काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठले सहकारीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मंगलबार ब्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले सहकारी मार्फत जनता ठगिएको गुनासो धेरै आउन थालेको र यसलाई छानविन तथा आवश्यक कारवाही अघि बढाइने बताइन् ।
‘पछिल्लो समय सहकारीबाट ठगिए भन्दै गुनासो आउने क्रम बढेको छ’ मन्त्री श्रेष्ठले भनिन्, ‘उजुरीहरु छानविन गरिएर गलत काम गर्नेलाई कारवाही अघि बढाउनुपर्छ ।’ यसैगरी मन्त्रालयले समस्यामा परेका सहकारीहरुको छानविन गरि आवश्यक कारवाही र समस्या न्युनीकरणका लागि विज्ञसहितको बिस्तृत अध्ययन टोली गठन गर्ने लागिएको पनि उनले जानकारी दिइन् ।
सहकारीमा समस्या आउन थालेपछि सहकारी विभागले एक महिना अघि नै अध्ययन समिति बनाउन मन्त्रालयमा प्रस्ताव गरेको थियोृ । तर, अहिलेसम्म कार्यदल निर्माण हुन सकेको छैन । मन्त्री श्रेष्ठले चूनौतिको चाङमाथी बसेर काम गरिरहेका अनुभव सुनाइन् । ‘मन्त्री त भइयो तर चुनौतीका चाङ छ ।
लाखौँ जनता भूमि विहिन छन् । गरिबीको डंगुर छ । कतै मेरो मन्त्रालय विचौलियाको थुप्रोमा टुस्स टुसाएको विरुवा जस्तै त छैन् ? घोत्लिन्छु, मन्त्रालयको फाइल अध्ययन गर्छु र संकल्प गर्छु’, मन्त्री श्रेष्ठले भनिन्, ‘देश बनाउने हो भने शहर भन्दा पहिले गाउँ बनाउनुपर्छ । स्मार्ट शहर हैन्, स्मार्ट गाउँको अबधारणा अघि सार्नुपर्छ ।’
उपयोग नगरी बाँझो राख्नेहरुको जग्गा सरकारले फिर्ता लिएर उत्पादन मुलक क्षेत्रमा काम गर्न चाहानेहरुलाई दिनुपर्ने उनले बताईन् । ‘जमिन नजोत्ने ओगटेर मात्रै बस्ने, राजमार्गहरुमा चार तल्ले विल्डिङ ठोक्ने, एैलानी जमिन ओगटेर बस्नेको जमिन राज्यले फिर्ता लिनुपर्छ ।
जसले जमिनको उपयोग भन्दा बढि जग्गा ओगटेर बसेका छन् त्यो राज्यलाई फिर्ता गराउनु पर्छ । र उत्पादन मुलक क्षेत्रमा काम गर्नेहरुलाई दिनुपर्छ । यसका लागि मैले मेरै पालोमा आवश्यक कार्यबिधि तयार गरेर अघि बढाउनेछु’, उनले भनिन् ।
भूमिहिनहरुलाई तत्काल जमिन उपलब्ध गराउन आफु लागि परेको मन्त्री श्रेष्ठले सुनाईन् । ‘जमिन खनजोत गर्नेहरुको हो त्यसैले कमैया, हरुवाचरुवा, मुसहर, डोम, चेपाङ आदी भूमिहिनहरुले जमिनको लालपुर्जा पाउनैपर्छ । हजारौँ बर्ष, हजारौँ मिटर जमिन जोत्नेको आज पाँच अंगुल पनि जमिन छैन् । त्यसैले मेरै पालामा यस्ता खालका भूमिहिनहरुलाई लालपुर्जा दिने मेरो लक्ष्य हो’, उनले भनिन् ।
Leave a comment