a comment