खल्लो सहकारी दिवस : प्रधानमन्त्री र विभागीय मन्त्रीबाट आएन शुभकामना

खल्लो सहकारी दिवस : प्रधानमन्त्री र विभागीय मन्त्रीबाट आएन शुभकामना :: Sahakari Akhabar

काठमाडौं । २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान ऋण समिति स्थापना भएको दिनलाई सम्झना गर्दै हरेक वर्ष यस दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिन्छ । सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस भएपनि सहकारीकर्मीका लागि यस वर्षको कार्यक्रम खल्लो भएको छ ।

तरलता संकटका कारण सहकारी संस्थाहरुले राज्यबाट सहयोगको अपेक्षा गरिरहेका बेला सहकारी दिवसलाई पनि राज्यले उपेक्षा गरेको छ । सहकारी दिवसको अवसरमा हरेक वर्ष प्रधानमन्त्रीका साथै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री, सचिव र रजिष्ट्रारबाट औपचारिक शुभकामना सन्देश जारी हुने गरेकोमा यस वर्ष भने क्रमभंग भएको छ ।

यसवर्ष राज्यबाट औपचारिक शुभकामना सन्देश जारी नभएकाले राष्ट्रिय सहकारी महासंघकी महावन्धक चित्रा कुमारी सुब्बाले बताइन् । ‘यसवर्ष हामी महासम्मेलनको तयारीमा केन्द्रीत भएकाले त्यतातिर ध्यान पुगेन’ उनले भनिन्, ‘मन्त्री, सचिव र रजिष्ट्रार समेत नयाँ भएकाले उहाँहरुलाई थाहा नभएको हुनसक्छ ।’

यसअघि ६५ औं सहकारी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकारीमन्त्री शशी श्रेष्ठ, सचिव रामप्रसाद थपलिया र रजिष्ट्रार रुद्रप्रसाद पण्डितले लिखित शुभकामना सन्देश जारी गरेका थिए । हाल प्रधानमन्त्री पुश्पकमल दाहाल छन् भने मन्त्रीको रुपमा केहि दिनअघि मात्र नागरिक उन्मुक्ती पार्टीकी रञ्जिता श्रेष्ठले जिम्मेवारी पाएकी छिन् ।

यस्तै सचिवमा डा. दामोदर रेग्मी र रजिष्ट्रारमा नमराज घिमिरे रहेका छन् । सहकारी दिवसको अवसरमा राज्यको तर्फबाट सहकारी विभागमा सामान्य औपचारिक कार्यक्रम भएको छ । राज्यले समेत स्वीकार गर्दै आएको राष्ट्रिय सहकारी दिवसमा औपचारिक शुभकामना सन्देश नआउदा खल्लो महशुस भएको एक सहकारीकर्मीले टिप्पणी गरे ।

संघिय सरकारले वेवास्ता गरेपनि वागमती प्रदेश सरकारका प्रमुख यादवचन्द्र शर्मा र गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले भने ६६ औं सहकारी दिवसको शुभकामना दिएका छन् ।



Leave a comment