शिवशिखर सहकारीका बचतकर्तालाई नआत्तिन सहकारी विभागको अनुरोध, संस्था समस्याग्रस्त घोषणा हुन्न : रजिष्ट्रार

शिवशिखर सहकारीका बचतकर्तालाई नआत्तिन सहकारी विभागको अनुरोध, संस्था समस्याग्रस्त घोषणा हुन्न : रजिष्ट्रार :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता सदस्यलाई नआत्तिन सहकारी विभागले अनुरोध गरेको छ । विभागले संस्थालाई समस्याग्रस्त घोषणा नगरी बचतकर्ताको पैसा फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले भने ‘सहजीकरण भइरहेको छ, संस्थाका संचालकहरुले हामी बचतकर्ताको पैसा फिर्ता दिने प्रतिवद्धता गर्छौ भनेर आए भने विभागले सहजीकरण गरिदिन्छ, उचित कार्ययोजना ल्याउनुपर्छ र बचतकर्ताको पैसा फिर्ता हुने योजना पनि हुनुपर्छ, त्यसो भयो भने विभागले सहजीकरण गर्छ । फेरीपनि ढाक छोप गर्ने काम भयो भने नियम कानुन बमोजिम विभाग अघि वढ्छ । अहिले सास्याग्रस्त घोषणा गर्ने सोच छैन ।’

उक्त संस्थाका सदस्यको पैसा फिर्ता गर्न संस्था र संचालकको सम्पत्तिको विवरण संकलन, रोक्का प्रकृया अगाडी बढाएको जनाएको छ । निवेदकहरुकै सललाहमा संस्था समस्याग्रस्त घोषणा नगरी समस्या समाधान गर्न लागेको जनाएको छ । ‘सदस्यको आग्रहलाई स्विकार गरि संचालकहरुको सम्पत्ति रोक्का गरेर दयित्व फरफारक गर्ने तयारी गरिरहेका छौं, बचतकर्ता नआत्तिनुहोस्’ रजिष्ट्रार घिमिरेले भने ।

उनले बचतकर्ताले बचत रकम फिर्ता नपाएको, संस्थाको विभिन्न ठाउँमा रहेका सेवा केन्द्रहरु समेत नियमित रुपमा सञ्चालन नभएको, संस्थाका सञ्चालक तथा कर्मचारीहरु बचतकर्ता सदस्यहरुको नियमित सम्पर्कमा नरहेकोले आफ्नो बचत रकमको सुरक्षाको प्रत्याभूतिको माग गर्दै विभागमा लिखित तथा मौखिक उजुरी परेको थियो । सहकारीको सबै सिस्टर कम्पनीहरुको चलअचल सम्पत्ति रोक्का गर्ने प्रकृया अगाडि बढाएका छौं उनले भने ।

उनले गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा), जिल्ला प्रशासन कार्यालय, मकवानपुर, जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा र जिल्ला प्रशासन कार्यालय, कैलाली समेतबाट बचतकर्ताहरुले रकम फिर्ता नपाएको गुनासो आएको छ ।

विभागको २०७९ फागुन ८ को निर्णयानुसार संस्थाका सञ्चालक समिति सदस्यहरु, निवर्तमान अध्यक्ष र व्यवस्थापकलाई निगरानीमा राखी निजहरुलाई विदेश भ्रमणमा रोक लगाउन गृह मन्त्रालय अध्यागमन विभागलाई पत्र पठाएको थियो । त्यस्तै संस्था तथा संचालकको नाममा नेपालभर रहेका सम्पूर्ण घरजग्गाहरु रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभागमा र बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको विभागले जनाएको छ ।

विभिन्न समयमा सजग गराउन खोज्दा पनि सम्पर्कमा नआएकोले अब सबै सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडी बढाएका हौं, उनले भने, ‘उनकी श्रीमती गीता शर्माले सम्पति बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गर्नुभएको छ ।’

सहकारीमा भएको १० अर्ब बचत मध्ये १ अर्ब ४० करोड सदस्यमा ऋण लगानी र ८ अर्ब ६० करोड उनले विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखिएको छ ।’ शिव शिखर अर्गनाइजेशनको सम्पत्तिको लगत चेक गर्दा कुल साढे १० अर्ब सम्पत्ति रहेको र ४ अर्ब ४६ करोड बैंकबाट ऋण लिएको देखिएको छ,  रजिष्ट्रार घिमिरेले भने।



Leave a comment