काठमाडौं । सहकारी संस्थाहरुको संख्या बढी भएको भन्दै एकीकरण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले नेतृत्व गरेको प्रारम्भिक सहकारी हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको गुपचुप बिभाजन भएको छ । पाँच वटा सहकारीहरु मर्जर भइ एकीकृत बनेको सहकारीमा संचालकहरुबीच नै मनमुटाव भएपछि छुट्टीएको हो ।
२०७४ माघ ११ गते आमा, जिविकोपार्जन, पिसल्याण्ड, शिक्षा र सहभागिता बचत तथा ऋण सहकारी एकीकरण गरी हाम्रो एकीकृत साकोस बनेको थियो । एकीकृत कारोबार सुरु गरेको ५ वर्षमा पुनः साविककै आधारमा संचालन गर्ने गरी विभाजन भएको हो ।
स्रोतका अनुसार एकीकरणपछि थपिएका दुई वटा सेवाकेन्द्रमध्ये भक्तपुर र ललितपुरका सेवाकेन्द्र हाम्रो एकीकृृत र किर्तीपुर सेवाकेन्द्र पिसल्याण्डको भागमा परेको छ । तर, अहिलेसम्म संस्था र यसका संचालकहरुले विभाजनको बारेमा औपचारिक तथा अनौपचारिक जानकारी दिएका छैनन् । संस्थाका सामाजिक संजाल तथा वेवसाईटमा समेत यसबारेमा जानकारी उपलब्ध छैन ।
संस्थाका संचालकहरुबीचको मनमुटाव बढ्दै गएपछि गत पुसमै विषेश साधारणसभाबाट संस्था विभाजन गर्ने निर्णय भएको थियो । वागमती प्रदेश सरकारले भने चैत २७ गते मात्र विभाजनको स्विकृती दिएको हो ।एकीकृत संस्थाका सचिव तथा पीसल्याण्डका अध्यक्ष नवराज अर्यालले विभाजनको कारणबारे बताउन चाहेनन् ।
कानुन विनै निर्णय
बागमती प्रदेश सरकारसँग सहकारी संस्थाबीच विभाजनका लागि कानुन व्यवस्था छैन । प्रदेशको सहकारी नियमावलीमा एकीकरणको व्यवस्था मात्र उल्लेख छ । प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले हचुवाका आधारमा विभाजनको निर्णय गरेको बताइएको छ ।
वागमती प्रदेशको सहकारीबाट हालै मात्र सेवा निवृत्त भएकमा रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली भने ऐन तथा नियमावली अनुसार नै विभाजन गरिएको दावी गर्छन् । ‘सहकारी नियमावलीमा मर्जरको प्रक्रिया स्पष्ट छ, त्यसका आधारमा विभाजन गरिएको हो ।’ यसैगरी संघिय सरकारको नजिरलाई पनि आधार मानिएको ज्ञवालीले बताए । संघिय सरकारले एकीककरण तथा विभाजन कार्यविधि अनुसार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीबाट सगरमाथा बचत तथा ऋण सहकारीलाई विभाजनका लागि स्विकृती दिएको थियो ।
हाम्रो एकीकृत नेफ्स्कूनको प्रोवेशन ब्राण्डका लागि सम्झौता गरेको संस्था हो । एक वर्षअघि पनि संस्थाको तत्कालिन सिइओ योगेन्द्र कुमार साउदले ३५ लाख रुपैयाँभन्दा बढि घोटाला गरेको सार्वजनिक भएको छ । तर, संचालक समितिले उनलाई कुनै कारवाही नगरी उन्मुक्ती दिएको थियो ।
Leave a comment