काठमाडौं । प्रधानमन्त्रीले पुश्पकमल दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमित अनुगमन र सहजीकरण गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै उनले सहकारीलगायत वित्तीय संस्थामा देखिएका समस्या सम्बोधनका लागि समेत छिट्टै बृहत् समीक्षा बैठक बोलाउने तयारी भइरहेको समेत जानकारी दिए ।
हालसम्म सहकारीको ऐन, कानुनको तर्जुमा गर्न र सहकारीका प्रवद्र्धनात्मक काममा मात्र बोर्ड सक्रिय छ । कानुनमा आफुलाई सहकारीहरुको अनुगमन गर्ने अधिकार नभएको भन्दै बोर्ड यसबाट पन्छिदै आएको छ ।
प्रधानमन्त्री दाहालले बैंक, सहकारी र लघुवित्त वित्तीय संस्थामा देखिएका समस्याहरुको प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने तयारी भइरहेको बताए । ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो । तर, अहिले जनताले लघुवित्त प्रति कैयौं प्रश्नहरू उठाएका छन् । सहकारीहरूमा पनि समस्या देखिएका छन् । यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले त्यसपछि मात्रै व्यवस्थित र वैज्ञानिक नीति तर्जुमा गर्न सकिने बताए । बैंक, वित्तीय संस्था र सहकारीहरूको वृहत समीक्षा बैठक बोलाउने तयारी अघि बढेको र त्यसबाट बृहत् समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्ने योजना रहेको उनले जानकारी दिए ।
Leave a comment