काठमाडौं । बैशाख ६ गते भक्तपुरको कृषि विकास बचत तथा ऋण सहकारीका प्रवन्ध निर्देशकमाथि भएको दुब्र्यबाहर प्रति सहकारी बचाऔं राष्ट्रिय अभियानले आपत्ती जनाएको छ । अभियानले सहकारीका कर्मचारी तथा संचालकमाथि अमानवीय ब्यवहार नगर्न समेत अपिल गरेको छ ।
अभियानले प्रवन्ध निर्देशक समिर खत्रीमाथि भएको अमानवीय ब्यवहारको सम्वन्धित सुरक्षा निकाय, सहकारी अभियन्ता, सहकारीका जिल्ला, प्रदेश, केन्द्रीय संघ तथा महासंघका संचालक त्यसैगरी सहकारी विभाग, मन्त्रालय र जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएको छ ।
बचाऔं अभियानले यस्ताखाले कार्यले समाजमा द्धवन्द्ध सिर्जना हुनसक्ने, सहकारीका संचालक, कर्मचारी, सहकारीकर्मी असुरक्षित महसुस गरि पलायनको बाटो रोज्नसक्ने भएकोले सदस्यको बचत झनै असुरक्षित हुनजाने भएकोले यस्ता अमानवीय गतिविधि नगर्न आग्रह गरेको छ ।
वर्तमान अवस्थामा सहकारी संस्थाहरुले आफ्नो कूल बचतको ६० प्रतिशतसम्म बचत फिर्ता गरिसक्दापनि दवाव घट्न नसकेको जनाएको छ । प्रबन्ध निर्देशक खत्रिलाई केही सदस्यहरुले संस्थाले बचत फिर्ता नदिएको भन्दै कालोमोसो दली जुत्ताको माला लगाएको घटना बाहिर आएको थियो ।
जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार खत्रीलाई हातपात गरी कालो मोसो र जुत्ताको माला लगाउनेहरुलाई पक्राउ गरेको हो ।
अभियानले सहकारीमा कर्मचारी र संचालकलाई कार्यालय खोली काम गर्ने बाताबरण सिर्जना गरिदिन आग्रह गर्दै सदस्यको बचत फिर्ता गर्ने प्रतिवद्धता समेत गरेको छ ।

Leave a comment