काठमाडौं । भक्तपुरको गठ्ठाघरमा रहेको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशक समिर खत्री माथी भएको अमानविय ब्यवहारको जिल्ला सहकारी संघ काठमाडौले भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले विज्ञप्ती जारी गरी उक्त संस्थाका प्रवन्ध संचालक खत्री माथी भएको ब्यवहार अमानविय, अराजक, असहिष्णु भएकोले उक्त घटनाप्रति संघको ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तमा ‘देशको अर्थतन्त्रमा आइरहेको मन्दी तथा तरलता ब्यवस्थापनमा गम्भिर कठिनाई भइरहेको सन्दर्भमा सहकारी क्षेत्रमा पनि नकारात्मक प्रभाव रहेको वर्तमान अवस्थामा हिजो भक्तपुर, गठ्ठाघर स्थित कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध संचालक समिर खत्री माथी भएको अमानविय, अराजक, असहिष्णु ब्यवहारको खवरले जिल्ला सहकारी संघ लि. काठमाडौंको ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तीमा भनिएको छ, ‘तरलता अभावको विषम परिस्थितीमा सदस्यको बचत सुरक्षण चुनौतीपूर्ण देखिएपनि सहकारी संस्थाहरुले बचत पूर्णरुपमा फिर्ता गर्नै नसक्ने अवस्थामा छैनन् । ब्यवस्थापनका दृष्टिले साथै सहकारीका मूल्य, मान्यता र सिद्धान्तले सहकारीका संचालक, पदाधिकारी तथा सदस्यहरुमा कुनै भिन्नता नभएकोले सम्पूर्ण सदस्यहरु संयमित भई जिम्मेवार भएको खण्डमा सहकारी संघ र संस्था आफैं स्वायत्त हुने र स्वनियमनमा पनि रहने भएकोले सम्वन्धित सवै पक्षलाई जिम्मेवार बन्न जिल्ला सहकारी संघ काठमाडौं आग्रह गर्दछ ।’
संघका अध्यक्ष ज्ञानबहादुर तामाङले हस्ताक्षर गरेको विज्ञप्तीमा, भक्तपुरको सहकारी संस्थामा अराजक र असहिष्णुता देखियो, नियोजित हुँदै आगामी दिनमा उपत्यका हुदै देशभर फैलिएको खण्डमा के आफ्नो वचतको सुरक्षा हुन सक्ला ? सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण हुन सक्ला ? त्यसैले सहकारी संघ / संस्थाका संचालक, पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी, अधिकार र कर्तब्यको समेत ख्याल राख्न सवैमा संघको अनुरोध छ ।
सदस्यमा लगानी भएको रकम फिर्ता हुन समय निर्धारण हुने तर बचतमा त्यो सिमा नरहेको कारण संघ / संस्थाले वचत रकम सदस्यले मागेको समयमै फिर्ता गर्न सामान्य कठिनाई मात्र भएको संघको भनाइ छ । यस्ता गतिविधीले सहकारीकर्मीको मनोवल कमजोर बनाउने भएकोले यस प्रकारका कार्यहरु तत्काल बन्द गराई सहजका साथ सहकारी संघ / संस्था संचालनमा सहयोग गर्न राष्ट्रिय सहकारी महासंघ र नेपाल सरकारलाई आग्रह गर्दछौं । संघले सुझबुझका साथ संस्था संचालन गरि सबै सदस्यको बचत सुरक्षा गर्न र सदस्यहरुलाई आफ्नो हक अधिकार मात्र होईन कर्तब्यको समेत ख्याल राखी जिम्मेबार भूमिका खेल्न अपिल गरेको छ ।

Leave a comment