सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा सहकारीकर्मीको शक्ति प्रदर्शन 

सरकारको ध्यानाकर्षण गर्न माइतीघरमा सहकारीकर्मीको शक्ति प्रदर्शन  :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावलगायतका समस्यासँग जुधिरहेका बेला सरकारबाट सहयोग नपाएको सहकारी अभियानले काठमाडौंको माइतिघरमा शक्ति प्रदर्शन गर्ने भएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत २० गते काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिने उद्देश्यले शक्ती प्रदर्शन गर्न लागेका हुन् । 

राष्ट्रिय सहकारी महासंघको उपत्यकाका सहकारीकर्मीलाई माइतिघरमा भेला हुन आवहान गरेको छ । बर्तमान संकटमा पनि बिचलित नभइकन सदस्यको बचतको सुरक्षाकालागि जिम्मेवार र प्रतिवद्ध रहेको सन्देश दिन तथा अभियानको तर्फबाट राखिएका मागहरुमा सम्बन्धित निकायको ध्यानाकर्षणका गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको महासंघकी बरिष्ठ उपाध्यक्ष तथा ६६ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिकी संयोजक ओमदेवी मल्लले जानकारी दिइन् । 

महासंघले काठमाडौ, भक्तपुर र ललितपुरका सहकारीहरुलाई आफ्नो रुट अनुसार झाँकी, ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गर्दै माइतीघरमा भेला हुन भनेको छ । त्यसपछि उक्त भेला कोणसभामा परिणत हुनेछ । महासंघले काठमाडौं उपत्यका बाहेकका जिल्लाका सहकारी संघ संस्थाहरुले सहकारी दिवसका अवसरमा साताभर विविध कार्यक्रम गरी सहकारी महासंघलाई जानकारी दिन समेत आग्रह गरेको छ । 

नेपालमा हरेक वर्षको चैत्र २० गते सहकारी दिवस मनाइन्छ । महासंघले हरेक वर्ष सहकारी दिवसका अवसरमा वर्षभरीका लागि नारा (थिम) तय गर्ने गरेको छ । यो वर्षका लागि ‘सहकारीको दिगोपन : स्वनियम र सुशासन’ भन्ने थिम तय गरिएको छ । 

२०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान ऋण समिति स्थापना भएको सम्झना गर्दै हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । 


 



Leave a comment