कठमाडौं । राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी पत्रकारीता पुरस्कार सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाललाई प्रदान गर्ने घोषणा गरेको छ ।
संघले नेपालका उत्कृष्ट कार्य गर्ने सहकारी संघ / संस्था तथा अभियानको प्रवद्र्धनमा योगदान पुर्याउने अभियन्ता र पत्रकालाई विभिन्न विद्यामा पुरस्कार दिने घोषणा गरेको हो ।
महासंघले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित विशेष समारोहमा पुरस्कृत हुने व्यक्तित्व तथा संघ÷संस्थाको नाम सार्वजनिक गरेको हो ।
यसैक्रममा राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट बाग्लुङका शान्तराज शर्मा पुरस्कृत हुने भएका छन् । उनले लामो समयसम्म महासंघको व्यवस्थापकीय नेतृत्व गरेका थिए । उनले समयमा नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी उत्कृष्ट सहकारी संघ पुरस्कारबाट जिल्ला सहकारी संघ काभ्रे पुरस्कृत हुने भएको छ । त्यसैगरी सातवटै प्रदेशका प्रारम्भिक सहकारी संस्थाहरुसमेत पुरस्कृत हुने भएका छन् ।
कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था झापा, मधेश प्रदेशबाट साना किसान कृषि सहकारी संस्था सर्लाही, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था काभ्रे, गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था पर्वत, लुम्बिनी प्रदेशबाट तिलोत्तममा बहुमुखी सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था डोल्पा र सुदुरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था कैलाली पुरस्कृत हुने भएका छन् ।
महासंघका संचालक डिवी बस्नेतको संयोजकत्वमा संचालकद्वय टिका बुढाथोकी र राजेन्द्र पौडेल तथा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका शाखा अधिकृत खेमनारायण पौडेल र सहकारी विकास बोर्डका उपनिर्देशक टाइन्द्र अधिकारी रहेको उपसमितिले सिफारिस गरेको आधारमा महासंघको २०५ औं बोर्ड बैठकले पुरस्कृत संघ÷संस्था तथा व्यक्तित्वहरुको छनोट गरेको थियो ।
राष्ट्रिय सहकारी महासंघले चैत २० गते पुरस्कृतको नाम घोषणा गर्ने र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गर्दछ ।
Leave a comment