काठमाडौं । बागमती बचत तथा ऋण सहकारी संंघ (प्रोस्कून) ले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको गोष्ठीमा बोल्ने वक्ताहरुले आन्तरिक परीक्षणलाई व्यवस्थित गर्नसके सहकारी संस्थामा समस्या नआउने बताएका छन् । आन्तरिक परीक्षण कमजोर हुँदा धेरै सहकारी संस्थाहरु समस्यामा पर्दै गएको भन्दै उनीहरुले यसलाई व्यवस्थित गरेर लैजान आवश्यक रहेको औंल्याएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एंव राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बाह्य अडिटरबाट छाप लगाउने कामले मात्रै सहकारी संस्थाहरुलाई दिर्घकालसम्म टिकाएर राख्न मुस्किल हुने बताए । संस्थाहरुले आन्तरिक सुशासनमा ध्यान दिनुपर्ने औंल्याउँदै उनले आन्तरिक सुपरिवेक्षणलाई पूर्ण पालना गर्न सकियो भने मात्रै संस्थालाई ठुलो र दिगो बनाई टिकाइ राख्न सकिने बताए ।
आन्तरिक सुशासन पालना गरेका संस्थाले जतिसुकै ठुलो वित्तीय संकट आए पनि त्यसको सामना गर्न सक्ने उनको भनाइ छ । वर्तमान समस्याबाट सहकारीहरुलाई बचाउँदै सहकारीलाई दिर्घकालसम्म टिकाइराख्न प्रोस्कूनले अघि सारेको टुल्सलाई प्रयोगमा ल्याउनु पर्नेमा उनले जोड दिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले सबै संघ संस्थाले एउटै काम गर्नु भन्दा फरकफरक काम गरेर संस्थाहरुलाई बलियो बनाउने तर्फ लाग्नु पर्ने उल्लेग गरे । सबैले उस्तै काम गर्दा त्यसको प्रभावकारिता नदेखिएको भन्दै उनले भुगोल र कार्यक्षेत्र निर्धारण गरेर काम गर्दा कुनै समस्या नहुने बताए । शहरी क्षेत्रमा सबै संघसंस्था केन्द्रित भएको भन्दै उपे्रतीले दुर्गममा कोही जान तयार नभएको बताए ।
सहकारीमा सुशासन कायम गर्न स्वनियममा बस्न आवश्यक रहेको बताउँदै उनले सहकारीमा समस्या आउन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले एउटै विषयमा संघहरु केन्द्रीत हुनु भन्दा नयाँ काम गर्दै अगाडि बढ्नु राम्रो भएको बताए । हरेक संघले परिभाषित काम गर्नु पर्नेमा जोड दिँदै उनले प्रोस्कूनले नयाँ कार्यको थालनी गर्नु राम्रो भएको बताए ।
कार्यक्रममा डा. शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै सहकारीहरु नाफामा भन्दा पनि सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए । अहिले बजारमा संस्था ठुलो बनाउने र नाफालाइ प्राथमिकता दिने गतिविधिले सदस्य शोषित भएको भन्दै उनले त्यो सहकारी सिद्धान्त विपरित रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रोस्कूनका सिइओ केशवप्रसाद दाहालले प्रस्तुतिकरण गर्दै संस्थाहरुमा आन्तरिक परिक्षण विधि प्रभावकारी नभएकोमा चिन्तित हुने बेला आएको बताए । प्रोस्कूनले ३ वटा विषयको पाठ्यक्रम तयार गरेको जानकारी दिँदै क्वालिटी एस्योरेन्समा भाग लिएका संस्थाले ब्राण्ड नपाएपनि संस्था निरन्तर सुरक्षित छ भन्ने सुनिश्चितता दिन यो कार्यक्रम लागु गरेको बताए । सहकारीहरु व्यक्तिगत, सामुहिक र पारस्परिक र सक्रिय स्थिरताको घेरामा रहेको भन्दै उनले सहकारीको दिगापनाका लागि यी कुरा आवश्यक रहेको जनाए ।
संघले सबै संस्थाहरुलाई सुधार गर्न सक्दैन, उनले भने, तर सुधारका लागि आवश्यक पर्ने टुल्सहरु दिन्छ र संस्था स्वयंले सुधारका लागि अगाडि बढ्नु पर्छ । सहकारी बिग्रनुमा सञ्चालक र व्यवस्थापक मात्रै दोषी नभएको भन्दै उनले लेखापरीक्षण गर्ने अडिटरको मुख्य हात भएको दावी गरे ।
१० वर्षदेखि एउटै लेखापरीक्षकले प्रतिवेदन तयार गर्ने, घाटामा गएको संस्थाको पनि नाफा बाँड्ने, बिना धितो अधिक लगानी र ऋणको फाइलको सही व्यवस्थापनमा ध्यान नदिने र संस्थाको सुधारका लागि नियामक निकायलाई जानकारी दिनुपर्ने भएपनि ती विषयमा कुनै टिप्पणी नगर्ने जस्ता कमजोरी लेखा परीक्षकको रहेको उनले औंल्याए । लेखा परीक्षणलाई मात्र व्यवस्थित गर्नसके अहिले देखिएका आधा समस्या हल हुने उनको दावी छ ।
कार्यक्रमका सभापति एवं प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्थालाई व्यवस्थित र दीगो बनाउन संघले यस्ता खालका टुल्सको विकास गरी प्रयोगमा ल्याएको जानकारी दिए । निकट भविष्यमा ने केहि संस्थाको आन्तरिक परिक्षणको काम प्रोस्कूनले अगाडि बढाउने समेत उनले जनाए ।
Leave a comment