बागमती प्रोस्कूनले तयार पार्यो २४ जना आन्तरिक परीक्षक 

बागमती प्रोस्कूनले तयार पार्यो २४ जना आन्तरिक परीक्षक  :: Sahakari Akhabar

काठमाडौं । बागतमी प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले २४ जना आन्तरिक परीक्षक तयार गरेको छ । संघले विकास गरेको आन्तरिक परीक्षक तालिमको पहिलो ब्याचको तालिम चैत्र २४ गते सम्पन्न भएको हो ।

तालिम चैत्र २२ गतेदेखि संचालन भएको थियो । तालिममा विभिन्न जिल्ला बचत संघ तथा प्रारम्भिक साकोसका प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतस्तका २४ जनाको कर्मचारीको सहभागिता रहेको थियो ।

सहकारी संस्थाहरुको आन्तरिक सुशासन प्रर्वद्धन र आन्तरिक नियन्त्रण विधीको प्रभावकारीता वृद्धि गरी सहकारी संस्थाहरुको कारोबारमा सहकारीमा आवद्ध सदस्य, सरोकारवाला निकाय र नियामक निकायहरुलाई विश्वासयोग्य वातावरण निर्माण गर्न प्रत्येक सहकारी संघसंस्था स्वयम्ले आन्तरिक परीक्षकको व्यवस्था गरी व्यवस्थित र सुरक्षित सहकारी सञ्चालन गराउने उद्देश्यले विकास भएको जनाइएको छ ।

तालिम कार्यक्रममा बागमती प्रोस्कूनका प्राविधीक सल्लाहकार डा.शिवजी सापकोटा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिए बद्रीकुमार गुरागाई, बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल, राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिना र बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज घोरसाईनेले सहजीकरण गरेका थिए ।

सहकारी संघसंस्थाहरुमा आन्तरिक परीक्षण शाखा स्थापना गराई वास्तविक समयको परीक्षण र वार्षिक रुपमा गरी दुई प्रकारको आन्तरिक प्रतिवेदन तयार गरी संस्थाको आन्तरिक व्यवस्थापनलाई चुष्त र दुरुस्त बनाउने लक्ष्य संघले लिएको छ ।

तालिमको प्रभावकारीताको परीक्षण र कार्यन्वयनको परीक्षण वार्षिक रुपमा संघको अधिकृत स्तरको कर्मचारीबाट गरिने व्यवस्था मिलाईएको छ ।

पहिलो पाठ्यक्रम विकास भई पहिलो समूहमा ५० करोड भन्दा माथि कारोबार गर्ने संघमा आवद्ध सदस्य संघसंस्थाहरुले तालिम पश्चात संघको मार्गदर्शन अनुसार आन्तरिक परीक्षण शाखा स्थापना गरी सक्षम, सवल र सुरक्षित सहकारी निर्माणमा भूमिका खेल्ने संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । पाठ्यक्रमलाई अझै परिष्कृत र उत्कृष्ट बनाउनका लागि सुझाव संकलन गरेर अघि बढ्ने जानकारी दिए ।



Leave a comment