काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी अभियान ओरालो लाग्यो भने टेको लगाएर अड्याउन ग्राहो हुने भन्दै सचेत बन्न आग्रह गरेका छन् । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको समापन कार्यक्रममा सम्बोधन गर्दै सहकारी आन्दोलन धरासायी हुन नदिन पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।
‘सहकारी आन्दोलन सदस्यहरुको विश्वासमा टिकेको हुन्छ’ ओलीले भने, ‘जब विश्वास भत्किन्छ, त्यसपछि सदस्यहरु पछि हट्छन् र ओरालो लाग्यो भने टेको लगाएर अड्याउन ग्राहो हुन्छ ।’ आर्थिक संकट, गरिवी र अनिकालको अवस्थामा समाजलाई दिगो पाराले टिकाउने नै सहकारी भएकाले जति बढि अप्ठेरो पर्छ, सहकारी अभियानको त्यति आवश्यक्ता बढ्न उनको भनाइ थियो ।
ओलीले अपवाद बाहेक आम रुपमा सहकारी आन्दोलनमा समस्या नभएको उल्लेख गर्दै इमान भन्दा बढि आर्थिक लाभ हेर्ने, खराब मनसाय भएका तथा ऐन कानुन र अनुशासनको पालना नगर्नेहरु समस्यामा परेको बताए । ठूला बैंक तथा व्यवसायीसँग पैसा नभएको, बैंकले ऋण दिन नसकेको, सरकारसँग तलव खुवाउन पनि पैसा नभएका घटनाले देश आर्थिक संकटतर्फ धकिलिदै जान थालेको उल्लेख गरे ।
देशको बहुसंख्यक जनता कृषि पेशामा भएको र अब सहकारीमार्फत जमिन, पुँजी र सीप एकीकृत गरी उत्पादन बढाउनुपर्नेमा उनको जोड थियो । सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लाग्नुपर्ने ओलीले जोड दिए । सहकारीले अनुदान आशा गर्न नहुने भन्दै उनले उत्पादनमा लाग्नको लागि लामो समयको लागि सहुलियत ऋण व्यवस्था गरे ।
Leave a comment