सहकारीका समस्याको समाधानका लागि महानगरलाई नेतृत्व लिइदिन आग्रह

सहकारीका समस्याको समाधानका लागि महानगरलाई नेतृत्व लिइदिन आग्रह :: Sahakari Akhabar

ललितपुर । सहकारीका समस्याको समाधानका लागि महानगरलाई नेतृत्व लिइदिन आग्रह सहकारीकर्मीहरुले आग्रह गरेका छन् । उनीहरुले सञ्चालकहरुको कारणले मात्र नभई अर्थतन्त्रमै आएको संकटका कारण तरलता व्यवस्थापनमा समस्या भएको सहकारीकर्मीहरुले बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित ‘नेपालको वर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा परेको प्रभाव’ विषयक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुले सहकारीका समस्याको समाधानका लागि महानगरले नेतृत्व लिइदिन आग्रह गरे ।

कार्यक्रममा सहभागीले समग्र अर्थतन्त्रमा प्रभाव परेका कारण सहकारीमा तरलता चाप परेको बताएका छन् । अर्थतन्त्रमा शिथिलता आउँदा त्यसको प्रभाव व्यापार व्यवसायमा परेको र सदस्यहरुले ऋणको साँवा व्याज समयमा तिर्न नसक्दा तरलता व्यवस्थापनमा समस्या भएको उनीहरुको भनाई छ ।

सहकारीको समस्यामा राज्य मुकदर्शक बनेको र अभियानले उठाएका कतिपय यथोचित मागप्रति पनि सरकार गम्भीर नभएको उनीहरुको आरोप छ । राज्यको सहकारीप्रति हेर्ने दृष्टिकोण नै गलत भएको भन्दै उनीहरुले सहकारीकर्मी भागेर कहिँ नजाने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले वाह्य कारणले भन्दा पनि आन्तरिक कारणले अर्थतन्त्रमा समस्या आएको बताए । भारतको अर्थतन्त्र समस्यामा परे त्यसको असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने भन्दै उनले अर्थतन्त्र समस्यामा पर्नुमा बाह्य कारण नरहेको जनाए । नीतिगत रुपमा केही खुकुलो गरे अर्थतन्त्र लयमा फर्कने उनको दावी छ ।

कोभिड पछि सिथिल भएको अर्थतन्त्रलाई चलायमान गर्न सस्तो ब्याजदरमा बैंकहरुले ऋण दिए र त्यो ऋण कहाँ लगानी भयो त्यसको लेखाजोखा भएन, उनले भने,‘संसारभर खुकुलो मौद्रिक नीति बन्यो, सरकारको वित्तीय नीतिले पनि सबै क्षेत्रमा पैसा दिने भन्यो ।

अमेरिकाले जनताको खातामा पैसा पठाइदियो । विकासशील र कम विकाशशील देशमा ब्याजदर कम गरेर भएको पैसालाई बजारमा पठाइयो । सरकारले जहाँ र जुन सुकै क्षेत्रमा पैसा पठायो, उनले थपे, ‘केन्द्रिय बैंकले पनि फितलो म्रौदिक नीति ल्यायो । बजारमा प्रशस्त पैसा गयो । बैंकका सिइओहरुले घर घरमा गएर बोलाएर पैसा दिए ।’

कोभिडको कारण असामान्य स्थिति आएकाले बैंकहरुले त्यस्तो नीति लिएको उनको भनाइ छ । फितलो मौद्रिक नीति, फितलो बजेट र पब्लिकले पैसा निकालेर घरमै राख्नुका कारणले अर्थतन्त्रमा समस्या आएको उनको अनुमान छ । भुकम्प र नाका बन्दीमा जुन पोलिसी लागू भएको थियो त्यहि पोलिसी कोभिडको बेला लागू गरिएको हो ।

असामान्य अवस्थामा दिएको ऋण सामान्य अवस्था आएपछि ब्याज बढ्न थाल्यो । जसको कारण अर्थतन्त्र समस्यामा परेको उनको भनाई छ । हामीले बैंकहरुले सित्तैमा पैसा दिए जसरी लियौं र अर्थतन्त्र सामान्य अवस्थामा आउन थोले पछि पोलिसीलाई विस्तारै रिभ्यु गर्नुपर्नेमा त्यो गर्न नसक्दा समस्या बढ्यो । असमान्य स्थितिमा लिएको नीतिलाई सामान्य स्थितिमा लागू गर्न  खोजियो । बैंकमा जम्मा भएको ३ सय अर्ब पैसा जुन तरिकाले बजारमा गयो त्यहि तरिकाले फिर्ता  आएन ।

राष्ट्र बैंकले २०७८ अशोजमा १० प्रतिशत भन्दा बढी ब्याज निक्षेपमा नदिन भन्यो । जाने पैसा सबै गयो तर ब्याजदरका कारण नयाँ पैसा आएन । मान्छेले विभिन्न तरिकाले लगानी गरे र बैंकमा फर्किएन । पैसाले वित्तीय अनुशासन खोज्ने भएकाले अनुशासनमा नबस्नेका लागि यसले समस्या निम्त्याउने उनले बताए । अहिले बैंकमा पैसा भएपनि सप्लाई नहुँदा मन्दी आएको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा सम्र्पक नभएको र निर्यात सामान्य रहेको भन्दै उनले विश्व बजारको असर अर्थतन्त्रमा नपर्ने बताए । कम बजेट खर्च, न्युन विदेशी सहयोग र आयातमा प्रतिबन्धका कारण व्यापार व्यवसायमा असर पर्दा अर्थतन्त्रमा मन्दी आएको उनको भनाई छ ।

हामीले सृजना गरेको समस्या भएकाले हामीले नै समाधान गर्न सक्छौं, उनले भने, २र४ वटा पोलिसी परिमार्जन वा सन्तुलित गर्ने वित्तिकै बजारमा पैसा आउँछ र अर्थतन्त्रले गति लिन्छ उनले भने । बैंक तथा वितीय संस्था राम्रो हुने बित्तिकै सहकारी पनि स्वतः राम्रो हुने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले राज्यले सहकारीको समस्या सुनुवाइ नगरेको प्रति आपत्ति जनाइन् । उनले सहकारी क्षेत्रको समस्याका बारेमा प्रधानमन्त्री, मन्त्री, सचिव र सहकारी विभागका रजिष्ट्रार समेतलाई बारम्बार जानकारी गराइएको भएतापनि सुनुवाई नहुनु खेदजनक भएको बताइन् ।

सहकारीमा सन्दर्भ ब्याजदर स्वचालित नहुँदा र बैंकवित्तीय संस्थाले अस्वाभाविक ब्याज बढाउँदा सदस्यले बचत निकालेर लगेको उनको भनाई छ ।  रजिष्ट्रारलाई सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बस्न बारम्बार हात जोड्दा पनि कुनै सुनुवाई भएन, उनले भनिन्, ‘सन्दर्भ ब्याजदर परिमार्जन नहुँदा सहकारीले ब्याज बढाउन सकेनन् र सदस्यले पैसा झिकेर बैंकमा लगे ।’

सबै सहकारी सिद्धान्तमा चलेनन् होला उनी भन्छिन्, ‘सबै सहकारी शतप्रतिशत राम्रा छन् भन्न सकिँदैन । सहकारीमा केही कमजोरी होला । तर यसको व्यवस्थापन गर्नु राज्यको पनि दायित्व हो ।’ केहि सहकारीले गल्ती गर्दा सबै सदस्य बचत फिर्ता माग्न आए, विश्वासको कमी हुन गएको र अहिले यो अवस्था आएको उनको दावी छ ।

सहकारीले गरेको ऋण उठ्न सकिराखेको छैन्, यसमा सरकारको सहयोग माग्दा कुनै सहयोग नपाएको उनले बताइन् । ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न राज्यलाई भनेपनि नसुनेको उनले गुनासो पोखिन् । सरकारसँग अनुदान नभइ सहुलियत कर्जा माग गरेको उनको भनाई छ ।

त्यसैगरी जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले अहिलेको समस्या सहकारीको मात्र नभई समग्र अर्थतन्त्रनै समस्यामा परेकाले यस्तो अवस्था आएको बताए । बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका अध्यक्ष शरद मर्हजनले केहि  संस्थामा समस्या आउँदैमा समग्र सहकारी अभियानलाई समस्याग्रस्त भन्न नमिल्ने बताए ।

सरकारले ऐनमा व्यवस्था गरेको स्थिरिकरण कोषलाई लागु गर्न सकेको भए सहकारी संस्थाहरुलाई तरलता व्यवस्थापनमा कसैको मुख ताक्नु पर्दैन थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के।बी। उप्रेती, बागमती प्रदेश सहकारी संघका अध्यक्ष जगत मर्हजन लगायतले सहकारीका समस्याका बारेमा चर्चा गरेका थिए ।

ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईले सहकारी क्षेत्र अप्ठ्यारोमा रहेको र कसरी समाधान गरी अगाडी लैजान सकिन्छ भनेर निकास खोज्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।



Leave a comment