ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले ऐनमा नै रहेको सहकारीको कर्जा सूचना केन्द्र, कर्जा असुली न्याधिकरण, बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयनमा मन्त्रालयले प्राथमिकता लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र अभियान मिलेर सहकारीमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताए । ‘विश्वको अर्थतन्त्रमा परेको असरको प्रभाव नेपालको अर्थतन्त्र र सहकारीमा पनि परेको र त्यसको समाधानका लागि अभियान र सहकारी मिलेर अगाडि बढ्नुपर्छ ।’ उनले भने ।
उनले सहकारीका कारण स्वरोजगार सिर्जना, उद्यमशिलता विकास, मानव विकास सुचाङ्कहरु सुधार, गरिवी न्युनिकरण भएको बताए । उनले भने,‘जहाँ जहाँ सहकारी आन्दोलन फैलिएको छ । ती सबै ठाउँमा यी सुचकहरुमा सकारात्मक परिवर्तन भएको छ ।
यो हामीले गर्व गर्नै पर्छ ।’ उनले एक अर्कालाई दोष दिएर समस्या समाधान नहुने समेत बताए । कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीको कर्जा सूचना केन्द्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले सहकारी अभियानलाई दिगो बनाउनका लागि ऐनमा रहेका प्रावधानहरुको कार्यान्वयन गर्नुपर्ने बताए ।
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले कर्जा सूचना केन्द्रको विषयमा नियमावलीमा रहेका प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘सहकारीको कर्जा सूचना केन्द्र अहिलेकै अवस्थामा आएमा सूचनाको गोपनियताको कुरा कमजोर हुने र सहकारी नै अप्ठ्यारोमा पर्ने देखिन्छ ।
नियमावलीमा संशोधन गरेर केन्द्र स्थापना गर्नुपर्छ ।’ उनले भने । उनले सहकारी स्वनियमनमा चल्ने संस्था भएकाले सहकारीमा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था आवश्यक नभएको बताए ।
सो विशेष कार्यक्रममा सहकारीको दिगोपनाः स्वनियमन र सुशासन भन्ने यस बर्षको थिममा पूर्व सचिव शिशिर कुमार ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहकारीमा संचाकलक केन्द्रीत हुने नभई सदस्यको भुमिका महत्वपूर्ण हुने बताए ।
सहकारीको आधारभुत चरित्र र मान्यतालाई आत्मसात गर्दै अनियन्त्रित र असान्दर्भिक कार्यशैलीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, सल्लाहकार रविन्द्र केसी, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए ।
Leave a comment