काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको कारण सहकारी संस्थाहरु पनि प्रभावित छन् । सहकारीहरुमा बचत संकलन घटिरहेको छ भने ऋण असुली पनि प्रभावित छ । तर, बचत फिर्ताको चाप बढ्दै गएपछि कतिपय संस्थाहरु सदस्यहरुको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
सहकारी संस्थाहरुमा समस्या पर्दै गएपनि संस्थाहरुको वास्तविक अवस्थाको बारेमा भने सदस्यहरु र नियामक निकाय भने बेखबर जस्तै छैन । सहकारी संस्थाको समस्याहरुका बारेमा समाचार सार्वजनिक भएपछि प्रेस विज्ञप्ती जारी गरेपनि उनीहरुले संस्थाको अवस्थाबारे भने जानकारी दिने गरेका छैनन् ।
मंगलबारमात्र ललितपुरको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले प्रेस विज्ञप्ती मार्फत बचतकर्तालाई कम्पनीको सेयर, घरजग्गा दिने तथा सम्पति बेचेर भएपनि लगानी फिर्ता गर्ने जानकारी गराएको थियो । तर, संस्थाले त्यसमा भएको लगानी र त्यसको अवस्थाबारे भने खुलाएको छैन ।
पछिल्लो समय सहकारीहरुले ऋण असुली नभएको बताए पनि कति ऋण खराब भएको र कुन ऋण कति समय भाका नाघेको भन्नेबारेमा समेत स्पष्ट जानकारी दिने गरेका छैनन् । यसैगरी सहकारी संस्थाहरुले नियामक निकायमा मासिक रिपोटिङ समेत नगरेकाले सहकारीको अवस्थाबारे नियामक निकाय पनि बेखबर छन् ।
संघिय सहकारी विभागले चालू आर्थिक वर्षको सुरुमै सहकारीहरुलाई मासिक रुपमा सेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने गरी निर्देशन जारी गरेको थियो । तर, निर्देशनको सबै संस्थाहरुले पालना गरेका छैनन् ।
सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय कोपोमिस प्रणालीमा सबै संस्थाहरु आवद्ध नभएकाले सहकारीको अवस्थाबारे विभागलाई समेत जानकारी नभएको स्विकार गर्छन् । सहकारीमा देखिएका समस्याहरु अध्ययन गर्नकै लागि विभागले उच्चस्तरिय समिति बनाउन प्रस्ताव गरेको उनले बताए ।
Leave a comment