नेफ्स्कूनको गाडी लिएर अध्यक्ष पार्टीको बैठकमा

नेफ्स्कूनको गाडी लिएर अध्यक्ष पार्टीको बैठकमा :: Sahakari Akhabar

काठमाडौं । यतिबेला सहकारी संस्थाहरु तरलता अभावलगायतको समस्यासँग जुधिरहेका छन् । संस्थाहरु समस्यामा रहेका बेला अभिभावक निकाय संघ÷महासंघ र यसको नेतृत्वले अभिभावकत्व लिन नसकेको र आ–आफ्नो स्वार्थमा मात्र सिमिति रहेको भन्दै आलोचना भइरहेको छ ।

सहकारीका नेताहरु सहकारीको समस्यामा संवेदनशिल नभएको आरोपलाई पुष्टि गर्ने गरी बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल संघको सवारीसाधन दुरुपयोग गरी पार्टीको कार्यक्रममा सहभागी भएको पाइएको छ।

विहिबार नेकपा एमालेको तनहुँ क्षेत्र नं १ को क्षेत्रिय समन्वय कमिटीको बैठकमा भाग लिनका लागि पौड्याल नेफ्स्कूनले अध्यक्षको हैसियतले उपलब्ध गराएको गाडी प्रयोग गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

विहिबार बिहान नेफ्स्कूनको भवन शिल्यान्यासमा सहभागि भएका पौड्याल त्यताबाट सिधै पार्टीको बैठकमा भाग लिनका लागि तनहुँ गएका हुन् । तनहुँ जानका लागि उनले नेफ्स्कूनको बा २१ च ६३३२ नम्बरको गाडी प्रयोग गरेका थिए । ‘पार्टीले टिकट देला जस्तो छ भन्दै अध्यक्षज्यू शिलान्यास कार्यक्रमबाट संघको गाडी चढेर हिड्नुभएको हो’ स्रोतले भन्यो ।

विहिबार दिउसो तनहुँ क्षेत्र नं १ को क्षेत्रिय समन्वय कमिटीको बैठक चलिरहेको स्थल बाहिर नेफ्स्कूनको गाडी पार्किक गरिएको थियो भने पौड्याल सोही बैठकमा सहभागि थिए । पौड्याल नेकपा एमालेको सहकारी तथा गरिवी निवारण केन्द्रीय विभागका सदस्य रहेका छन् ।

उनको स्थायी घर तनहुँ भएकाले पनि जिल्लाको राजनीतिक गतिविधिमा उनले सक्रियता देखाउदै आएका छन् । तनहुँ क्षेत्र नं १ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । यसअघिका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त छ ।
 
 



Leave a comment