सन्तोष तिमल्सिना, काभ्रे । काभ्रेको सहकारीमा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको गरेको छ । काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजानिक गरेको छ ।
बैशाख १९ गते राति १ बजे सामुदायिक साकोसको सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिई संस्थाबाट ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी गरी उनीहरु फरार भएका थिए ।
चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई काठमाडौं र मकवानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पक्राउ परेका चारै जना मकवानपुर जिल्लाका हुन्।
उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र सोही ठाउँका ३५ बर्षीय अगबर लामा रहेका छन् । अमृत र सोमलाल काठमाडौंबाट पक्राउ परेका हुन् ।
अशोक र अगरलाई फाखेलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
Leave a comment