बागलुङ । सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले सहकारी संस्थामा संकट आउदा संस्थालाई जुरुक्क बोकेर समस्या समाधान गर्ने शेयर सदस्य आवश्यक रहेको बताएका छन् ।
जिल्ला सहकारी संघले मंगलवार आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा सहकारीको समसामयिक विषयमा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सहकारीमा आउने समस्या समाधानका लागि बाहिरबाट कोही आउदैन, यसका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरु मिलेर समस्या समाधान गर्नु पर्दछ, उप–रजिष्ट्रार उपाध्यायले भने,–‘सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई सेवासंगै सहकारी शिक्षा उपलब्ध गराएर सहकारी संस्थामा अप्ठेरो पर्दा जुरुक्क बोक्न सक्ने बनाउन आवश्यक छ ।’
सहकारीमा आएका समस्या समाधान लागि सदस्यहरुमा विश्वासको वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिदै उनले सहकारीका सञ्चालक र कर्मचारीहरुको थप सक्रियता, समन्वय र सदस्यसंगको सम्बन्ध विस्तार गर्न सुझाव दिए ।
वर्तमानको समस्याका बारेमा सदस्यलाई भनौ, संस्थाको अवस्था बारेमा जानकारी दिऔ, ऋण लगानी लगायत संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउदै विश्वासको वातावरण बनाउन उनले सहकारीकर्मीहरुलाई आव्हान गरे ।
विश्व अर्थतन्त्रमा आएको समस्यासंगै नेपालको वित्तीय क्षेत्र प्रभावित भएको र यसकै कारण सहकारीमा समेत तरलताको अभाव देखिएको चर्चा गर्दै उपाध्यायले सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी अभियान, राज्य लगायत सरोकारवालाहरुबीच समन्वय र सहकार्य भैरहेको जानकारी गराए ।
सहकारी क्षेत्रको नियमन, प्रवद्र्धन र प्रशिक्षणका लागि विभागले नियमित रुपमा काम गर्दै आएको जानकारी गराउदै उनले सहकारीको संकट समाधानका लागि पनि आफुहरु लागि रहेको बताए।
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भउको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, संघका सल्लाहकार तोयनाथ गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, कृषि सहकारी संघका सल्लाहकार मोहनलाल शर्माको उपस्थििति रहेको थियो ।
त्यसैगरी सहकारी विभागका कोपोमिस विभाग प्रमुख प्रेम शर्मा अर्याल, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठी, कोअपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपक राजभण्डारी सहित कार्यक्रमका सबै सहभागीहरुले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
Leave a comment